
बैंकिङ खबर / २०७८ सालको जनगणनाअनुसार देशमा करिब १ करोड ४९ लाख महिला र १ करोड ४२ लाख पुरुष छन्, अर्थात् कुल जनसंख्याको ५१ प्रतिशतभन्दा बढी महिला छन्। तर, निर्णयात्मक र उच्च पदहरूमा पुगेका महिलाहरूको संख्या अझै सीमित छ। यिनै सीमित उदाहरणमध्ये एक हुन् डा. नीलम ढुंगाना तिम्सिना, जसले नेपालको बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छन्।
नेपाल राष्ट्र बैंकको इतिहासमै पहिलो महिला डेपुटी गभर्नर बन्ने कीर्तिमान कायम गरेकी तिम्सिना अहिले पनि धेरै महिलाका लागि प्रेरणाको पात्र बनेकी छन्। करिब तीन दशकको निरन्तर मेहनत, धैर्यता र समर्पणपछि उनी राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नरको जिम्मेवारीमा पुगेकी हुन्।
झापामा जन्मिएकी तिम्सिनाले आफ्नो बाल्यकाल झापा, पाँचथर, तेह्रथुम र जनकपुरमा बिताइन्। बुबा विद्यालय निरीक्षक र आमा शिक्षिका भएकाले उनी सानैदेखि शैक्षिक वातावरणमा हुर्किइन्। विज्ञान पढ्ने इच्छा भए पनि त्यसबेला दमकमा विज्ञान पढाउने क्याम्पस नभएकाले उनले वाणिज्य विषय रोज्नुपर्यो। उनले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र पोस्ट ग्राजुएट क्याम्पसबाट एमबीए पूरा गरिन्। एमबीएमा उत्कृष्ट नतिजा ल्याउँदै उनी गोल्ड मेडलिस्ट समेत बनिन्।
शिक्षण पेशामा आबद्ध रहेकै बेला साथीभाइ र परिवारको सुझावपछि उनले राष्ट्र बैंकको परीक्षाका लागि आवेदन दिइन्। पहिलो पटक परीक्षा दिन काठमाडौं आउँदा परीक्षा स्थगित भएको थाहा पाएर निराश हुनुपरेको अनुभव उनीसँग छ। तर त्यसलाई अवसर बनाउँदै थप तयारी गरेकी उनी अन्ततः २०५४ सालमा सहायक अधिकृतका रूपमा राष्ट्र बैंकमा प्रवेश गर्न सफल भइन्। त्यतिबेला उनको मासिक तलब ५ हजार ५ सय रुपैयाँ थियो।
उनले विभिन्न विभागमा काम गर्दै अनुभव संकलन गरिन्। विदेशी विनिमय व्यवस्थापन, मौद्रिक व्यवस्थापन, आर्थिक अनुसन्धान, आन्तरिक लेखापरीक्षणजस्ता महत्वपूर्ण विभागमा जिम्मेवारी सम्हालेकी तिम्सिनाले क्षेत्रीय कार्यालयहरूको नेतृत्व पनि गरिन्। राष्ट्र बैंकमा काम गर्दै उनले अध्ययनलाई पनि निरन्तरता दिइन्। उनले अष्ट्रेलियाको युनिभर्सिटी अफ वोलोङगोङबाट अर्थशास्त्रमा मास्टर्स र भारतबाट बैंकिङ तथा मौद्रिक प्रसारण विषयमा विद्यावारिधि हासिल गरेकी छन्।
तिम्सिनाका अनुसार महिलाले कार्यस्थलमा अझै पनि आफूलाई बारम्बार प्रमाणित गर्नुपर्ने अवस्था छ। घर र कार्यालय दुवै जिम्मेवारी सन्तुलनमा राख्नुपर्ने भएकाले महिलाका लागि यात्रा झनै चुनौतीपूर्ण हुन्छ। तर निरन्तर मिहिनेत, आत्मविश्वास र परिवारको साथ भए कुनै पनि लक्ष्य हासिल गर्न सकिने उनको अनुभव छ।
तिम्सिनाले आफ्नो सफलताको ठूलो श्रेय परिवारलाई दिन्छिन्। १९ वर्षको उमेरमा विवाह गरेकी उनले श्रीमानको प्रोत्साहन र सहयोगकै कारण पढाइ र करिअर दुवैलाई अघि बढाउन सकेको बताउँछिन्। तिम्सिनाका अनुसार बैंकिङ क्षेत्रमा महिलाको सहभागिता विस्तारै बढ्दै गएको छ। राष्ट्र बैंकमै अहिले करिब २७–२८ प्रतिशत महिला कर्मचारी छन्। तर उच्च तहमा अझै महिला प्रतिनिधित्व बढाउन धेरै प्रयास आवश्यक रहेको उनी बताउँछिन्।
मिहिनेत, धैर्यता र लगनशीलता भए बैंकिङ क्षेत्र उज्ज्वल भविष्यको क्षेत्र बन्न सक्छ भन्ने तिम्सिनाको विश्वास छ। यही कारण उनी नयाँ पुस्ताका महिला बैंकरलाई आत्मविश्वासका साथ अघि बढ्न सधैं प्रोत्साहित गरिरहेकी छन्। करिब तीन दशकको संघर्षपूर्ण यात्रापछि नेतृत्व तहमा पुगेकी डा. नीलम ढुंगाना तिम्सिना आज केवल सफल प्रशासक मात्र होइनन्, नेपाली महिलाले कठिनाइ पार गर्दै ठूलो उपलब्धि हासिल गर्न सक्छन् भन्ने जीवित उदाहरण पनि बनेकी छन्।





