बैंकिङ खबर/ मानिसहरु डकुमेन्ट जुटाउन झन्झट मान्छन् । बैंकसम्म गएर राम्ररी बुझ्न पनि चाहाँदैनन् । त्यसपछि सजिलै र सिधै कर्जा पाइयो भन्दैमा महंगो व्याज तिरेर साहुबाटै ऋण लिन्छन् । अनी समस्या त महंगो व्याजले पो बनाउँछ ।
नेपालका ग्रामीण भेगहरुमा अझै पनि साहुबाट ऋण लिने प्रवृति हटेको छैन । साहुबाट ऋण लिँदा महंगो प्रतिशतमा व्याज तिर्न बाध्य हुने गर्दछन् । यस्तै उत्तरी गोरखाको मनास्लु पदमार्ग रहेका व्यवसायीहरु पनि त्यस्तै समस्यामा परेका छन् । ३६ प्रतिशतसम्म ब्याजमा ऋण लिएर व्यवसाय सुरु गरेका तथा क्षमता वृद्धि गरेका व्यवसायीहरू कोरोनाका कारण एक वर्षदेखि होटल बन्द हुँदा अहिले बिचल्लीमा परेका छन् । मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरूमा नयाँ होटल व्यवसायीहरू थपिन थाले । पुराना होटल सञ्चालकहरूले पनि होटलको क्षमता बढाउन थाले ।
व्यबसायीहरुले स्थानीय साहु महाजनसँग महंगो व्याजमा ऋण लिए । पर्यटन बर्षको उल्लासले मानिसहरुको आगमन थामीनसक्नु हुन थाल्यो । तर पर्यटन बर्ष सुरु हुन नपाउँदै गतबर्ष कोरोना महामारी भयो, बल्ल बल्ल पहिलोचरणको कोरोना महामारी थेगेका यहाँका व्यबसायीहरु दोस्रो चरणको महामारीमा भने रुनु न बाँच्नु भएका छन् । साहुको महंगो व्याज, कोरोनाका कारण विचल्ली हुनुपर्ने अबस्था छ । पर्यटन क्षेत्रलाई लक्षित गरेर खुलेका होटलहरु कतिपय बन्द भइसकेका छन् भने कतिपय गर्नुपर्ने अबस्थामा छन् ।
एक वर्षदेखि व्यवसाय ठप्प हुँदा ‘रुनु न हाँस्नु’को अवस्थामा पुगेको जगतका होटल व्यवसायी गणेश कार्की बताउँछन् । पर्यटकलाई आवश्यक सेवा दिन नसकेपछि जति ब्याज तिर्नु परे पनि तिरुँला भनेर हिम्मत गरेर ऋण खोजेर होटलको क्षमता बढाएपनि कोरोनाका कारण समस्यामा परेको उनको भनाइ छ । ३६ प्रतिशत ब्याज तिर्ने सर्तमा साहुसँग ऋण लिएको उनको भनाइ छ । उनले सयकडा तीन रुपैयाँमा १ लाख ६० हजार रुपैयाँ ऋण लिएको थिए । २ लाख ४० हजार त ब्याज मात्रै तिरिसकेको उनको भनाइ छ । दिनदिनै माग्ने गरेको र नतिरौं भने ब्याजको स्याज दोब्बर, तेब्बर बढ्दै जाने डरले साह्रै समस्या भएको उनको गुनासो छ । उनी त एक उदाहरण मात्र हुन् । अहिले गोरखा मनास्लु क्षेत्रका प्रायः होटल व्यवसायीको साझा समस्या यहि नै छ । ३६ प्रतिशत ब्याजमा ऋण लिएर नतिरेको बारे धमाधम उजुरी आइरहेको चुमनुब्री गाउँपालिका ३ का वडाअध्यक्ष रामकुमार गुरुङ बताए । ‘पर्यटक ह्वात्तै आउन थाले । राख्ने ठाउँ भएन । अनि ब्याज जति तिर्नु परे पनि तिरौँला भनेर साहुसँग ऋण लिएर होटल थपे । अहिले होटल सबै बन्द भए । ऋण तिर्न सकेनन् अनि पैसा तिरेनन् भनेर साहुको धमाधम उजुरी आउन थालेको छ’, गुरुङले भने, ‘ब्याज पछि सकेका बेला तिरौंला । अहिले सावाँ मात्र भए पनि तिर भनेर मेलमिलाप गरेर पठाएको छु ।’
बैंकले लगानी नगरेको गुनासो
पर्यटकीय क्षेत्रमा होटल सञ्चालन गर्न चाहनेलाई बैंकले लगानी नगर्दा व्यवसायीहरू साहुसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएको व्यवसायी गणेश कार्की बताउँछन् ।
उनी भन्छन्, ‘सहर बजारमा झैँ हाम्रो क्षेत्रमा पनि बैंकले कर्जा लगानी गरेको भए यहाँका व्यवसायीलाई धेरै सुविधा हुन्थ्यो । चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा एउटा कुमारी बैंक त छ, तर त्यसले काउन्टर खोलेर बसेको मात्र हो, केही सेवा दिँदैन ।’ लगानीकर्तालाई सरकारको साथ नभएको उनले गुनासो गरे। सो बैंकले गाउँपालिकाको कारोवार पनि नगर्ने स्थानीयवासीको गुनासो छ । बैंकले गाउँपालिकाको कारोबार नगर्दा उपभोक्ता समितिहरू आर्थिक वर्षको अन्त्यमा सात दिनसम्म पैदल हिँडेर सदरमुकाम गोरखा बजार पुग्छन् ।