बैंकिङ खबर/ चितवनमा राष्ट्र बैंकको स्वीकृति बिना आधिकारीक ढंगले बैंकिङ कारोबार गरिएको पाइएपछि एक जना पक्राउ परे । राष्ट्र बैंकको नक्कली इजजातपत्र आफैँ तयार गरेर बैंकिङ कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको हो । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ बस्ने २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप संकलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैंले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
ठगी मुद्दामा कारबाही
प्रहरीले सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि अनुसन्धान अघि बढाएको छ । चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान सजाय हुने कानूनी व्यवस्था छ ।
‘अनुमति नलिइ वित्तीय कारोबार गरे कारबाही हुन्छ’
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल राष्ट्र बैंकको नक्कली इजजातपत्र आफैँ तयार गर्नेविरुद्ध कानून अनुसार कारबाही हुने बताउँछन् ।राष्ट्र बैंकको अनुमति नलिइ वित्तीय कारोबार गर्नपाइँदैन । यो जालसाजी, किर्तेमा मुद्दा चल्छ । कानून कार्यान्वयन गर्ने निकाय छन् । उनीहरुले कारबाही गर्छन् ।