September 24th, 2021

दीगो बैंकिङका लागि नबिल बैंकले गर्‍यो गल्छी गाउँपालिकासँग साझेदारी

बैंकिङ खबर । नबिल बैंकले धादिङ्ग जिल्लाका गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङ्ग अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकको तर्फबाट बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाटअध्यक्ष कृष्णहरी श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमशीलता सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बाल्दै नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताउनुभयो । त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकका दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नुभयो । साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु-याई गाउँपालिकाको बिकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । गल्छी शाखालाई नबिल दिगो बैंकिङ्गको पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग गाउँपालिकाका विकास र रोजगारी सिर्जनामासंगै हातेमालो गर्न पाउँदा आफुलाई अत्यन्त खुसी लागेको बताउनु भयो ।

कार्यक्रममा दिगो बैंकिङ्ग परामर्शदाता राजु नेपाल, नबिल बैंकका बाग्मती प्रदेश अन्तर्गत स्वयम्भु क्लस्टर प्रमुख प्रज्वल कुमार सुवेदी, नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिलाप्रसाद ओझा, गल्छी शाखा प्रबन्धक, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको उपस्थिति रहेको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको थियो । सरकारको दिगो बिकासका लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगोे बैंकिङ्ग कार्यक्रम सार्वजानिक गरेकोे हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा शुरु गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]