नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त कम्पनीहरुलाई आज भदौ ९ गतेका मितिबाट २२ दिनभित्र पूँजीवृद्धि योजना पेश गर्न निर्देशन दिएको छ । एउटा सूचना जारी गर्दै केन्द्रीय बैंकले थोक कर्जा प्रदान गर्ने राष्ट्रिस्तरका लघुवित्त कम्पनीहरुलाई समानुपातिक पूँजीवृद्धि योजना अनुसार यस्तो निर्देशन दिएको हो । चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाले २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था गरेको राष्ट्र बैंकले ०७४/०७५ को बोनश सेयरलाई समेत गणना गर्न पाइने जनाएको छ ।
०७५ असारमसान्तभित्र पुँजी वृद्धि तोकिएअनुसार नगर्ने संस्थाको नगद लाभांश तथा बोनश घोषणा, थप वित्तीय स्रोत संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने प्रष्ट पार्दै राष्ट्र बैंकमा पूँजीयोजना बुझाएपछि सम्बन्धित कम्पनीले सर्वसाधारणको जानकारीका लागि आ आफ्नो वेभसाइटमार्फत पूँजी योजना सार्वजनिक गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले अर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति मार्फत राष्ट्रियस्तरका थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाले २०७५ असार मसान्तसम्ममा ६० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था लागु गरेको थियो । हाल १० करोड रुपैयाँ चुक्ता पुँजी भए हुने व्यवस्थालाई ६ गुणाले बढाउँदै राष्ट्र बैंकले ६० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था लागु गरेको हो ।
थोक कर्जा प्रदान गर्ने चार कम्पनी : चुक्ता पुँजी क–कसले पुर्याउलान् ?
हाल थोक कर्जा प्रदान गर्ने राष्ट्रिय स्तरका चारवटा लघुवित्त कम्पनीहरु छन् । साना किसान विकास बैंक, आरएमडिसी माइक्रोफाइनान्स, फस्ट माइक्रोफाइनान्स र आरएसडीसी माइक्रोफाइनान्स । चार कम्पनीमा आरएसडिसीबाहेक अन्य कम्पनीको वित्तीय अवस्था हेर्दा सजिलै ६० करोड चुक्ता पुँजी पुर्याउन सक्ने देखिन्छ । अहिले नै ती संस्थाको ४० करोड हाराहारीमा चुक्ता पुँजी रहेको छ । आरएसडिसी पनि चुक्ता पुँजी पुर्याउने प्रयासमा लागि परेको छ । उसको वित्तीय अवस्था पनि सुधारोन्मुख नै छ ।