Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लाखौँ सेयर लगानीकर्ताको हितको पक्षमा छुः प्रचण्ड

२०७८ पुष १ गते


बैंकिङ खबर/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू र आफ्नो पार्टी लाखौँ सेयर लगानीकर्ताको हितको पक्षमा रहेको बताएका छन् । पुँजीबजारप्रतिको पछिल्लो अभिव्यक्तिबाट निकै आलोचित बन्न पुगेका अध्यक्ष प्रचण्डले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हु्न् ।
‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र मसमेत लाखौँ लगानीकर्ताहरुका हितको पक्षमा रहेको स्पष्ट पार्न चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु।’
यसैगरी अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति निकै आक्रोशित बनेका छन्। ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले अध्यक्ष ओली झुट, बेइमान र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने सतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र चरित्रमात्र प्रदर्शन गरेका छन्।’

प्रेस वक्तव्य

दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेका छन् । म, के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

०१ पुष, २०७८

……………………………

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष

Ad