
बैंकिङ खबर । रामेछाप जिल्ला लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेडको सहकार्यमा यही यही असोज २३ गते तामाकोसी जनजागृती मा.वि. खिम्तीमा नेपालीहरुको महान चाडपर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सहित डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयका वडा अध्यक्ष शिवप्रसाद न्यौपानेको सभापतित्वमा संचालित सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका वन, वातावरण तथा उद्योग मन्त्री माननीय शान्तिप्रसाद पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी, कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी रहनुभएको थियो । कार्यक्रममा रामेछाप जिल्लाका प्रहरी प्रमुख नवराज ढुङ्गाना, लिखुतामाकोसी गाँउपालिकाका उप–प्रमुख दिपसिखा दाहाल र नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख विनय केसरी पौडेल लगायत लिखुतामाकोसी गाँउपालिका वडा नं. ६ का स्थानीय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु, उद्योगीहरु, विद्यार्थीहरु समेत गरेर झण्डै ३०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख शान्तिप्रसाद पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ्ग क्षेत्रको सहकार्य आवश्यक रहेको र यसको लागि सरकार सधैं तयार रहेको कुरा बताउनुभयो । त्यसैगरी, नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले ग्राहकहरुले बैकप्रति देखाएको अपार विश्वासप्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहनाअनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरीय बैकिङ्ग सेवा उपलब्ध गराएको व्यहोरा जानकारी गराउदै बैकबाट लाभान्वित हुन समेत आग्रह गर्नुभएको थियो ।
बैकिङ्ग ज्ञान अभिबृदि गर्न, बचत प्रोत्साहन गर्न, पूँजी निर्माण गरी उद्यमशीलता बृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा डिजिटल बैकिङ्गप्रति ग्राहक महानुभावहरुले देखाएको आकर्षणको साथै डिजिटल बैकिङ्गका फाईदा तथा चुनौतीहरुको बारेमा कार्यक्रमका प्रशिक्षकहरुले प्रकाश पार्नु भएको थियो ।