ग्रामीण क्षेत्रमा वित्तीय पहुँच


Bankingkhabar /October 20, 2021

 

परम्परागत जीवनशैली, भौगोलिक विकटता, राज्यको कम चासो र सरोकार, न्यून जनघनत्व, कमजोर मानव विकास, सामाजिक र भौतिक पुर्वाधारको समान वितरण हुन नसकेको क्षेत्र नै ग्रामीण क्षेत्र हो । सडक, विद्युत, खानेपानी, संचार र स्वास्थ्य सेवा जस्ता विकासका पुर्वाधारको अभाव भएको कारण राज्यले दिने सेवा सुविधाप्रति अझैपनि बेखबर छ ग्रामीण क्षेत्र । कतै कतै त राज्य भए नभएको अनुभुति समेत सो क्षेत्रमा बसोवास गर्ने नागरिकले गर्न सकेको देखिदैन । राज्यले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा मध्ये बैकिङ्ग सेवा पनि आजको परिवेशमा अतिआवश्यक सेवा भित्र पर्छ भन्दा कुनै फरक नपर्ला ।  तर बिडम्बना बैक कस्तो संस्था हो, यसले के कस्ता सेवा सुविधा के कुन तरिकाले दिन्छ भन्ने विषयमा आजको यस प्रविधिमय युगमा आम नागरिक अनजान हुनुले साक्षरता प्रति नै प्रश्न उठ्छ । त्यसैले बैकिङ्ग सेवा प्रति जनमानसमा अनुशिक्षण गराई उनीहरुलाई बढी भन्दा बढी बैकिङ्ग प्रणालीमा आबद्ध गराई बैक तथा वित्तीय संस्थामा हातेमालो गर्न लगाई सघन बैकिङ्ग सेवा वितरण गर्न सकेमा मात्र राज्यले परिकल्पना गरेको बैकिङ्ग व्यवसायको सार्थकता हुन सक्छ ।

बैक/वित्तीय संस्थाः

जनताको साथमा रहेको बचतलाई निक्षेपको रुपमा स्वीकार गरी उत्पादनशिल क्षेत्रमा विभिन्न कर्जाको माध्यमबाट लगानी गरी अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न कानून बमोजिम स्थापित संस्थापित एवं संचालित संस्थालाई बैक भनिन्छ । बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, 2073 को दफा 2 अनुसार बैक भन्नाले बैकिङ्ग तथा वित्तीय कारोवार गर्न संस्थापना भएको संगठित संस्था हो जसले नेपालमा रहेको विदेशी बैकको शाखा कार्यालय, नेपालमा स्थापित बैकले नेपाल बाहिर खोलेको शाखा कार्यालय तथा पूर्वाधार बैक र सोको शाखा कार्यालय समेतलाई जनाउँछ । सोही दफाले वित्तीय संस्था भन्नाले बैकिङ्ग तथा वित्तीय कारोवार गर्न संस्थापना भएको संगठित संस्था हो जसले विकास बैक, वित्त कम्पनि, लघुवित्त संस्था वा विदेशी वित्तीय संस्थाको नेपालमा रहेको शाखा कार्यालय र नेपालमा स्थापित विदेशी वित्तीय संस्थाको विदेशमा रहेको शाखा कार्यालयलाई समेत जनाउँछ भनी परिभाषा गरेको छ । नेपाल राष्ट्र बैक ऐन, 2058 बैक तथा वित्तीय संस्था सम्बन्धि ऐन, 2073 अनुसार संचालित बैक तथा वित्तीय संस्थाहरुले निष्कृय वचतलाई सक्रिय बनाई अर्थतन्त्रमा मुद्रा प्रदायलाई सन्तुलित राख्न योगदान गर्दछन् ।

तहगत बैकिङ्ग प्रणालीः

तहगत रुपमा बैक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैकले न्युनतम चुक्ता पुँजी, कारोवारको प्रकृति र कार्यक्षेत्रमा आधारमा विभिन्न वर्गमा निम्नानुसार विभाजन गरेको छः

वर्ग

राष्ट्रिय स्तर

प्रादेशिक स्तर

क-वाणिज्य बैकहरु

रु.800 करोड

ख-विकास बैकहरु

रु.220 करोड

रु.120 करोड

ग-वित्त कम्पनि

रु.80 करोड

रु.50 करोड

घ-लघुवित्त वित्तीय संस्था

रु.10 करोड/रु.60 करोड

रु.2 करोड

पूर्वाधार विकास बैक

रु.20 अर्ब

 

