२०७३ भाद्र ११ गते

महँगीको उच्च चापमा नेपाली जनता : ९.९ प्रतिशतमा पुग्यो मुद्रास्फीति

rising priceरुपा कोइराला । नेपालमा मूल्यवृद्धिदर वर्षेनि बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा ७.२ प्रतिशतका रहेको मूद्रास्फीति गत आर्थिक वर्षमा ९.९ प्रतिशतका पुगेको छ । वार्षिक विरुन्दुगत आधारमा हेर्दा २०७३ असार महिनामा उपभोक्ता मूद्रास्फीति १०.४ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.६ प्रतिशत मात्रै रहेको थियो । 

विषम परिस्थितीको परिणाम
गत आर्थिक वर्षमा आर्थिक हिसाबले मुलुक विषम परिस्थितीमा रह्यो । एकातिर गत वर्षको वैशाख महिनामा गएको विनासकारी भुकम्पका कारण अर्थतन्त्र तंग्रिन नपाउँदै तराई आन्दोलन सुरु भयो । त्यतिमात्र नभएर सीमा–नाका अवरोध र आपूर्ति असहजता जस्ता प्रतिकूल परिस्थितिका कारण गत मूल्यमा चाप पर्न गर्यो । यी सबै स्थितीलाई विश्लेषण गर्दा मुल्यवृद्धिदर अत्याधिक बढ्ने अनुमान अर्थविद्हरुले लगाएका थिए । यद्यपि, सरकारले यस्तो दरलाई ९.९ प्रतिशतमा सीमित पार्न सफल भएको छ । 

दाल र गेडागुडीको मूल्यवृद्धि सबैभन्दा उच्च
त्यस्तै, गत वर्षमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल, लत्ता कपडा तथा जुत्ता, मसला, घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकाले पनि समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्न गएको देखिन्छ । दलहन तथा गेडागुडीको मूल्य ३२.७ प्रतिशत, घ्यू तथा तेलको मूल्य १९.५ प्रतिशत र मसलाको मूल्य १३.५ प्रतिशतले बढेपछि खाद्य समुहको वार्षिक औसत मुद्रास्फीतिदर दोहोरो अंकमा पुगेको छ । एक वर्षको अवधिमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको औसत मूल्य वृद्धिदर क्रमशः १०.९ प्रतिशत र ९.२ प्रतिशत रह्यो । जबकी अघिल्लो वर्षमा यी समूहहरुको औसत मूल्य वृद्धिदर क्रमशः ९.६ प्रतिशत र ५.२ प्रतिशत रहेको थियो । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्यमा क्रमशः १४.२ प्रतिशत र १२.७ प्रतिशतले वृद्धि भएको छ । 

मूल्यवृद्धि राजधानीमै धेरै
क्षेत्रगत आधारमा विश्लेषण गर्दा राजधानी सहरका वासिन्दा सबैभन्दा धेरै महँगी खेपेका छन् । गत आर्थिक वर्षमा काठमाडौँ उपत्यका औसत उपभोक्ता मुद्रास्फीति ११.६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा उपत्यकामा यस्तो वृद्धिदर ७.२ प्रतिशत मात्रै रहेको थियो । त्यस्तै, गत आर्थिक वर्षमा औसत उपभोक्ता मुद्रास्फीति पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.८ प्रतिशत र तराईमा ८.६ प्रतिशत रह्यो । जबकी अघिल्लो वर्ष यस्तो वृद्धिदर पहाडमा ७.३ प्रतिशत र तराईमा ७.१ प्रतिशत रहेको थियो । 

भारतमा घट्दै, अनि नेपालमा बढ्दै मूल्यवृद्धि
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक नेपालबमे औसत उपभोक्ता मुद्रास्फीति ९.९ प्रतिशत रहँदा भारतमा ५.२ प्रतिशत  रह्यो । यसआधारबाट हेर्दा यी दुई मुलुकबीचको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अन्तर ४.७ प्रतिशत रहेको देखिन्छ । अघिल्लो वर्ष यस्तो अन्तर १.९ प्रतिशत रहेको थियो । सो वर्ष नेपालको औसत उपभोक्ता मुद्रास्फीति ७.२ प्रतिशत हुँदा भारतको ५.३ प्रतिशत थियो । यसले भारतमा मूल्यवृद्धिदर क्रमशः घट्दै गएको र नेपालमा बढ्दै गएको देखिन्छ ।

थोक मुद्रास्फीति सामान्य बढ्यो
आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत थोक मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.१ प्रतिशत रहेको थियो । जसअन्तर्गत कृषिजन्य वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क १०.५ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क ६.२ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरुको वार्षिक औसत मूल्य सूचकाङ्क २.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यी सूचकाङ्कहरुको वृद्धिदर क्रमशः ८.८ प्रतिशत, ५.६ प्रतिशत र ०.७ प्रतिशत रहेको थियो । 

तलब ५.८ प्रतिशतले बढ्यो
मूल्यवृद्धिको उच्च चापमा जनता परिरहँदा गत वर्ष वार्षिक औसत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ५.८ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष उक्त सूचकाङ्क ८.४ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, सो अवधिमा तलब सूचकाङ्कको वृद्धिदर ०.८ प्रतिशत रहेको छ भने ज्यालादर सूचकाङ्कको वृद्धिदर ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष तलव सूचकाङ्क र ज्यालादर सूचकाङ्क दुबैको वार्षिक औसत वृद्धिदर ८.४ प्रतिशत रहेको थियो । ज्यालादर अन्तर्गत समीक्षा वर्षमा निर्माण मजदूर, कृषि मजदूर र औद्योगिक मजदूरको ज्यालादर सूचकाङ्कको वार्षिक औसत वृद्धिदर क्रमशः ९.७ प्रतिशत, ८.३ प्रतिशत र ३.६ प्रतिशत रहेको छ ।