November 7th, 2021

सफलता चुम्ने कसरी ? (यस्ता छन् धनाढ्य व्यक्तिले अपनाएका गोप्य सुत्रहरु)

बैंकिङ खबर । एक सफल उद्यमी बन्ने चाहना सबैलाई हुन्छ । उद्यमशीलताको विकास भएको देश अन्य मुलुकको तुलनामा चाँडै समृद्ध भएको विभिन्न अध्यनले देखाएका छन् । अमेरिका, जापानजस्ता मुलुक समृद्ध बन्नुमा त्यहाँ भएको उद्यमशीलताको विकास प्रमुख कारण मानिन्छ । नेपालको उद्यमशीलता भने सुरुवाती अवस्थामै छ । एकथरी मानिस धेरैपटक आफू उद्यमी बन्ने सपना त देख्छन् । तर, रोजगारी पाएपछि उद्यमी बन्ने सपना त्याग्दै जान्छन् । किनकि, उद्यमी बन्नु एकप्रकारले जोखीमयुक्त काममा आफूलाई संलग्न गराउनु हो । त्योभन्दा रोजगार मात्र हुनुमा जीवन सहज हुन्छ । समाजमा अर्काथरी मानिस पनि छन्, जो चाँडै आफूले मन पराएको काम सुरू गर्ने निष्कर्शमा पुग्छन् । जीवनको उद्देश्यलाई कामसँग जोड्छन् र काम÷व्यवसायको शुरुआत गर्छन् । उद्यमशीलता कसरी विकास गर्ने त ? 

अडान लिनुहोस्
तपाईं जुन हालत (काम वा अवस्था)मा हुनुहुन्छ, त्यसमा सन्तुष्ट हुनुहुन्न भने त्यसलाई निवारण गर्ने तपाईंबाहेक अरू कोही हुनै सक्दैन । अर्थव्यवस्था, कम्पनीको मालिक, श्रीमान्रश्रीमती अथवा परिवारलाई आरोप वा दोष दिएर कुनै फाइदा छैन । जीवनमा परिवर्तन त तब आउँछ, जब तपाईं सचेत निर्णय गर्नतिर लाग्नुहुन्छ ।

आफ्ना लागि उपयुक्त व्यवसाय पहिचान गर्नुहोस्
आफ्ना लागि उचित व्यवसाय कुन हो, त्यसको खोजी गर्नुहोस् । आफ्नै व्यक्तित्वका पनि विभिन्न पक्ष (जस्तै– तपाईंको व्यक्तित्व, उमेर, सामाजिक शैली) केलाउने प्रयास गर्नुहोस् । आफ्नो अन्तरज्ञान (हृदय)लाई सुन्नुहोस् । हामी मनमा आउने विचारलाई खासै महत्त्व दिँदैनौं । तर, यो राम्रो होइन । आफ्नो रुचिको काम  छनोट गर्न आफैलाई प्रश्न गर्नुहोस्, ‘म थकित हुँदा समेत कुन काम/व्यवसायले मलाई ऊर्जा दिन्छ वा गरूँगरूँ लाग्छ ?’ हो, त्यही काम वा व्यवसायमा तपाईंले सफलता पाउने सम्भावना बढी हुन्छ ।

अनुभव वा ज्ञान भएको व्यवसाय रोज्नुहोस्
विगतमा अरूका लागि गरिएका कामबारे सोच्नुहोस् । त्यो काम तपाईं आफ्नै नेतृत्वमा अझ राम्रोसँग गर्न सक्नुहुन्छ । शीप र अनुभवको प्रयोग गरी सेवा वा उत्पादन बेच्न सक्नुहुन्छ । साथै, आफूलाई उद्यमीका रूपमा परिष्कृत गर्दै अगाडि बढाउन सक्नुहुन्छ ।

अरूले गरेको व्यवसाय पछ्याउनुहोस्
आर्थिक रूपमा सफल हुन नयाँ व्यवसाय गर्नैपर्छ भन्ने छैन । तपाईं अन्य मानिसले गरिरहेको व्यवसाय पनि गर्न सक्नुहुन्छ । यदि अरूले गरिरहेको व्यवसायमा तपाईंको रुचि छ भने त्यस्तो व्यवसाय पहिचान गर्नुहोस्, काम गर्ने तरीका सिक्नुहोस् र पछ्याइहाल्नुहोस् । सोही व्यवसायबाट पनि तपाईं सफल बन्न सक्नुहुन्छ ।  

