स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड, यसवर्ष बचत दोब्बर

बैंकिङ खबर/स्वीस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको हो । स्वीस नेसनल बैंकमा गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने गरिन्छ ।

यस वर्ष नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको विवरणमा उल्लेख छ ।
हालै सार्वजनिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो । २२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । यो बचत कसको र कति जना नेपालीको हो भन्नेबारे स्वीस बैंकले सार्वजनिक गर्दैनन् ।

स्वीस बैंकले बचतकर्तालाई उच्चस्तरको गोपनीयता कायम गरिदिन्छन् र कमस्तरको वित्तीय जोखिमको व्यवस्था गरेका छन् । गम्भीर प्रकारका अपराध, करछली, भ्रष्टाचार, मानव तथा हतियार बेचबिखनलगायत गैरकानुनी कार्यबाट आर्जित रकम राखिदिने गरेको आरोप स्विस बैंकमाथि छ ।

स्वीस बैंक के हो ? किन राख्छन् धनाढ्यहरुले पैसा ?

स्विजरल्याण्डका बैंकले दिने ब्याज जम्मा १ दशमलव ७ प्रतिशतको अनुपातमा रहेको छ । यो समयको बिचमा एकताका हाल सम्मकै सबैभन्दा बढि ब्याज अर्थात् ३ दशमलव ५० प्रतिशत मात्र दिएको थियो । तर पनि संसारका धनाढ्यहरुले किन आफ्नो रकम राख्न स्विस बैंक रोज्छन् ? संसारभरका मुलुकमा पुँजी लगानी गर्ने शक्तिशाली मानिएको विश्व बैंकलाई समेत चुनौति दिने स्विस बैंकका केहि ‘खास’ विशेषताहरु छन् ।  

तुलनात्मक रुपमा सुरक्षित 
कुनै पनि देशको बैकिङ क्षेत्र भनेको त्यस देशका जनताहरूलाई चाहिने वित्तीय सेवा प्रदान गर्ने निकाय हो । सुरक्षित, भरपर्दो तथा विश्वासिलो तवरबाट पैसा जम्मा गर्न र आवश्यक पर्दा गर्जो टार्न सक्ने क्षमता बैंकसँग हुन्छ, भन्ने आम मानिसको बुझाई पनि छ । विश्वका हरेक देशसँग आ–आफ्नो प्रक्रियाबाट सञ्चालन हुने बैंकहरु छन् । यिनीहरुले आफ्नो देशको कानुनमा रहेर आफ्ना काम तथा कार्वा्िह सञ्चालन गरेका हुन्छन् । हरेक बैंकले आफ्नो बैंकिङ च्यानलबाट गरेको कारोबार सुरक्षित हुन्छ, भनेर विज्ञापनिक सामाग्रीहरुबाट प्रचारप्रसार गर्ने गरेका हुन्छन् । यद्यपी बचतकर्तालाई कम ब्याजदर लगाउने र ऋण प्रवाह गर्दा मँहगो ब्याजदर लगाउने परिपाटिबाट बैंकहरु मोटाएका हुन्छन् भन्ने टिकाटिप्पणी पनि बेलाबखतमा आउने गरेको छ । यता बचतकर्ताले पनि आफ्नो रकम सुरक्षित होओस् भनेर ढुक्कसँग बैंकलाई जिम्मा दिएका हुन्छन् । हामीले बेलाबखतमा सुनेका छौँ – विभिन्न समयमा बैंकहरु लुटिएका, चोरी भएका, अत्यावश्यक पर्दा एटिएम नै नचलेका, बन्द भएका, त कहिलेकाहिँ एकाउन्ट नै ‘ह्याक’ भएका घटनाहरु । हो, यि यस्ता दोहोरीरहने घटनाबाट र संभावित समस्याबाट मुक्ति पाउन संसारभरका धनाढ्यहरुको रोजाईमा पर्ने गरेका छन्न् स्विस बैंक अर्थात् स्विजरल्याण्डका बैंकहरु । 

