
बैंकिङ खबर । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो।
सेन्टरका अनुसार कोभिड-१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ। भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ। भारतले सन् २०१९ मा यूकेको अर्थतन्त्रलाई विश्वको पाँचौँ स्थानबाट विस्थापित गरेको भए पनि कोभिड-१९ का कारण फेरि पछाडि परेको छ।
भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ।
चीनबाट कोरोना भाइरसकाे सुरूवात भएकाे भए पनि उसले छिटै कडा प्रावधान लागू गरेर नियन्त्रणमा राखेकाे छ। जसले अन्य देशहरूमा जस्तो पटकपटक लकडाउनका कारण त्यहाँको अर्थतन्त्र ठप्प पार्नु परेको छैन। यसको परिणामस्वरूप अन्य देशमा अर्थतन्त्रहरूमा ठूलो मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढेकाे छ। यस अवधिमा अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ।
प्रतिवेदन अनुसार सन् २०२१ मा कोभिड-१९ बाट अर्थतन्त्रमा केही सुधार आए अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ। चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ। चीनको अर्थतन्त्र बलियो हुनुकाे मूख्य कारण ठूला उद्योगलक्षित नीतिहरू भएको बताइएकाे छ।बीबीसीकाे सहयाेगमा




