२०७३ भाद्र १४ गते

‘नाडा अटो शो’मा बैंकहरुको स्टल : सहुलियत व्याजदरमा ऋणको व्यवस्था

nadaनेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा ‘नाडा अटो शो’ सुरु भएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले काठमाडौंको भृकुटीमण्डपमा मेलाको उद्घाटन गरे । ३६ वटा ब्राण्डका सवारी साधन राखिएको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्थाहरुको स्टल समेत राखिएको छ । साथै, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टस्का स्टल पनि प्रदर्शनीमा राखिएको छ । 

नाडा अटो शोकै लागि भनेर कतिपय बैंक तथा वित्तीय संस्थाहरुले प्रदर्शनी अवधिभरका लागि सहुलियत कर्जाको स्किम ल्याएका छन् । माछापुच्छ्रे बैंकले ६.७५ प्रतिशत ब्याज दरमा नाडाकै लागि कर्जा स्किम ल्याएको छ । बैंकले गाडीको मूल्यको ८२ प्रतिशतसम्म सात वर्षका लागि कर्जा उपलब्ध गराउँछ । हिमालयन बैंकले पनि ब्यक्तिगत प्रयोजनका लागि गाडि किन्नेलाई साढे ६ प्रतिशत ब्याजमै सात वर्षे कर्जा दिने घोषणा गरेको छ । बैंकहरुले कर्जाको ब्याज दर मात्र झारेका छैनन् सर्भिस चार्ज पनि घटाएर ०.२५ प्रतिशतदेखि ०.७५ प्रतिशतसम्म लिने घोषणा गरेको छ । उक्त प्रदर्शनी भदौ १९ गतेसम्म चल्नेछ भने बैंकहरुको सहुलियत स्किम पनि सोही दिनसम्मका लागि मात्रै हुनेछ ।