२०७३ भाद्र १४ गते

‘गरिबका झुपडीमा लघुवित्त बैंकहरु’ : रामचन्द्र जोशीसँगको अन्तर्वार्ता

ramchandra joshiरामचन्द्र जोशी लघुवित्त विकास बैंकर्स संघका उपाध्यक्ष तथा छिमेक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । देशभर छरिएर रहेका स–साना पुँजी संकलन गरी कुनै पनि व्यवसायिक कार्यहरु गर्न चाहने दुर्गम भेगका गरिब तथा पिछडिएका वर्गलाई बिनाधितो कर्जा उपलब्ध गराउने र यस्ता वर्गको सामाजिक तथा आर्थिक स्तरोन्नतीमा जोशीले आफ्नो संस्थामार्फत योगदान गरिरहेका छन् । उनी लघुवित्त विकास बैंकहरुको छाता संगठन लघुवित्त विकास बैंकर्स एशोसियसनका उपाध्यक्ष पनि हुन् । यसै सन्दर्भमा सहकर्मी शारदा भण्डारीले उनै जोशीसंग गरेको कुराकानीको सम्पदित अंश यहाँ प्रस्तुत गरिन्छ :

तपाई लघुवित्त विकास बैंकर्स संघको उपाध्यक्ष हुनुहुन्छ, के गर्दैछ संघले पछिल्लो समय ?
लघुवित्त विकास बैंकर्स संघ लघुवित्त संस्थाहरुको एउटा छाता संगठन हो भने विभिन्न लघुवित्त संस्थाहरुले कारोबार संचालन गरिरहँदा देखा परेका समस्याहरु सुल्झाउनु नै संघले गर्ने मुख्य काम हो । यसबाहेक लघुवित्त संस्थाका शाखा स्थापनाका विषयमा सुझावहरु दिने, सुपरिवेक्षणको समयमा यो नीति राम्रो भनेर सल्लाह दिने, कतिपय अवस्थामा नयाँ पोलिसीहरु आएका हुन्छन् । तर यस विषयमा जानकार नै नभइकन लघुवित्त संस्थाहरुले कार्य गरिरहेका हुन्छन् । यस्तो अवस्थामा आवश्यक र सहि बाटो देखाउने जस्ता कार्यहरु लघुवित्त बैंकर्स संघले गर्दै आएको छ । हालैको कुरा गर्ने हो भने स्प्रेड रेटका विषयमा उठेको विवादका बारेमा लघुवित्त संस्थाहरुलाई सहज रुपमा संचालन हुन सक्ने अवस्थाको सृजना गर्नुपर्ने विषयमा राष्ट्र बैंकसमक्ष छलफल उठाएको छ । समग्रमा भन्नुपर्दा लघुवित्त संस्था र सञ्चालनमा देखा पर्ने समस्याको सम्बोधनका लागि र संस्थासँग आवद्ध सदस्य तथा सर्वसाधारणको हकहितको लागि गर्ने कार्यहरु लघुवित्त बैंकर्स संघले गर्ने कार्यहरु हुन् । 

हालै लघुवित्त बैंकर्स संघले ‘स्वनियम’ नामक एक नयाँ कार्यक्रमको थालनी गरेको छ । जसमा लघुवित्तहरु आफैं गाउँगाउँमा पस्ने र सेवा दिने, त्यस्तै लघुवित्तले प्रवाह गर्ने ऋणमा २० प्रतिशत भन्दा बढि असुल गर्न नपाइने र कर्जा प्रवाह र असुल दुवै कामहरु गर्दा संस्थाबाट मात्र गर्नुपर्ने जस्ता नीतिहरु यसमा समावेश गरिएको छ । जसले गर्दा लघुवित्त संस्थाहरुको कार्यक्षेत्र अझ बढि औपचारिक हुन सक्ने हाम्रो संघको ठहर छ ।