वित्तीय पहुँचको अवस्थाः

वित्तीय पहुँचले बैंक तथा वित्तीय संस्थाहरुमा नागरिकको आवद्धतालाई बुझाउँछ । अर्को अर्थमा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधामा नागरिकको संलग्नताको अंश एवं अनुपातलाई वित्तीय पहुँच भनिन्छ । वित्तीय पहुँचको माध्यमबाट के कति जनताले बैंक तथा वित्तीय संस्थामा आफ्नो आबद्धताको सुनिश्चितता गरेका छन् भनि संख्यात्मक रुपमा जान्न सकिन्छ । यो बैंक तथा वित्तीय संस्थाहरु प्रति जनमानसको विश्वसनियता मापन गर्ने माध्यम एवं आधार हो । राज्यले जसरी केन्द्रीकृत सार्वजनिक सेवालाई संविधानको माध्यमबाट स्थानीय जनस्तरमा सेवा वितरण गर्न थाल्यो त्यसै गरी नै नेपाल राष्ट्र बैकले आ.व 2073/74 देखि बाट प्रत्येक स्थानीय तहमा कम्तीमा १ वाणिज्य बैक हुनुपर्ने भनी बैकिङ्ग सेवाको क्षेत्रलाई समेत बिकेन्द्रित गरेको छ ।जसको परिणाम स्वरुप 750 स्थानीय तहमा वाणिज्य बैकका शाखा रहेको तथ्यांक नेपाल राष्ट्र बैकले सार्वजनिक गरिसकेको छ।  नेपाल राष्ट्र बैकबाट ईजाजत प्राप्त बैक तथा वित्तीय संस्थाहरुको संख्या 2078 साउन मसान्तमा 133 रहेको छ । यस मध्ये 27 वाणिज्य बैक, 18 विकास बैक, 17 वित्त कम्पनि, 70 लघुवित्त वित्तीय संस्था र 1 पूर्वाधार विकास बैक संचालनमा रहेका छन् । हाल नेपालमा बैक तथा वित्तीय संस्थाहरुको कुल शाखा संख्या 10 हजार ७ सय २० रहेको छ ।

बैक तथा फाईनान्स कम्पनिहरुको कुल शाखा संख्या

बैक तथा वित्तीय संस्था

बैक तथा वित्तीय संस्थाहरुको संख्या

बैक तथा वित्तीय संस्थाहरुको शाखा संख्या

 

2077 असार मसान्त

2078 असार मसान्त

2078 श्रावण मसान्त

2077 असार मसान्त

2078 श्रावण मसान्त

वाणिज्य बैक

27

27

27

4436

4766

विकास बैक

20

18

18

1029

1023

वित्त कम्पनि

22

17

17

243

226

लघुवित्त कम्पनि

85

70

70

4057

4705

पुर्वाधार वि.बैक

1

1

1

जम्मा

155

133

133

9765

10720

 

स्रोतः नेपाल राष्ट्र बैक ।

वर्तमान अवस्थाः

नेपालमा वित्तीय पहुँचको वर्तमान स्थिति हेर्दा हालै नेपाल राष्ट्र बैकले प्रकाशन गरेको नेपालमा वित्तीय पहुँच सम्बन्धित अध्ययन प्रतिवेदन अनुसार 2 करोड ९९ लाख ९६ हजार ४७८ जनसंख्यालाई आधार बनाएर क, ख र ग वर्गका वित्तीय संस्थामा 2077 जेठ मसान्त सम्ममा कायमा निक्षेप खाताको विवरण अनुसार जम्मा 67.34 प्रतिशत जनसंख्यामा मात्र वित्तीय पहुँच विस्तार भएको छ । सो अध्ययन प्रतिवेदन अनुसार 3 करोड 63 लाख 66 हजार निक्षेप खाता रहेको र 2077 चैत्र मसान्त सम्ममा 5 हजार 978 वटा क ख र ग वर्गका बैक तथा वित्तीय संस्थाहरुको शाखा संख्या रहेको कुरा उल्लेख छ । नेपाल राष्ट्र बैकले मिति 2078 साउन 29 गते जारी गरेको आ.व 2078/79 को मौद्रिक नीतिमा 750 वटा स्थानीय तहमा वाणिज्य बैकहरुका शाखा विस्तार भईसकेको कुरा उल्लेख गरेको छ ।

प्रविधिको प्रयोग अन्तर्गत प्रतिशाखाः

  • ए.टी.एम जडान-20.35 प्रतिशत
  • ईन्टरनेट बैकिङ्ग-3.86 प्रतिशत
  • मोबाईल बैकिङ्ग-32.03 प्रतिशत

प्रविधियुक्त बैकिङ्ग सेवा सुविधाको सबैभन्दा बढी प्रयोग गर्ने प्रदेश बागमती प्रदेश रहेको समेत सो अध्ययन प्रतिवेदनले देखाएको छ । गुणात्मक तथा संख्यात्मक रुपमा हेर्दा पनि नेपालको कुल जनसंख्या भन्दा बढी निक्षेप खाता रहेको हुँदा दिनानुदिन वित्तीय पहुँच विस्तार भएको देखिन्छ ।

