२०७३ भाद्र १२ गते

चुक्तापुँजी नजिक ‘दश वाणिज्य बैंकहरु’

capitalरुपा कोइराला । चुक्ता पुँजी वृद्धिका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको समयावधि अब १० महिना मात्रै बाँकी छ । राष्ट्र बैंकको निर्देशनअनुसार क वर्गका बैंकहरुले ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी ८ अर्ब पुर्याउनुपर्ने हुन्छ । सोही निर्देशनअनुसार पुँजी बढाउने होडमा वाणिज्य बैंकहरु लागी परेका छन् । क्षेत्रीयस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुलाई गाभ्ने, हकप्रद शेयर जारी गर्ने, वोनश शेयर दिने लगायतका उपकरणहरुबाट बैंकहरुले चुक्ता पुँजी बढाइरहेका छन् । राष्ट्र बैंकको नीति आउनुभन्दा पहिले नै राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको चुक्ता पुँजी ८ अर्बभन्दा बढी थियो । यी दुवै सरकारी स्वामित्वमा रहेका बैंकहरु हुन् । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको चुक्तापुँजी १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ रहेको छ । सरकारी स्वामित्वमै रहेको नेपाल बैंकको भने हालसम्म चुक्तापुँजी ८ अर्ब पुगेको छैन । निजी क्षेत्रका त कुनै बैंकको पनि ८ अर्ब पुँजी पुगेको छैन । तर, प्रायः बैंकहरु निर्धारित चुक्तापुँजी नजिक पुगिसकेका छन् । 

नेपाल बैंक
कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबाहेक हाल सबैभन्दा धेरै पुँजी नेपाल बैंकको छ । यो बैंकलाई चुक्तापुँजी पुर्याउन गाह्रो छैन । बैंकको हाल ६ अर्व ४६ करोड ५० लाख रुपैयाँ रहेको छ भने हकप्रद शेयर वितरण गरेर यसै वर्ष चुक्ता पुँजी ८ अर्ब पुर्याउने भएको छ । बैँकले सय कित्ता बराबर २३.७४ कित्ता सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । जसबाट १ अर्ब ५७ करोड रुपैयाँ पुँजी जुटाउने जनाएको छ । यसबाट नपुगेको पुँजी बैँकले मर्जर, एक्वीजीशन, टेकओभर तथा रणनीतिक साझेदार थपेर बढाउने योजना बनाएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको पनि चुक्तापुँजी ८ अर्ब नाघ्ने टुंगो लागिसकेको छ । यसका लागि बैंकले आफ्ना शेयरधनीलाई ४१ प्रतिशत लाभांस दिने भएको छ । बैंकले गत आर्थिक बर्षको दुई अर्ब ५५ करोड रुपैयाँ नाफाबाट वोनस सेयरसहित नगद लाभांस दिने घोषणा गरेको हो । जसअनुसार बैंकका शेयरधनीले २१ प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर पाउनेछन् । हाल बैंकको अहिले कुल चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत वोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ । यससँगै इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याएपछि आठ अर्ब पुर्याउने निजीस्तरको पहिलो बाणिज्य बैंक बन्नेछ ।

ग्लोबल आईएमई बैंक
निजीस्तरको बैंक ग्लोबल आईएमई बैंकलाई पनि चुक्तापुँजी ८ अर्ब पुर्याउन गाह्रो देखिँदैन । हाल बैंकको चुक्तापुँजी ६ अर्ब १६ करोड रुपैयाँरहेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ । यो बैंकले बोनस शेयरबाटै चुक्तापुँजी ८ अर्ब पुर्याउन सक्ने देखिन्छ । 

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद शेयर जारी गरी पूँजी बढाउने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ४ करोड रहेकोमा हकप्रद जारीपछि ५ अर्ब ४७ करोड नाघ्ने छ । गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले पनि वानेस शेयर वितरणबाटै चुक्तापुँजी ८ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

प्रभु बैैंक
हाल प्रभु बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको न्युनतम पुँजी पुर्याउन यो बैंकलाई २ अर्बभन्दा बढी पुँजीको आवश्यकता छ । गत आर्थिक वर्षमा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको प्रभु बैंकलाई पनि पुँजी पुर्याउन गाह्रो देखिँदैन । त्यसमाथि बैंकले ६४ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ । त्यसैले प्रभु बैंकले सजिलै ८ अर्ब पुँजी पुर्याउनेछ । 

सिटिजन्स बैंक
गत आर्थिक वर्षको खुद नाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गरिसकेको सिटिजन्स बैंकले हकप्रद निष्काशन गरेर चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुर्याएको छ । गत आर्थिक वर्षमा १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको बैंकले बोनस शेयर बाँडेर पुँजी थप गर्न सक्छ । यो बैंकलाई पनि अबको १० महिनामा ८ अर्ब पुँजी पुर्याउन समस्या छैन । 

नविल बैंक
हाल नविल बैंकको चुक्तापुँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा २ अर्ब ८२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले भारी मात्रामा वोनस शेयर वितरण गर्ने सम्भावना छ । त्यसैले यो बैंकलाई पनि चुक्तापुँजी ८ अर्ब पुर्याउन सहज छ । 

