Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

१५ वर्षअघि विस्थापित बैँकहरु : के कारणले भएनन् पुनस्र्थापना ?

admin २०७२ फाल्गुन ९ गते
सेयर:

bankसशस्त्र द्धन्द्ध कालमा ग्रामीण क्षेत्रबाट विस्थापित सरकारी स्वामित्वका बैँकका शाखा अझै पुनस्थापित हुन सकेका छैनन् । द्धन्द्धका कारण विस्थापित भएका शाखाहरु शान्ति प्रकृयाले पूर्णता पाएको ५ वर्ष विसक्दा पनि पुनस्थापित भएका छैनन् । माओवादीले सशस्त्र गतिविधी त्यागेर शान्ति वार्तामा आएको १० वर्ष पूरा भइसक्दा पनि नेपाल बैँक, नेपाल वाणिज्य बैँक र कृषि विकास बैँकका १५० भन्दा बढी शाखा पुनस्थापित हुन नसकेका हुन् । सहरी क्षेत्रबाट विस्थापित शाखाहरु पुनस्थापित भएपनि ग्रामीण क्षेत्रलाई प्राथमिकता नदिइएपछि कतिपय स्थानमा स्थानीयवासीले शाखा खोल्न दबाबका कार्यक्रमहरु समेत गर्दै आएका छन् ।   

बैँकरहरुको गुनासो
बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले द्धन्द्धका क्रममा विस्थापित भएका शाखा पुनस्थापना गर्न प्रोत्साहनको नीति अबलम्बन गरेसँगै शाखा पुनस्थापनाको कार्य सुरु भएपनि सबै शाखाहरु खुल्न सकेका छैनन् । बैँक सञ्चालकहरु छिटै विस्थापित शाखा पुनस्थापित गर्ने बताउँछन् । सुरक्षाको प्रत्याभूति नहुँदा शाखा पुनस्थापना हुन नसकेको गुनासो बैँकहरुले गरेपनि सो गुनासोमा सत्यता नभएको प्रहरीको दाबी छ । द्धन्द्धकालमा विस्थापित सबै प्रहरी युनिटहरु पुनस्थापना भइसकेकाले देशको हरेक कुनामा सुरक्षाको प्रत्याभूति दिन आफूहरु सक्षम भएको प्रहरीको जोड छ । 

द्धन्द्धको समयमा असुरक्षाको कारण देखाउँदै ३ सरकारी बैँकका २ सय ८४ शाखा विस्थापित भएका थिए । त्यसमध्ये, गत आर्थिक वर्षभित्र कृषि विकास बैँकका ५४, राष्ट्रिय वाणिज्य बैँकका ४७ र नेपाल बैँकका २६ शाखामात्र पुनस्थापित भएको राष्ट्र बैँकले जनाएको छ । सरकारी बैँकका शाखा ग्रामीण भेगसम्म पुग्न सके सामाजिक सुरक्षाभत्ता वितरणदेखि सरकारी कार्यालयहरुको आर्थिक कारोबार समेत बैँकिङ च्यानलबाट हुने हुन्छ । यद्यपि, ग्रामीण क्षेत्रमा निक्षेप संकलन र कर्जा लगानी खासै नहुने र सञ्चालन खर्च मात्र बढी हुने भएकाले बैँकहरुले शाखा खोल्न अटेर गरिरहेका छन् । 

अहिले मुलुकभर करिब १ सय १० वटा बैँक तथा वित्तीय संस्थाले ३ हजार ९ सय ८४ शाखामार्फत वित्तीय सेवा दिइरहेका छन् । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारका लागि राष्ट्र बैँकले दुर्गम तथा ग्रामीण क्षेत्रमा शाखा खोलेपछि मात्रै सहरी क्षेत्रमा खोल्न पाउने व्यवस्था गरेको छ । 

वि.स. २०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भएपछिको छ बर्षमा तत्कालीन विद्रोही माओवादीले राज्य विरुद्ध सशस्त्र संर्घष शुरु गरेको थियो । वि.स. २०५२ साल फागुन १ गतेवाट शुरु भएको माओवादी सशस्त्र द्धन्द्धको अन्त्य वि.स. २०६३ साल मंसिर ५ गते सरकार र तत्कालीन नेकपा माओवादीबीच शान्ति सम्झौता भएसंगै भएको थियो । दश बर्ष चलेको माओवादी द्धन्द्धका कारण १४ हजार भन्दा बढीले ज्यान गुमाउनु पर्यो भने २ लाख भन्दा बढी घाईते र लाखौं विस्थापित हुन पुगे । साथै, द्धन्द्धका कारण आर्थिक गतिविधिमा पैदा भएको असुरक्षाका कारण मुलुकले ठूलो आर्थिक क्षति बेहोरेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।