बजारको आवश्यकता बुझ्नुहोस्
बजारमा जुन वस्तु वा सेवाको आवश्यकता छ, त्यसलार्ई तपाईं बजारमा ल्याउन सक्नुहुन्छ । त्यससम्बन्धी व्यवसाय शुरू गर्नुहोस् । व्यवसाय थाल्ने उक्त तीन तरीकामध्ये यो सबैभन्दा बढी जोखीमयुक्त मान्ने गरिएको छ ।

योजना बनाउनुहोस्
धेरै मानिस योजना नै बनाउँदैनन् । तर, योजनाले मानिसलाई बजारमा छिटो स्थापित गराउन सहयोग गर्छ । योजनाले कामप्रति स्पष्ट, विषयकेन्द्रित र आत्मविश्वासी बनाउँछ । योजना लामो हुनुपर्छ भन्ने छैन । बरु आफ्ना उद्देश्य, रणनीति र कार्ययोजना स्पष्ट हुनुपर्छ । यसले तपाईंको व्यवसायलाई स्थायी र वास्तविक रूप दिन्छ । योजना बनाउँदा यी प्रश्नहरू आफैलाई गर्नुहोस् :
क)    म कस्तो व्यवसायको तयारी गर्दै छु ?
ख)    कसलाई सेवा दिँदै छु ?
ग)    मेरा उपभोक्ता/ग्राहक र आफैप्रति के प्रतिज्ञा गरेको छु ?
घ)    लक्ष्य प्राप्त गर्न मेरा उद्देश्यहरू, रणनीतिहरू र कार्ययोजना के छन् ?

लक्षित उपभोक्ताको पहिचान गर्नुहोस्
व्यवसाय शुरू गर्नुअघि नै तपाईंले आफ्नो सेवा वा उत्पादनका लक्षित उपभोक्ता पहिचान गर्न सक्नुपर्छ । यो सम्भवतः तपाईंले गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा हो । परिवार र साथीबाहेक तपाईंको उत्पादन वा सेवा खरीद गर्ने कोको छन् (यसो नभन्नुहोस्, नेपालका सबै मानिस मेरो सेवा वा उत्पादन चाहन्छन् । किनकि, सबैले चाहन्छन् भन्ने ग्यारेण्टी हुँदैन) पहिचान गर्नुहोस् । तपाईंको लक्षित बजारको आकार पत्ता लगाउनुहोस् । के तपाईंले उपलब्ध गराउने सेवा उपभोक्ताको दैनिक जीवनमा उपयोगी छ ? किन उनीहरूका लागि तपाईंको उत्पादन वा सेवा आवश्यक छ ? यी प्रश्नको उत्तर आफ्ना लक्षित उपभोक्तालाई प्रश्न गरेर वा उनीहरूको आवश्यकता पहिचान (अध्ययन) गरेर पत्ता लगाउन सक्नुहुन्छ ।

आर्थिक अवस्थाअनुसार व्यवसाय छनोट गर्नुहोस्
उद्यमीका रूपमा तपाईंको व्यक्तिगत जीवन र व्यावसायिक जीवन अन्तरसम्बन्धित हुन्छ । तपाईं आफ्नो व्यवसायको सम्भवतः पहिलो र एक मात्र लगानीकर्ता हुन सक्नुहुन्छ । त्यसकारण आफ्नो आर्थिक अवस्थाबारे तपाईंलाई नै सबैभन्दा बढी जानकारी हुन्छ । अन्यबाट आर्थिक सहयोग लिनुभन्दा पनि आफूसँग भएको लगानीलाई प्रयोग गर्नु महत्वपूर्ण हुन्छ । त्यसैले, व्यवसाय शुरू गर्दा पूँजीको व्यवस्थापन सही तरीकाले गर्नुपर्छ ।

