
बैंकिङ खबर । प्रभु बैंकले भाटभटेनी सुपर मार्केटमा क्युआर कोड कारोबार सुरु गरेको छ । यही कात्तिक ११ गते प्रभु बैंकका तर्फबाट सिइओ अशोक सेरचन र भाटभटेनी सुपर मार्केटका तर्फबाट अध्यक्ष मीनबहादुर गुरुङले एक समारोहबीच संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रभु बैंकका सिईओ अशोक सेरचनले डिजिटल कारोबारलाई हर–प्रयासबाट अघि बढाउन बैंक प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । भाटभटेनी सुपर मार्केट देशकै ठूलो सुपरमार्केट रहेको र यसको कारोबार क्षेत्र पनि फराकिलो रहेको बताउनुभयो । भाटभटेनी सुपर मार्केटसँगको यो सम्झौताले ग्राहकहरुलाई सहज हुने र देशको अर्थतन्त्रमा समेत पारदर्शीतामा वृद्धि हुने बताउनुभयो ।

त्यस्तै अर्का विशिष्ठ अतिथि एवं आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शोभाकान्त पौडेलले डिजिटलबाट कारोबार गर्दा आन्तरिक राजश्व कार्यालयले क्यासब्याकको सुविधा समेत ल्याएको जानकारी गराउनुभयो ।
भाटभटेनी सुपर मार्केटको क्यूआर कोड कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले गर्नुभएको थियो ।