
बैंकिङ खबर/राष्ट्र बैंकमा हाल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् ।
मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी २ वर्षदेखि यी संस्थाहरु अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।
मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये २ वटा विकास बैंक र १८ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् ।
मर्जर तथा प्राप्तिको पारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आए पनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेका राष्ट्र बैंकले जनाएको छ ।
मर्जर तथा प्राप्तिको स्वीकृतिको आवेदन दिएका बैंक तथा वित्तीय संस्थाले सैद्दान्तिक स्वीकृति (एलओआइ) दिएको ३ महिनाभित्र आवश्यक अन्य प्रक्रिया पूरा गरिसक्नु पर्छ । सोहीअनुसार राष्ट्र बैंकले एकीकृत कारोबारको अन्तिम स्वीकृति दिन्छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म १० जोडी अर्थात् २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।
अघिल्लो आर्थिक वर्षको पुषदेखि नै धौलागिरी लघुवित्त र आँधिखोला लघुवित्तको मर्जर आवेदन पाइपलाइनमा छ । तर राष्ट्र बैंकले एलओआई दिइसकेपछि पनि अन्तिम स्वीकृतिका लागि प्रक्रिया पूरा नगर्दा यी संस्थाहरुको मर्जर रद्द हुने प्रक्रियामा छ ।
यसैगरी, गत आवको असोज महिनादेखि मिरमिरे लघुवित्त र सिर्जना लघुवित्तका साथै स्वास्तिक लघुवित्त र समाज लघुवित्त मर्जरको पाइपलाइनमा छन् ।
साथै सोही महिनादेखि गरिमा विकास बैंकले साहरा विकास बैंकलाई प्राप्ति गर्नका लागि अन्तिम स्वीकृतको पर्खाइमा छन् । यी संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।
यस्तै गत आवदेखि नै मर्जर तथा प्राप्तिको पाइपलाइनमा डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्न, इन्फटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्न र आरम्भ लघुवित्तले बीपीडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्न आवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् ।
साथै, वीन लघुवित्त र नेपाल सेवा लघुवित्तबीच मर्जरको प्रक्रिया समेत गत वर्षदेखि नै पाइपलाइनमा छ । मर्जर तथा प्राप्तिको पाइपलाइमा भएका सबै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एलओआइ दिइसकेको छ ।
त्यसैगरी विजया लघुवित्त र खप्तड लघुवित्त, स्वस्तिक लघुवित्त र समाज लघुवित्त संस्था पनि मर्जरका लागि स्वीकृतिको पर्खाइमा छन् ।
एलओआइ पाइसकेर ३ महिनाभित्र पनि एकीकृत कारोबारलाई माग गरिएको कागजात पेश नगर्ने संस्थाको मर्जरको आवेदनलाई राष्ट्र बैंकले रद्द गराउने राष्ट्र बैंकले जनाएको छ ।