लघुवित्त बैंक र यसका कर्जा प्राथमिकताका क्षेत्रहरु के के हुन् ?
लघुवित्त संस्थाहरुको प्रमुख प्राथमिकताको क्षेत्र भनेको लघुउद्यमी नै हो । प्रायः लघुवित्तहरुको स्थापनाको उद्देश्य नै यहि हो । आफैँ उद्यमी बन्न चाहने र व्यवसायीक कार्य गर्न चाहने विपन्न वर्गका लागि मात्र लघुवित्त संस्थाहरुले सेवा प्रदान गर्दै आइरहेका छन् । जस्तो, एउटा गाई, भैँसी, बाख्रा पाल्नेका लागि भन्दा पनि व्यवसायीक रुपमा पशुपालन गर्न सक्ने कृषकका लागि हामी विनाधितो कर्जा उपलब्ध गराउँछौँ । यसबाहेक व्यवसायीक रुपमा माछा, च्याउ, तरकारी खेती गर्न चाहनेहरुका लागि र पाटपुर्जा निर्माण जस्ता कार्यका लागि हामी सर्वसाधारणलाई विनाधितो कर्जा उपलब्ध गराउँछौँ ।

राष्ट्र बैंकले ल्याएका पछिल्लो मौद्रिक नीतिका केही विषयप्रति यहाँहरुले असन्तुष्टि जनाउनुभएको छ । तपाईहरुको स्थापना गर्ने राष्ट्र बैंकले नै तपाईहरुलाई पेलेजस्तो लागेको हो ?
तपाइँले भनेजस्तै अहिलेसम्म जतिपनि लघुवित्त संस्थाहरु स्थापना भएर यो स्टेजसम्म आइपुगेका छन् । यसमा नेपाल राष्ट्र बैंकको भुमिका अतुलनीय छ । र यो स्थितिसम्म आउनका लागि मात्र नभनौँ लघुवित्त संस्थाहरुको स्थापना नै राष्ट्र बैंकले नै गरिदिएको हो भन्दा हुन्छ । राष्ट्र बैंकले प्रदान गर्ने ग्रामीण स्वावलम्वन कोषमार्फत राष्ट्र बैंकले प्रदान गर्ने होलसेल कर्जाबाटै प्रायः लघुवित्त संस्थाहरुको स्थापना भएको हो । यदि नेपाल राष्ट्र बैंकले होलसेल लेन्डिङबाट ग्रामीण भेगका लागि भनेर कर्जा उपलब्ध नगराउँदो हो त हालसम्मका कुनै पनि लघुवित्त संस्थाहरुको स्थापना हुन मुस्किल हुन्थ्यो । सुरुमा एनजीओको नाममा स्थापना भएर सेवा उपलब्ध गराएको नेपालकै पुरानो लघुवित्तको रुपमा परिचित हाम्रै छिमेकि लघुवित्त पनि आज लघुवित्त बैंकको नाम पाएर यो ठाउँसम्म आइपुग्नमा सबैभन्दा ठुलो श्रेय नेपाल राष्ट्र बैंकलाई जान्छ । 

कारोबारको मात्रामा वृद्धि भएसँगै हाम्रा छिमेक सेवा संस्थामा संकलन भएको रकम पनि क्रमिक रुपमा बढरहेकोे थियो, र यसलाइ रेकर्ड राख्न समेत असहज हुने स्थितीको सिर्जना भएको थियो । यसै क्रममा राष्ट्र बैंकले तपाइँहरुको संस्थालाई  बैंकमा परिणत गर्नुपर्छ भन्ने सैद्धान्तिक र होलसेल लेण्डिङमार्फत आर्थिक सहयोग गरेपश्चात मात्र हाम्रो संस्था आज एक परिचित लघुवित्तको रुपमा स्थापित भएको छ । यो एक उदाहरण संस्था मात्र हो यस्ता थुप्रै संस्थाहरुलाई लघुवित्त बैंक बनाउन र यीनीहरुलाई स्थायी रुप दिनमा नेपाल राष्ट्र बैंकको अहम भुमिका रहेको छ । यतिमात्र नभएर समय समयमा राष्ट्र बैंकले लघुवित्त बैंकहरुलाई गरेको सुपरिवेक्षण र सुझाव अमुल्य छ ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी संस्था भएका कारण पनि यसले हामीजस्ता संस्थाका लागि निरन्तर राम्रा कार्ययोजनाहरु अघि ल्याइरहेको छ । र सबै कार्यहरु राम्रंो गरेको छ । अब नयाँ लघुवित्त संस्थाहरुको स्थापना गर्दा म्यापिङको आधारमा गर्ने भन्ने जुन नीति ल्याएको छ, यो नीति चाँडै कार्यान्वयन भएदेखि थप लघुवित्त स्थापना गर्न चाहने संस्थाहरुका लागि सहज हुने थियो ।

