डा.चिरंजीबि नेपाल –
नेपाल राष्ट्र बैंकले मुलुकको गरिबीलाई मध्यनजर गरेर सानो बैंकको रुपमा रहने लघुवित्त वित्तीय संस्था खोल्ने स्वीकृति विभिन्न ठाउँमा दिँदै आएको छ । तर यसपटकदेखि हामीले अत्यन्त दुर्गम ९ वटा जिल्लाबाहेक अन्य ठाउँमा अर्को व्यवस्था नभईञ्जेलसम्मको लागि स्वीकृतमा रोक लगाएका छौँ । अब दिने स्वीकृतिलाई हामीले ‘म्यापिङ’ गरेर वित्तीय पहुँच नपुगेको ठाउँमा केन्द्रित गर्ने छौँ ।
गाउँमा लघुवित्त किन ?
लघुवित्त संस्थाहरु गाउँमा ‘पैसा बाँड्न’ जाने गर्छन् । त्यसैले हामीले ‘पैसा नपुगेका’ दुर्गमा ठाउँमा लघुवित्तहरुलाई पठाउने र दुर्गम क्षेत्रमा वित्तीय संस्था स्थापनाका लागि प्रोत्साहन गर्ने नीति लिएका छाँै । अहिले पनि धेरै त्यस्ता गाउँहरु छन्, जहाँ मान्छेले पैसा खोजिरहेका छन् तर दिने संस्था हुँदैनन् । उनीहरु ब्याज तिरेरै पनि कुनै उत्पादन मूलक काममा लाग्छु भन्दा नपाउने अवस्था छ । यो परिस्थितिलाई मूल्यांकन गरेर राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको स्थापना गरेको हो ।
लघुवित्तको महत्व
नेपालमै बसेर केही गर्ने वा यही माटोमा दुख गरी ‘रिटर्न’ चाहानेका लागि हो लघुवित्त संस्था । यी संस्थाहरुले अत्यन्तै दुर्गमा क्षेत्रका जनताको जीवनस्तर माथि उकास्ने काममा लघुवित्तहरुको भूमिका उच्च हुनुपर्छ । जसलाई नेपालमै बसेर केही गर्ने इच्छा हुन्छ, त्यस्तै व्यक्तिलाई लघुवित्तले पैसा दिएर उद्यमशीलतातर्फ उन्मुख गराउन सक्नुपर्दछ । त्यसैले हामीले लघुवित्तलाई गाउँ पठाउँछौँ त्यो अरु कसैको लागि होइन । त्यो त्यही ठाउँका नागरिकको लागि हो । लघुवित्त संस्थाहरु गाउँमा हाम्रो पैसा लिएर खर्च गरिदेउ भनेर गईरहेका छन् ।
आँगनको पैसा छाडेर मरुभूमिमा किन ?
यति बेला पैसाका लागि धेरै नेपालीहरु विदेशी भूमिमा गएर दुःखमा विरोलिनु परेको तीतो यथार्थ छ । मरुभूमिका गएर अत्यन्तै दुःख गरिरहेका छन् हाम्रा नेपाली दाजु–भाई, दिदि–बहिनीहरु । कोही उँट चराईरहेका हुन्छन्, कोही भेडा चराईरहेका हुन्छन्, कोही कोठैभित्र बसेर ८÷१० हजारका लागि वर्षौ विताइरहेका हुन्छन् । ८÷१० हजार कमाउन त्यति टाढा किन पठाउने ? जब यही घरमा पैसा दिने संस्थाहरु आईरहेका छन् । राम्रा उद्देश्य भएका ठूल्ठूला लगानीकर्ताहरु समेत लघुवित्तमार्फत पैसा बाँड्न गाउँ पसिरहेका छन् । ती लघुवित्तले गाउँका मान्छेलाई जति पैसा चाहिए पनि दिन तयार हुन्छन् । तर आफ्नो आँगनमा आएको पैसा नलिएर छोरा, बुहारी, छोरी, बाउ, आमा कहाँ जान्छन् भन्दा विदेशीको सेवा गर्न ।
गाउँमा उत्पादन गरे पैसा काठमाडौँमा छ
यहाँ लघुवित्तहरुले पैसा लिदेऊ मात्रै भन्दैनन्, पैसा खर्च गरिदेऊ पनि भन्छन् । खर्चका लागि हामीसंग काठमाडौँ ठूलो बजारको रुपमा छ । काठमाडौँमा गत वर्षमात्रै ८ अर्बको तरकारी भारतबाट आयात भयो । मुला, कोवि, प्याज, आलु, गोलभेगा, सागलगायतका सब्जी भारतबाट आयात भयो । के हामी सब्जीहरु यहीँ उत्पादन गर्न सक्दैनौँ त ? काठमाडौँमा बस्ने ५० लाखभन्दा बढी मान्छेले साँझ बिहानै खाने तरकारी भारतबाट आयात हुन्छ । यत्रा मान्छेका लागि तरकारी नै फलाउनतिर लाग्ने हो भने पनि विदेश जानुपर्दैन । लगानी लघुवित्तले दिन्छन्, जाँगर आफुसंग छँदैछ । यहीँ बसी–बसी लखपति हुने अवसर छाडेर किन विदेश जानुपर्यो ? अझ अलिकति मेहनत गर्यो भने करोडपतिसम्म भएका उदाहरण हाम्रै समाजमा छन् ।
स्प्रेड दर किन ७ प्रतिशत ?
राष्ट्र बैंकले लाइसेन्स दिएर ‘ठग’हरुलाई गाउँ–गाउँ पठाएको छ भन्ने टिप्पणी विगतमा आयो । हुन पनि त्यतिबेला लघुवित्तसंस्थाहरुले स्प्रेट दर ३०, ३५ जति मन लाग्यो त्यति लिइदिने । सरकारले १८ प्रतिशत त निर्धारण गरिदिएको थियो । तर वित्तीय संस्थाहरुले मनपरी लिइदिए भन्ने गुनासो र टिप्पणी अनुसार त गरिब झन गरिब हुने भए । गरिबलाई १० ठाउँबाट पैसा दिलाइदिने । विवाह, वर्तमान, भोजभतेर जे गर्न पनि त्यही पैसा । काम गर्न चाहिँ छैन फेरी । त्यस्तो सिकाइदिने र पैसा भिडाएर पठाइदिने । अति नै भयो भनेर हामीले ७ प्रतिशत स्प्रेट दर कायम गरिदिएका हौँ ।
बैंक तथा वित्तीय संस्था निजी हुँदैनन्
संसारमा कहीँ पनि बैंक र वित्तीय संस्थालाई निजी भनिँदैन । बैंक र वित्तीय संस्था संचालन गर्ने व्यक्ति जनताले विश्वास गरेको मान्छे नै हुन्छ । जनताले बैंक तथा वित्तीय संस्थामा पैसा त्यही विश्वासका आधारमा पैसा राख्छन् । त्यसैले सही किसिमले सही ठाउँमा लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति हुनुपर्छ । (गभर्नर डा. नेपालले नुवाकोटमा आशा लघुवित्त वित्तीय संस्थाको उद्घाटनका क्रममा गरेको सम्बोधनमा आधारित ।)



