२०७३ भाद्र १५ गते

कृषि विकास बैंक पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

ADBLबैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी (NCHL-IPS)प्रणालीमा आवद्ध गराउँदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कृषि बिकास बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवासम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले हस्ताक्षर गरे । यस सम्झौताअनुसार क्लियरिङ्ग हाउसले बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि NCHL-IPS प्रणाली उपलब्ध गराउने छ ।

यस प्रणालीमार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सनरतलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।

यस प्रणालीका लागि हालसम्म कम्पनीले ५९ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरि सञ्चालन गरिरहेको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ६३ पुगेको छ ।