योजना बनाउने क्रममै तपाईंले कस्तो प्रकारको व्यवसाय शुरू गर्दै हुनुहन्छ । त्यसलाई ध्यानमा राख्नुपर्छ । जस्तो कि, जीवनशैलीसँग सम्बन्धित व्यवसाय शुरू गर्न धेरै लगानी आवश्यक पर्दैन । फ्रेञ्चाइजीका लागि मध्यम खालको लगानी आवश्यक पर्छ । तर, यो के सम्बन्धी हो, त्यसमा पनि भर पर्छ । उच्च प्रविधिसम्बन्धी व्यवसाय शुरू गर्न ठूलो लगानी आवश्यक पर्छ । त्यसैले, तपाईं कुन प्रकार र स्तरको व्यवसाय शुरू गर्दै हुनुहुन्छ । त्यसमा तपाईंको लगानी भर पर्छ । त्यसअनुसार नै तपाईंको व्यवसाय पनि वृद्धि हुँदै जान्छ ।

सहयोगी सञ्जालको विस्तार गर्नुहोस्
आफ्नो व्यवसाय विस्तार गर्न सहयोगी सञ्जालको आवश्यक छ । त्यस्तो सञ्जालमा सहयोगीहरू, सल्लाहकारहरू, साझेदारहरु, विक्रेताहरू हुन सक्छन् । तपाईं आफ्नो व्यवसायमा विश्वास गर्नुहुन्छ भने अन्यले पनि गर्नेछन् । स्थानीय, राष्ट्रिय र सामाजिक सञ्जालबाट पनि सञ्जाल निर्माण गर्न सकिन्छ । साथै, उद्योग वाणिज्य सङ्घ, कमर्श अफ चेम्बरसँग पनि सम्बन्ध स्थापना गर्न सकिन्छ । सञ्जाल विस्तारका लागि विभिन्न कार्यक्रममा तपाईंको व्यवसायबारे अन्य मानिसले बताउने विषय मह त्त्वपूर्ण हुन्छ । उनीहरूले दिने जानकारी धैयपूर्वक सुन्नुहोस् । जुन समूहमा जोडिए पनि अन्यलाई सहयोग गर्न र आफ्नो बारेमा बताउन ढिला नगर्नुहोस् । जब कुनै उपभोक्तालाई तपाईंले उपलब्ध गराउने सेवा वा उत्पादनको आवश्यकता पर्छ, उसको सम्झनामा आउने तपाईं पहिलो व्यक्ति बन्नुहोस् । साथै, तपाईंको सेवा आवश्यक भएको मानिसको कुरा सुन्नुहोस् ।

सेवा वा उत्पादनको विश्वसनीयता वृद्धि गर्नुहोस्
जति बढी सेवा वा उत्पादन तपाईं विक्री गर्न सक्नुहुन्छ, त्यति नै बढी कमाउन (पूँजी सङ्कलन) गर्न सक्नुहुन्छ । उपभोक्ता वा ग्राहकलाई के उपलब्ध गराउन सकेँ ? कसरी उनीहरूको काममा सहयोगी हुन सकेँजस्ता प्रश्नको उत्तर तपाईंले खोज्नु आवश्यक छ । यसले तपाईंको सेवा विश्वसनीय बन्दै जानेछ । त्यसलाई तपाईंका ग्राहकले पनि प्रशंसा गर्नेछन् ।

आफ्नो बारेमा बताउनुहोस्
आफ्नो बारेमा स्पष्ट र विश्वस्त भएर समाचार/जानकारी दिनुहोस्, जसका लागि ट्वीटर, फेसबूक, यू–ट्युबलगायतका साइट प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुहुन्छ । आजको विश्वमा सामाजिक सञ्जाल दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेका छन् । साथै, ‘माउथ मार्के्टिङ, वेबसाइट, जनसम्पर्क, ब्लग पोष्ट, लेखहरू, घोषणाहरू, ई–मेल, न्यूजलेटर र टेलिफोन पनि अझ बढी उपयोगी हुन सक्छन् ।  

यी कुरामा ध्यान दिनुभयो भने तपाईं आफै उद्यमी बन्न सहज हुनेछ । त्यसका लागि तपाईं एक्लै हुनुहुन्न । अन्य उद्यमीहरूलाई पनि विभिन्न माध्यम/तरीकाबाट भेट्न सक्नुहुन्छ, जुन तपाईंको व्यवसायका लागि सहयोगी बन्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]