बैंकिङ खबर । पछिल्लो समय रेमिट्यान्स घटेको छ । यसबाट रेमिट्यान्सबाटै संचालीत नेपालको अर्थतन्त्र प्रभावित हुने देखिएको छ । पछिल्लो तथ्याङक अनुसार १८ प्रतिशतले रेमिट्यान्स घटेको छ । चालू आवको पहिलो महिना नै गत आवको तुलनामा रेमिट्यान्स कम्जोर छ । गत आवमा ९२ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवको यही अवधिमा १८ प्रतिशतले कम रेमिट्यान्स भित्रिएर ७५ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । यो रकम १६ अर्ब रुपैयाँले कमी हो ।
हाल विदेशी विनिमय सञ्चितिमा पनि ३.२ प्रतिशतले कमी आएको छ । एक महिनाअघि असारमा १३ खर्ब ९९ अर्ब रुपैयाँबराबर यस्तो सञ्चिति रहेकोमा साउनमा १३ खर्ब ५३ अर्ब छ ।
भारतबाट सरल हुँदै रेमिट्यान्स
कुनै समय हुण्डी वा व्यक्तिबाट मात्रै रेमिट्यान्स आउने गरेको छिमेकी देश भारतबाट अब भने सहजै रेमिट्यान्स आउने छ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतमा रहेका नेपालीका लागि रेमिट्यान्स पठाउने सीमा वृद्धि गरेपछि सहज बनेको हो । आरबीआईले जारी गरेको नयाँ निर्देशनमा यस्तो रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट बढाएर २ लाख भारु पुर्याएको छ भने प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ । भारत नेपालमा अत्याधिक रेमिट्यास आउने देश हो । आरबीआईको नयाँ निर्देशनसँगै नेपालको रेमिट्यान्स बृद्धि हुने अपेक्षा गरिएको छ ।
रेमिट्यान्स सिधै बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज
वैदेशिक रोजगारीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरे थप एक प्रतिशत ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा गएका श्रमिकले बैंकिङ्ग प्रणालीबाट पठाएको पैसा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने उल्लेख छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले आफूले कमाएको रकम बैंकिङ्ग प्रणालीमार्फत पठाउन र बचत गर्न प्रोत्साहित गर्नका लागि यस्तो नियम ल्याइएको हो । वैदेशिक रोजगारीमा रहेका कतिपय श्रमिकले हुन्डी लगायतका माध्यममार्फत पनि रकम पठाउने गर्छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दबाब पर्न सक्ने सम्भावना छ ।
रेमिट्यान्स पठाउँदा एकरुपता कायम
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै फेडानमार्फत् राष्ट्र बैंकबाट विदेशी विनिमयदर अनुसारनै कारोबार गर्न बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स निर्देशन दिएको थियो । जसअनुसार यो फरेन एक्सचेञ्ज डिलर एसोसिएसन अफ नेपाल (फेडान) ले प्रकाशित गर्ने विनिमयदर अनुसार सबै रेमिट्यान्स कम्पनीहरुले एउटै रेटमा रकम पठाउने व्यबस्था हो । यसअघि विभिन्न रेमिट्यान्स कम्पनीहरुले भिन्न भिन्न रेटमा विदेशी मुद्रा सटही गरी रेमिट्यान्स पठाउने गरेका हुँदा यसलाई एकरुपता ल्याउन सो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । हालसम्म यस्तो विदेशी विनिमयदर राष्ट्र बैंकले २० वटा देशको आफ्नो वेव साइटमा प्रकाशित गर्ने गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार फेडानले प्रकाशित हुने विदेशी मुद्राहरुको औषत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र २ बजे प्रकाशित गर्नुपर्ने छ । जसमा फेडानले नेपाली रहेका सम्पूर्ण देशको मुद्राको विनिमयदर प्रकाशित गर्नु पर्नेछ । सोही दरलाई आधारमानी बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुले विप्रेषण कारोबार गर्नु पर्नेछ । फेडानले प्रत्येक दिन प्रकाशित विनिमयदर राष्ट्र बैंक विदेशी व्यवस्थापन विभाग पठाउनु पर्ने छ भने रेमिट्यान्स् समबन्धी कारोबार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनु पर्नेछ । यस्तै, राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई आफ्ना एजेण्टसँग नगद