Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बारबार बजारमा रकम पठाउँदा पनि तरलता अभाव टरेन !

२०७८ मंसिर २८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको अन्तिम दुई महिनायता वित्तीय प्रणालीमा तरलता(लगानीयोग्य रकम) अभाव झन् चुलिन थालेको छ । अनिवार्य नगद अनुपात (सीआरआर) कायम गर्ने पैसा समेत हुन छाडेपछि बैंकहरुले सोमबार ४३ अर्ब ४५ करोड रुपैयाँ सापटी चलाएका छन् ।
राष्ट्र बैंकका अनुसार १७ वटा बैंक तथा वित्तीय संस्थाहरुले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका हुन् । सोमबारसम्म गरेर चालु आर्थिक वर्ष २३ खर्ब ३३ अर्ब २ करोड २० लाख रुपैयाँ स्थायी तरलता सुविधा लिइसकेका छन् । सोमबार एक अर्ब ७५ करोड ४६ लाख रुपैयाँ ओभर नाइट रिपो चलेको छ । ४ वटा संस्थाले यो सापटी लिएका हुन् । चालु वर्ष ६५ अर्ब ५५ करोड ५० लाख ५० हजार रुपैयाँ लिइसकेका छन् । एसएलएफ, ओभरनाइट रिपो, रिपो र आउटराइट पर्चेज गरेर बैंक तथा वित्तीय संस्थाहरुको दायित्व राष्ट्र बैंकसँग एक खर्ब ३६ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवत्ता देवकुमार ढकाल तरलता ज्युँको त्यहीँ रहेको बताउँछन् । उनी भन्छन्, ‘तरलता असहज पनि छैन । एकदम सहज पनि छैन । अहिले २० अर्ब एक्सेसिविलिटी छ । जुन राष्ट्र बैंकले राख्नुपर्ने सिआरआरभन्दा माथिको रकम हो । इन्टर बैंक रेट अहिले पनि हामीले तोकेको करिडोरको सीमाभित्रै छ । अर्थात् ५ प्रतिशतभन्दा तल ४.९६ छ । यसलाई असहज भन्ने पनि होइन । एकदम सहज भन्ने पनि होइन । यो हुनु भनेको कम्फ्याटेवलको अवस्था भने होइन ।’

प्रवत्ता ढकाल यो पिरियडमा नेपाल सरकारले संकलन गर्ने राजश्वको तुलनामा खर्च गर्ने गति पनि उत्साहजनक नभएको बताउँछन् । उनले थपे ‘राजश्वको रुपमा नेपाल सरकारको पैसा राष्ट्र बैंकमा आएर जम्मा भइदिने तर त्यो पैसा बजारमा नजाने, खर्च नभइदिने भएका कारण तरलतामा चाप पार्यो । यी विविध कारणले गर्दा तरलतामा असहज अवस्था भएको हो ।’

सहकारी पनि असर

लगानीयोग्य रकम (तरलता) अभावको असर सहकारीमा पनि देखिन थालेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीहरुले पनि तरलताको समस्या सामना गर्नु परेको बताउँछन् । कर्जाको माग अत्यधिक हुँदा सहकारी संस्थाहरुमा पनि तरलताको चाप परेको अध्यक्ष कँडेलको भनाइ छ ।

उनी थप्छन्, ‘सहकारीहरुमा बैंकहरुजस्तो ऋण लगानी गर्नै नसक्ने अवस्था भने आएको छैन । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्याल सहकारीमा पनि तरलताको समस्या रहेको बताउँछन् । पौड्याल भन्छन्, ‘बैंकहरु निक्षेपका लागि सहकारी संस्थामा धाइरहेको छन् । सहकारीहरुमा पनि तरलताको समस्या छ, पैसा दिन सक्ने अवस्था छैन ।’ अहिले देखिएको समस्या कुनै एक क्षेत्रको लागि मात्रै नभएर समग्र अर्थतन्त्रकै समस्या भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘सहकारी संस्थाहरुले आप्mना सदस्यहरुलाई ऋण दिने र बढी भएको रकम बैंकमै जम्मा गर्ने गरेका छन् । सामान्य अवस्थामा त्यति धेरै वास्ता नगर्ने बैंकहरु अहिले सहकारी संस्थाहरुलाई ‘तरलता अभाव भयो, केही समयलाई निक्षेप राखिदिनुस्’ भनेर आग्रह गरिरहेका छन्।’ उनी थप्छन्, ‘बैंकिङ क्षेत्रमा राज्यले पुँजी प्रवाह गरेर उसलाई सम्बोधन गर्ने, त्यहाँभित्रको तरलताको म्यानेज गर्ने गर्छ। तर सहकारी क्षेत्र यति ठूलो क्षेत्र हुँदा पनि राज्यको उदासिनताका कारण अगाडि बढाउन सकेको छैन । हामीसँग तरलता व्यवस्था गर्ने, तरलता व्यवस्थापन गर्ने, म्याकानिजम सहकारीभित्र पनि गरिएन । सहकारी विभागभित्र पनि गरिएन । यो पक्षमा राज्य उदासिन रह्यो ।’

के हो तरलता ?

निक्षेपकर्ताले मागेका बेला नगद दिन सक्ने बैंकको क्षमता नै तरलता हो । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकमा व्यक्ति तथा विभिन्न संघसंस्था, कम्पनी, संस्थान आदिबाट संकलन हुन आएको रकम चल्ती, मुद्दती तथा निक्षेप खातामा जम्मा भएको हुन्छ र उनीहरूले मागेको समयमा ब्याजसहित रकम भुक्तानी गर्नुपर्ने दायित्व स्वयं बैंकको हुन्छ ।

यसरी सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदीजस्ता बहुमूल्य धातुमा अत्यधिक तरलताको गुण रहेको हुन्छ । साथै, कुनै पनि वित्तीय सम्पत्ति सजिलै खर्चयोग्य रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई बजारको तरलता भनिन्छ।

कुनै पनि देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतीको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। तरलता बढ्यो भने ब्याजदर घट्छ र मुद्रास्फीती बढ्छ । साथै, तरलतामा संकुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीतीमा दबाब कम हुन्छ । मुनाफा आर्जनमा तरलताको योगदान वा भूमिका रहन्छ । तरलता अभाव अर्थात् तरलताको समस्यामा रहेका संस्थाहरूले आफ्ना तत्काल तिनुपर्ने तिरोहरू फछ्र्योट गर्न सक्दैनन् । यस्तो अवस्था दोहोरिरहे कच्चापदार्थहरूको आपूर्तिमा समस्या त आउँछन् नै, विभिन्न निकायहरूको कालोसूचीमा समेत पर्ने खतरा रहन्छ । त्यसैले, कमजोर तरलताले धेरै किसिममा समस्या निम्त्याउन सक्छन् । तरलता न्युन हुनु मात्रै नभएर अधिक हुनु पनि समस्या नै हो ।

Ad