ramchandra joshi 1लघुवित्त संस्थाहरुले जसका लागि स्थापना भएका हुन्, तिनीहरुका समस्या सम्बोधन गर्न सकेनन् भन्ने आरोप पनि छन्, के यो सत्य हो ? गरिबी उत्थानका लागि लघुवित्त संस्थाहरुको भुमिका कस्तो हुन्छ ?
लघुवित्त बैंकहरु स्थापनाको मुख्य उद्देश्य भनेको देशका विपन्न तथा पिछडिएका वर्गहरुको आधारभुत आवश्यकता परिपुर्ति र स्तरोन्नति नै हो । मेरो विचारमा हालसम्म जति पनि यस्ता ‘घ’ वर्गका बैंकहरु स्थापना भएका छन्, यीनीहरुले संस्थाको उद्देश्यलाई नै प्राथमिकतामा राखेर गरिब तथा विपन्न वर्गकै लागि सेवा उपलब्ध गराइरहेका छन् । यस्ता कम्पनीहरुको कार्यक्षेत्र भनेकै विपन्न वर्गहरुको बसोबास स्थल हो । र गरिब तथा पछिडिएका वर्गहरु बस्ने ठाउँ भनेकै  दुर्गम ग्रामीण इलाका हुन् । यसर्थ, लघुवित्त बैंकहरुमा निक्षेप संकलन गर्ने र यस्ता बैंकबाट ऋण लिने पनि सानो पुँजी भएका व्यक्ति तथा संस्थाहरुले नै हो । ठुलो पँुजी भएका वर्गहरुले प्राय बैंकिङ सेवा लिँदा ठुलै सरकारी तथा वाणिज्य बैंकहरुको प्रयोग गर्ने गर्छन् । गाउँमै पनि ठुला साहु महाजनहरु २० हजार ३० हजार अथवा ५० हजारसम्मको कर्जा लिन आउँदैनन् । उनीहरु आफ्नै स्तर अनुसारको बैंकमा सेवा लिनका लागि पुग्छन् । जसले ऋणका लागि धितो राख्न सक्दैन, त्यस्ता वर्गका लागि मात्र लघुवित्त बैंकहरुले सेवा, सुविधा उपलब्ध गराइरहेका छन् । त्यसैले गरिबका लागि लघुवित्त बैंकहरुले काम गर्न सकेनन् भन्ने विषय सत्य मान्न सकिन्न ।

त्यस्तै, हामीले लघुवित्त स्थापना गर्नुभन्दा पहिले त्यहाँका जनतालाई लघुवित्त र यसले दिने सेवा तथा कार्यक्षेत्रका विषयमा साक्षार बनाउनका लागि ७ दिने तालिम संचालन गर्छौँ । गाउँका कुनै पनि सम्पन्न व्यक्तिहरु यो सात दिनको समयलाई यतिकै बरबाद गरेर तालिम लिन आउँदैनन् । यसबाट पनि प्रष्ट हुन्छ कि, लघुवित्त बैंकहरु दुर्गम भेगका गरिब जनताकै लागि सेवा पुर्याउने संस्था हो र हाल पनि सबै लघुवित्त संस्थाहरुले गरिबकै लागि सेवा पुर्याइरहेका छन् । अर्को कुरा लघुवित्त बैंकका शाखाहरु सहरहरुमा छैनन् । यहि काठमाडौँकै कुरा गर्ने हो भने पनि न्युरोड, दरबारमार्ग, असन अझ भन्दा काठमाडौँमा मुख्य कार्यालय भयो भने ललितपुर र भक्तपुरमा कुनै पनि शाखाहरु छैनन् । यसबाहेका दुर्गम जिल्लाहरुमा मात्र छन् । अब यस्ता दुर्गम गाउँहरुमा त सहरका जनता गएर सेवा ग्रहण गर्ने कुरै आउँदैन । त्यसकारण, लघुवित्त संस्थाहरुले गरिबकै लागि सेवा पुर्याइरहेका छन् र हाम्रो देशको गरिबी उत्थानमा यस्ता संस्थाहरुको सबैभन्दा ठुलो भुमिका छ ।