धरौटी लिन नपाउने व्यवस्था समेत गरेको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त ५१ वटा रेमिट्यान्स कम्पनीहरुको देश व्यापीरुपमा हजारौं रेमिट एजेण्टहरु हुन्छन् । त्यस्ता एजेण्टसँग कम्पनीले कारोबार गर्नको लागि केही परिमाणमा रकम धरौटी दिँदै आएका छन् । जसलाई राष्ट्र बैंकले बैंक ग्यारेन्टी लिनु पर्ने निर्देशन कम्पनीलाई दिएको हो । यस्ता रेमिट एजेण्टहरुलाई कम्पनीले दिने वित्तीय तथा गैर वित्तीय सुविधा विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमबाट कट्टी गर्न नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
पैसाको कारोबार गर्दा जहिले पनि औपचारिक माध्यमबाट गर्नुपर्ने हुन्छ । औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ । बैंक तथा वित्तीय संस्थाबाट एवं रेमिट्यान्सको कारोबार गर्ने राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थबाट मात्रै विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(१) औपचारिक माध्ययमबाट पैसा पठाउँदा जसको नाममा पठाएको हो, उसैले सुरक्षित रूपमा पैसा प्राप्त गर्दछ ।
(२) यी माध्ययमबाट पैसा पठाउँदा संस्थामा बचत गर्न सहज हुन्छ ।
(३) बैंक/वित्तीय संस्थाबाट विप्रेषण कारोबार गर्दा उक्त संस्थावाट अन्य सुविधा पनि लिन सकिन्छ ।
(४) बैंक/वित्तीय संस्थाबाट वित्तीय कारोबार गर्दा कारोबारको रसिद पाइन्छ । यो रसिद सम्झेर लिनुपर्छ । यसले हिसाब राख्न मद्दत गर्दछ ।
(५) रसिद मात्रै कानुनी रूपमा आय प्राप्त गरेको प्रमाण हो । सम्पत्ति, घरजग्गा आदि जोड्दा आयस्रोतको रूपमा यस रसिदलाई देखाउन सकिन्छ ।
(६) वैदेशिक रोजगारीबाट फर्केपछि सहुलियतपूर्ण कर्जा लिन औपचारिक माध्यमबाट विप्रेषण कारोवार गरेको हुनुपर्छ ।
विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्नेकुराहरू
विप्रेषण औपचारिक बैंक तथा रेमिट्यान्स कम्पनीहरूबाट मात्र पठाउने ।
विप्रेषण गर्दा शुल्क वापत लिइने पैसाको बारे सोधपुछ गर्ने ।
विप्रेषण पठाएपछि सोको उपयोग उत्पादनशील क्षेत्रमा गर्ने ।
यदि उपभोगमा खर्च गरेमा सो कमाइ उपभोग भइसकेपछि पुनः आम्दानी प्राप्त नहुने हुँदा आम्दानी हुने गरी मात्रै खर्च गर्ने अर्थात् बिहे व्रतबन्ध, जन्मदिवस, पास्नीजस्ता अनुत्पादक कार्यमा सकेसम्म कम खर्च गर्ने ।
विप्रेषणको उचित प्रयोग
विप्रेषणको उचित प्रयोगले हाम्रो जीवन सहज र भविष्य सुनौले बन्न सक्छ । विप्रेषणको धेरै अंश हाम्रो दैनिक खपतमा खर्च हुँदा बचत र भविष्यको सुरक्षाका लागि लगानीको वातावरण बन्दैन ।
विप्रेषणको रकम सकेसम्म उत्पादनमूलक कामका लागि खर्च गर्नु पर्दछ । विप्रेषणकै आम्दानीबाट दैनिक घरखर्च चलाउनुपर्ने अवस्था छ भने पनि सकेसम्म कम खर्च गरी धेरै रकम बचत गर्नु पर्दछ । बचतको उक्त रकमलाई आयआर्जन हुने क्षेत्रमा लगानी गर्नु पर्दछ । यसो गर्दा पटक पटक आय आर्जन गर्न धेरै दुःख र जोखिम बोकेर विदेश गइरहनु पर्दैन । देशभित्रै केही काम गरी परिवारसँगै हाँसी खुशी बस्न सकिन्छ।
(क) शिक्षा
शिक्षाले सीप आर्जन गरी भविष्यमा थप आय सिर्जनामा मद्दत गर्ने भएकाले शिक्षा एउटा महत्वपूर्ण लगानीको क्षेत्र हो ।
(ख) उत्पादनमूलक क्षेत्र
उत्पादनमा वृद्धि गराउने साना तथा घरेलु उद्योग, व्यवसाय, तरकारी खेती, वस्तुपालन, सीप आर्जन, बचत वा शेयर खरिद आदि ।
(ग) लगानी
जोखिम कम भएको क्षेत्रमा लगानी, साना व्यापार वा व्यवसाय, बैंङ्क वा वित्तीय संस्थामा बचत वा शेयर आदि ।
(घ) अनावश्यक खर्च
चुरोट, रक्सी, पानपराग, जुवा, तास आदि खेलेर गरेको खर्च ।
(ङ) अनुत्पादक खर्च
आवश्यकताभन्दा बढी लुगा, जुत्ता, घुमफिर, सिनेमा, मोबाइल, रिचार्ज, देखावटी सामान आदिमा गरेको खर्च ।
(च) अनावश्यक विलासिताका वस्तु
नचाहिएको अवस्थामा मोटरसाइकल, टि.भि., फोन, ल्यापटप, आवश्यकभन्दा बढी विवाह, भोज, चाडवाड आदि ।