कालोधन सुरक्षित र गोप्य राखिने
स्विस बैंकमा राखिएको अधिकांश रकम कर छली, भ्रष्टाचार, अवैध कारोबार, तथा अन्य आयस्रोतबाट आएका अतिरिक्त पैसा नै हो । यस्ता अवैधानिक बाटोबाट आएको अकुत सम्पत्ति लुकाउने ठाउँ स्विस बैंक नै हो । विश्वमा आर्थिक रुपले समृद्ध मानिएको मुलुक अमेरिकाका धनाढ्यहरुले समेत अकुत सम्पत्तिको कर छल्नका लागि स्वीस बैँक नै प्रयोग गर्ने गरेको बताइन्छ । भारतीय व्यापारी तथा केही पुर्व राजनीतिज्ञहरुको मात्रै ५ सय ४३ दशमलव ५४ विलियन डलर कालो धन स्विस बैंकमा रहेको अनुमान गरिएको छ । एकताका भारत सरकारले कालो धनको छानविन गर्ने घोषणा गरेपछि चार बर्ष भित्र १४ हजार करोड रुपैंया रकम स्विस बैंकबाट झिकिएको तथ्य फेला परेको थियो । निकै ठुलो अर्थतन्त्र भएको मुलुक भारतमा रहेको पैसाको करिब दुई तिहाइ पैसा स्विजरल्याण्डका दुइवटा बैंकसँग मात्र रहेको  बताईन्छ । यसबाहेक अन्य युरोपियन मुलुकका अवैध पैसा आर्जन गर्ने धनाढ्यहरु पनि स्विस बैँकमा पैसा राख्न पाउँदा गोपनियता र सुरक्षाका हिसाबले लोभिने गरेको तथ्यांकहरु सार्वजनिक भएको एजेन्सीहरु बताउँछन् । 

संसारमै नभएको नियम 
हामीलाई थाहा छ, संसारका हरेक देशको पुलिस प्रशासन, राजस्व विभाग तथा अदालतले आवश्यक परेमा जुनसुकै खातावाला व्यक्तिका बारेमा पनि आवश्यक जानकारी लिन सक्छ । तर बैंकिङ सम्बन्धि स्विजरल्याण्डको कानुन अन्य देशभन्दा फरक किसीमको छ । स्विजरल्याण्डमा संघीय बैंक नियन्त्रण आयोग बाहेक कुनै पनि निकायले खातावालाको बारेमा जानकारी माग्न सक्दैनन् । ‘स्विस बैंकिङ एक्ट १९३४’ मा बैंकले खातावालाको अनुमतिबिना खाता नम्बर पनि सार्वजनिक गर्दैनन् । सन्  १९३४ मा कानुन लागु भएपछि देशको संघीय बैंक नियन्त्रण आयोगले मात्र सामान्य निगरानी गर्न सक्ने भनिएको छ । त्यस कारण पनि अकुत सम्पत्तिवालाहरुको एउटै गन्तव्य बन्ने गरेको छ स्विस बैँक ।

स्रोतको छानविन नहुने
संसारको बैंकहरु भन्दा फरक किसीमको अधिकार राखेको स्विस बैंक यस्तो बैंक हो, जहाँ रकम राखेपछि हराउने, एकाउन्ट ह्याक हुने, लुटिने, छानबिन हुने लगायतका कुनैपनि समस्या हुँदैन । त्यसकारण पनि यदि कसैले भ्रष्टाचार गरेर वा अन्य अवैधानिक बाटोबाट कमाएको रकम स्विस बैंकमा जम्मा गर्यो भने छानविनको लागि स्विस बैंकले सबै ढोका बन्द गरेको हुन्छ । आफूले कमाएको अकुत सम्पत्ति सुरक्षित तरीकाले बैंकमा राख्नको लागि पनि धनाढ्यहरु मरिहत्ते गर्छन् । त्यसकारण संसारभरीकै अधिकांश भ्रष्टाचार गरेको पैसा, कालो धन, अवैधानिक बाटोबाट आर्जन गरेको अतिरिक्त पैसा स्विस बैंकमा राखिन्छ ।

 


सोसिअल मेडिया