लघुवित्त संस्थाहरुले विपन्न वर्गका लागि विना धितो कर्जा उपलब्ध गराउँछन् । पछि संस्थाले ऋण असुल गर्न कुनै समस्या हुँदैन ?
नेपालमा वर्गिकृत ४ वित्तीय संस्थाहरु, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त बैंकहरुमध्ये जोखिमपुर्ण कर्जा कम हुने वित्तीय संस्था नै घ वर्गको लघुवित्त बैंकहरु हुन् । एक त लघुवित्त बैंकको सेवा लिने समुदाय विपन्न वर्गमा पर्छ । आफुले कर्जा लिएर लगानी गरेको क्षेत्रबाट प्राप्त आम्दानीमध्ये सबैभन्दा पहिलो भुक्तानी नै उनीहरुले ऋणको गर्छन् । दोस्रो ठुला र सम्पन्न साहु महाजनहरुले जस्तो चलाखीपन या नौलो ट्रिक लगाएर कर्जा छली गर्नतर्फ उनीहरु लाग्दैनन् । यसकारण पनि लघुवित्त संस्थाले प्रवाह गरेको कर्जा असुलमा कुनै पनि समस्या आइपर्दैन । संस्थाले असुल गर्नुपुर्व नै ऋणीहरु रकमका साथमा उपस्थित भइसकेका हुन्छन् । ऋण ठगी गर्ने या नतिर्ने भनेको ठुला र सम्पन्नशालीहरुले मात्र हो विपन्न तथा तल्लो स्तरका व्यक्ति जसले केहि उद्येग गर्न चाहेको छ । उसका घर आँगनमा गएर खान, लाउन, बालबच्चा पढाउन सक्ने सम्मको स्थिती सिर्जना गरिदिने व्यक्तिहरुले सँधै ऋणलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । र समयमै कर्जा तिर्न सक्षम पनि हुन्छन् । यसकारण हामीले प्रवाह गरेको कर्जामा कुनै पनि छलकपट नभइकनै कर्जा रिकभर हुन्छ । यसमा कुनै पनि समस्या पर्दैन ।

सबै लघुवित्त संस्थाहरुले आ.व. ०७२/७३ को र्आिर्थक विवरण प्रस्तुत गरिसकेका छन् । यो विवरणका आधारमा लघुवित्त कम्पनीहरुको नाफाको स्थिती कस्तो पाइएको छ ?
अन्य कम्पनी तथा वित्तीय संस्थाहरुको जस्तो एकैपटक धेरै लगानी गरौँ र नाफा पनि एकैपटक कमाऔँ भन्न लघुवित्त बैंकहरुको कार्यक्षेत्रले दिँदैन । लघुवित्त बैंकहरुले एकैपटकमा नभएर विस्तार विस्तार लगानी गर्दै क्रमिक रुपमा त्यसबाट नाफा आर्जन गर्ने हो । अन्य बाणिज्य बैंकहरुको हेर्ने हो भने एकै पटकमा १ अर्ब÷२ अर्ब या योभन्दा बढि पनि लगानी गर्छन् । अघिल्लो वर्षमा घाटामै भएको बैंकले पनि पछिल्लो वर्षमा धेरै गुणा राम्रो नाफा कमाइसकेका हुन्छन् । तर लघुवित्तमा यस्तो हुँदैन । अब, आ.व. ०७२/७३ को वित्तीय विवरणलाई हेर्ने हो भने पुराना तथा स्थायीत्व पाइसकेका लघुवित्तहरु जस्तै, निर्धन, स्वावलम्बन, नेरुडे अनि हाम्रै छिमेकि जस्ता लघुवित्तहरुको नाफा प्रतिशत अघिल्ला वर्षहरुका तुलनामा राम्रो रेन्जमा बढिरहेको छ । यसको मतलब अन्य लघुवित्तहरुले चाहिँ नाफा घटाए भन्न खोजेको होइन । तर कतिपय नयाँ लघुवित्तहरुले गरिब जनतालाई ठुलो ऋण उपलब्ध गराएर तुरुन्तै नाफा आर्जन गर्ने उद्देश्य पनि लिएका हुन्छन् । तर यस्ता संस्थाहरु अस्थायी हुन्छन् । यसमा हामी लघुवित्त बैंकर्स संघले उनीहरुलाई सजेस्ट गर्ने गरेका छौँ । सबै लघुवित्तहरुको अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षको नाफा बढि नै हुन्छ । किनकी लघुवित्तहरुको पछिल्ला वर्षहरुमा नाफा घट्न थाल्यो भने त्यस्ता लघुवित्तहरु स्थायी हुन सक्दैनन् । समग्रमा भन्नुपर्दा सबै लघुवित्त संस्थाहरु राम्रै नाफाको क्रममा छन् । कतिपय लघुवित्तहरुको अहिलेको पर्फर्मेन्स त पुराना प्राइभेट बैंकहरुको पर्फर्मेन्सभन्दा पनि राम्रो छ ।