बैकिङ्ग सेवाका प्रकारः

आजको प्रतिस्पर्धात्मक वित्तीय बजारमा सफलतापूर्वक अगाडी बढ्नका लागि बैकले ग्राहकलाई माग बमोजिम नयाँ नयाँ वित्तीय सेवा उत्पादन गरी प्रयोगमा ल्याएका छन् । बैकहरुले ग्राहकहरुलाई मूलतः निम्न सेवाहरु प्रदान गर्दै आईरहेका छन्

  • निक्षेप स्वीकार
  • विदेशी मुद्राको विनिमय
  • सेफ्टी भल्ट
  • लकर सुविधा
  • बैक अधिवकर्षण कर्जा
  • विप्रेषण सेवा
  • बैक जमानत
  • कार्यसम्पादन जमानत
  • व्यापारी बैकिङ्ग सुविधा
  • अभिकर्ता सेवा
  • सूचना
  • वित्तीय परामर्श आदि ।

समय प्रविधि एवं परिस्थितिमा आएको फेरबदल सँगै बैकिङ्ग सेवा पनि दिन दुईगगुणा रात चौगुणा विस्तार एवं विकास हुदै गएको छ । बैकले प्रदान गर्ने सेवा र यसका प्रकारको बारेमा अझै पनि ठुलो नागरिकको हिस्सा अनभिज्ञ नै छ । वित्तीय साक्षरताको कमीकै कारण आज पनि एक तिहाई जनसंख्या वित्तीय पहुँच बिहिन छ । बैकहरुको विकास एवं विस्तारको अनुपातमा वित्तीय साक्षरताको स्तर समेत सोही अनुपातले बढाउनुपर्ने अपरिहार्यता देखिन्छ । उच्च शिक्षा हासिल गरेको वर्गमा समेत कतिपय वित्तीय कारोबारहरुको पूर्ण ज्ञान नभएको स्थिति छ जसको फलस्वरुप गम्भीर आर्थिक दुर्घटना हुन गई ठुलो वित्तीय क्षति समेत व्यहोर्नु पर्ने अवस्था सृजना भएको देखिन्छ । बैकिङ्ग क्षेत्रमा बचतका बहुप्रचलित दुई नियमहरु छन् पहिलो नियम हो पैसा कहिले पनि नगुमाउनुहोस र दोस्रो नियम हो पहिलो नियम कहिल्लै पनि नबिर्सनुहोस । यी नियमहरुलाई आधार बनाई ग्रामीण क्षेत्रका नागरिकहरुलाई बचतमा प्रोत्साहन गर्नु आजको आवश्यकता हो ।

अबको बाटोः

सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको वर्तमान परिपेच्क्षमा उच्च आर्थिक वृद्धि हासिल गर्न बैकिङ्ग क्षेत्रको विकासको लागि वित्तीय पहुँच अभिवृद्धि एवं वित्तीय साक्षरता बढाउन नेपाल राष्ट्र बैकबाट नै विभिन्न कार्यक्रम कार्यान्यवन गराउनुपर्ने देखिन्छ ।पन्ध्रौ योजनाले पनि नविनतम प्रविधिको अबलम्बन र वित्तीय साक्षरता मार्फत दुर्गम तथा पीछडिएका क्षेत्र सम्म वित्तीय पहुँच विस्तार गर्ने रणनीति लिएको छ । जसका लागि वित्तीय साक्षरता सम्बन्धित साक्षरता बढाउने सामाग्रीको उत्पादन र वित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्नुका साथै मौद्रीक नीति मार्फत नै सो विषय उपर सम्बोधन गर्नुपर्ने आवश्यकता देखिन्छ । राष्ट्र बैकको एकल प्रयास भन्दा ईजाजत प्राप्त बैक तथा वित्तीय संस्थाहरुले समेत वित्तीय सचेतना अभिवृद्धि हुने कार्यक्रम संचालन गर्न तथा आफ्नो आयको केही हिस्सा यस्ता कार्यक्रमहरुका लागि अनिवार्य छुट्याई आवधिक नियमन तथा अनुगमन गरी पृष्ठपोषण उपर छलफल हुनु आवश्यक देखिन्छ । जसबाट वित्तीय पहुँच अभिवृद्धि भई धेरै नागरिकलाई बैकिङ्ग बानीको बिकास गराई मुलुकको अर्थतन्त्रमा आर्थिक गतिविधिको मात्रा बढाई मुलुकको समग्र विकासमा टेवा पुग्न जाने सुनिश्चित छ ।  

(लेखकः  नेपाल बैक लि. तम्घास शाखामा सहायक पदमा कार्यरत  हुनुहुन्छ ।)


सोसिअल मेडिया