सानिमा बैंक
५० प्रतिशत हकप्रद जारी गरेर बैंकले चुक्तापुँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले यो वर्ष पनि बोनस शेयर वितरण गर्ने सम्भावना छ । त्यस्तै, सानिमा बैंक १ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रक्रियामा छ । त्यसैले यो बैंकले ८ अर्ब चुक्तापुँजी सजिलै पुर्याउन सक्ने देखिन्छ ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकको हालको चुक्तापुँजी ४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । गत बर्ष ३९ प्रतिशत बोनस शेयर र २५ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी बढाएको बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष खुद नाफामा ५७ प्रतिशत बृद्धि गरी १ अर्ब ७ करोड नघाएको छ । जसबाट बैंकले आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.३७ प्रतिशत गरी जम्मा २७.३७ प्रतिशत लाभांस दिने घोषणा गरिसकेको छ । नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र एनआइसी बैंकको आगामी साधारणसभाले पारित गरेपछि सो बोनस वितरण गरिने छ । त्यस्तै, बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने निर्णयसमेत गरेको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५६ करोड रुपैयाँ छ बोनस सेयर र हकप्रद सेयर वितरणपश्चात चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । बाँकी १ अर्ब ३८ करोड पुँजीका लागि यो बैंकलाई पनि अबको १० महिनाको अवधि पर्याप्त हुने देखिन्छ ।

बैंक अफ काठमाण्डू लुम्बिनी
बैंक अफ काठमाडू र लुम्बिनी बैंक एक आपसमा गाभिएर बनेको बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको कुल चुक्ता पुँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । २ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने तयारीमा रहेको बैंकको पुँजीले पनि सजिलै ८ अर्ब नाघ्ने देखिन्छ । 

यीबाहेक, हिमालयन बैंक र एनएमबी बैंकको चुक्तापुँजी झन्डै साढे ४ अर्ब रुपैयाँ छ । यी बैंकहरुलाई पनि चुक्तापुँजी ८ अर्ब पुर्याउन १० महिनाको अवधि पर्याप्त हुने देखिन्छ । त्यस्तै, सनराइज बैंकको पुँजी ३ अर्ब ९७ करोड रुपैयाँ छ । नेपाल एसबीआई बैंकको चुक्तापुँजी हाल ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ रहेको छ भने माछापूछ्रे बैंकको पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । प्राइम कमर्सिल बैंकको चुक्तापुँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैयाँ रहेको छ भने सिभिल बैंकको पुँजी ३ अर्ब ८ करोड रुपैयाँ छ । सिद्धार्थ बैंकको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको पुँजी पनि ३ अर्ब रहेको छ । 

हाल २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरिरहेको छ । जसपश्चात् बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । त्यस्तै हाल २ अर्ब ८७ करोड रुपैयाँ पुँजी भएको मेगा बैंक मेगा बैंकले पनि साउन २७ गतेदेखि १ सय रुपैयाँ अङ्कित दरका ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद शेयर भदौ २९ गतेसम्मका लागि निष्काशन गरेको छ । जसपश्चात् बैंकको पुँजी ३ अर्ब ७० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ । २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पूँजी भएको जनता बैंक जनता बैंक नेपालले ५० प्रतिशत हकप्रद शेयर निष्काशन जारी गर्ने निर्णय छैठौं बार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । बैंकको अहिले २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी छ । हकप्रद सेयर जारी गरेपछि पुँजी १ अर्ब ३ करोड रुपैयाँ बढी ३ अर्ब ९ करोड पुग्नेछ ।

त्यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकको चुक्तापुँजी २ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको चुक्तापुँजी २ अर्ब ७४ करोड २६ रुपैयाँ, कुमारी बैंकको २ अर्ब ६९ करोड रुपैयाँ छ र एनसीसी बैंकको चुक्ता पूँजी २ अर्ब ३५ करोड ३१ लाख ७६ हजार रुपैंया रहेको छ ।

सबै वाणिज्य बैंकहरुले पुँजीवृद्धिको योजना नेपाल राष्ट्र बैंकलाई बुझाइसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्यात्मक रुपमा नभएर गुणस्तरका हिसाबले विकास गर्ने उद्देश्यले ल्याएको पुँजीवृद्धिको नीति सफल भएको देखिन्छ । राष्ट्र बैंकले यो नीति ल्याउँदा सुरुमा बैंकहरु ८ अर्ब पुँजी पुर्याउन नसकिने भन्दै आत्तिएका थिए । अब बैंकको संख्या घट्छ भन्ने अनुमान पनि कतिपयले लगाएका थिए । तर, २९ वटा रहेकोे वाणिज्य बैंकको संख्या २८ मा झर्यो । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिए । अन्य बैंकहरु भने ०७४ असार मसान्तसम्ममा ८ अर्ब पुँजी पुर्याएरै छाड्ने यात्रामा छन् ।