ramchandra joshi 2लघुवित्त संस्थाका लागि राष्ट्र बैंकले निर्धारण गरेको स्प्रेड रेट बढि भएको विषयमा तपाइँहरुले छलफलका लागि समिति बनाउनुभाथ्यो, तपाइँहरुका समस्याका विषयमा सम्बोधन भयो ?
राष्ट्र बैंकले प्रस्तुत गरेको मौद्रिक नीतिमा तोकिएको लघुवित्त संस्थाहरुको स्प्रेड रेटका विषयमा हामीहरुमा परेको आपत्तिका बारेमा राष्ट्र बैंकसँग छलफल गर्नका लागि लघुवित्त बैंकर्र्स संघको तर्फबाट एक टोलि नै राष्ट्र बैंक गएको थियो । निर्धारित स्प्रेड रेट बढि भयो यसमा हेरफेर गर्नुपर्यो, भनेर तत्कालै हाम्रो बैंकर्स संघको समितिले गभर्नर, डेपुटि गभर्नर र राष्ट्र बैंकका प्रमुखहरुलाई भेटेर यस विषयमा छलफल अघि बढाइसकेको छ । तत्कालका लागि निर्धारण गरिएको स्प्रेडदरका आधारमा कारोबार गर्दा लघुवित्त बैंकहरुले प्रशासनिक खर्च समेत धान्न नसक्ने भएकाले लघुवित्तहरुले सहज रुपमा काम गर्नसक्ने स्थितिको सिर्जना हुनुपर्यो भन्ने हाम्रो संघको मागको बारेमा राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्थाहरुलाई मारमा पार्ने हाम्रो कुनैपनि उद्देश्य हैन भन्दै, हाम्रो मागका विषयमा सकारात्मक प्रतिक्रिया आएका छन् । सम्भवतः राष्ट्र बैंकले छिट्टै नै लघुवित्त संस्थाहरुका लागि उपयुक्त स्प्रेडदर कायम गर्छ । र हामीलाई यस विषयमा जानकारी गराउँछ ।

हालका दिनहरुमा लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरु के के हुन् ?
हालसम्म नेपालमा ४२ ओटा लघुवित्तहरु सञ्चालनमा रहेर आफ्ना सेवाहरु गाउँगाउँसम्म पुर्याइरहेका छन् । जसमध्ये भर्खरै मात्र स्थापना भएका नयाँ संस्थाहरुले एकैपटक ठुलो रकमको कर्जा प्रवाह गर्नाले लघुवित्तका सदस्यहरुले त्यसअनुरुपको आम्दानी गर्न सके नसकेको बारेमा मुल्याङकन हुन सकेको छैन । अहिले लघुवित्तमा देखिएको अर्को समस्या भनेको एक जना व्यक्तिले धेरै ओटा संस्थाबाट र एक व्यक्तिले धेरै जना व्यक्तिको नामबाट कर्जा लिने तर त्यो पनि व्यवसायीक कार्यका लागि नभइकन अन्य कार्यमा त्यसको प्रयोग गर्ने गरेको पनि भेटिएको छ । त्यस्तै अर्को मुख्य समस्या भनेको जतिपनि नयाँ संस्थाहरु स्थापना हुन्छन्, ती सबै तराईमा मात्र स्थापना हुने कारण हिमाली तथा पहाडी भेगका सामान्य जनताहरु लघुवित्त संस्थाहरुको सेवाबाट वञ्चित भएका मात्र छैनन् । तराई भेगमा विकासका पुर्वाधारहरु सहज रुपमा उपलब्ध हुने र खर्च कम लाग्ने भएकाले ४२ मध्ये धेरै लघुवित्त शाखाहरु तराई मुलमा मात्र स्थापना हुनाले त्यस क्षेत्रमा यस्ता संस्थाहरुको गुणस्तरमा पनि कमि आउँदै आएको छ । यीनै विषयलाई ध्यानमा राखेर लघुवित्त संस्थाको स्थापना र कारोकार संचालन गर्न सकेमा समग्र देशकै आर्थिक स्तरको विकास हुने पक्का छ ।