Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

संक्रमणको सन्त्रास पालेर किन जानु बैंक ? मोवाइलमै छ त सम्पूर्ण बैंकिङ सुविधा !

२०७८ जेष्ठ ४ गते

बैंकिङ खबर । कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो ।

वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन सक्छ । यसै कारणले गर्दा त नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्तीय संस्था संघले डिजिटल कारोबार गर्न भनेका छन् । यसको खास कारण बैंकमा भिडभाड नगरौ भनिएको हो । अहिले एटीएमबुथहरु जताततै छन् । प्रसस्त मात्रामा एटीएम भएका कारण बैंकमा भिडभाड नगर्नका लागि एटीएम कार्डको प्रयोग धेरै प्रभावकारी हुनसक्छ । यसरी एटीएम कार्डको प्रयोग बढाउँदा एकातिर बैंकमा भिड लाग्नु नपर्दा कोरोनाको संक्रमणको खतरा कम भयो भने अर्कातिर एटीएम कार्डको प्रयोग जहाँबाट पनि गर्न सकिने भयो ।

मोबाइल बैँकिङ :

बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको पाइन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा आजको व्यस्त समाजमा मोबाइल बैँकिङ निकै नै फाइदाजनक रहेको सरोकारवालाहरु बताउँछन् । यद्यपि, कतिपय बैँकहरुले मोबाइलबाट गर्ने वित्तिय कारोबारमा निश्चित दायरा बनाएका हुन्छन् । 

मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु

  • एकाउन्ट र कारोबारका बारेमा जानकारी
  • आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
  • रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
  • आफ्नो बैँकिङ कारोबारबारे एसएमएसमार्फत जानकारी प्राप्त गर्न सकिने
  • विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने

मोबाइल बैँकिङका फाइदा तथा बेफाइदाहरु
आफ्नो मोबाइल अथवा ट्याबलेटबाट नै सम्पूर्ण बैँकिङ कारोबार हुने भएकाले यसले समयको बचत गराउँछ । चौबिसै घण्टा उपलब्ध हुने यो सेवाका कारण मानिसले जुनसुकै समयमा पनि बैँकिङ कारोबार गर्न सकेका छन् । मोबाइल बैँकिङको प्रयोगबाट बिल तिर्ने, एक व्यक्तिको एकाउन्टबाट अर्को व्यक्तिकोमा पैसा ट्रान्सफर गर्ने लगायतका सेवाहरु लिन सकिन्छ । मोबाइलबाट नै आफ्नो एकाउन्ट चेक गरिरहन मिल्ने हुँदा सर्वसाधारणलाई निकै सहज भइरहेको छ । मोबाइल बैँकिङका कारण उपभोक्ताहरुको बैँक जानुपर्ने आवश्यकतामा विस्तारै कम हुँदै गएको छ । मोबाइल बैँकिङबाट चेक अथवा पैसाको प्रत्यक्ष कारोबार गर्न नमिल्ने हुँदा उपभोक्ताले बैँकको शाखा अथवा एटीम नै जानुपर्ने वाध्यता भने अझै पनि रहेको छ । 

यसरी विकास भयो मोबाइल बैँकिङको अवधारणा
मोबाइल बैँकिङको पहिलो चरणको रुपमा एसएमएस बैँकिङलाई लिने गरिन्छ । सन् १९९९ मा स्मार्ट फोनको प्रचलन आएसँगै मोबाइल वेभको अवधारणा सुरु भयो । युरोपियन बैँकहरुको मोबाइल वेभको प्रयोगको सुरुवात गरेका थिए । प्रविधिको विकाससँगै एनरोइड सिस्टमको विकास तथा विस्तारले विभिन्न एनरोइड एपहरु जन्मायो र मोबाइल बैँकिङको अवधारणालाई विकास एवम् विस्तार गर्न मद्धत गर्यो ।

मोबाइल बैंकिङ उपयोगिताहरु :
अहिले आफूले जागीर गरेको तलब हातमा थापिरहनु पर्दैन, सीधै बैंकमा जम्मा हुन्छ । शेयर खरिद गर्नका लागि घन्टौँ लाइन बस्नुपर्ने समस्या पनि छैन । सीधै अनलाइनबाट शेयर खरिदविक्री गर्न सकिन्छ । बैंक खाता खोल्नका लागि समेत बैंकसम्म धाउनु पर्ने छैन । बैंकहरुले अनलाइनबाटै खाता खोल्न मिल्ने सुविधा ल्याएका छन् । एउटा बैंक खाताबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न पनि बैंक जानुपर्दैन ।

सपिङ पनि अनलाइनबाट गर्न सकिन्छ । उक्त सामानको रकम भुक्तानी पनि बैंक खाता मार्फत सीधै गर्न सकिन्छ । मोबाइल वालेटबाट रकम भुक्तानी गर्दा अझ छुट पनि पाइने व्यवस्था छ । इन्टरनेटको व्यवस्था भएपछि मोबाइलमा सबै सेवा सुविधा अटाएका छन् । बैंक मात्र हैन प्रयोग गर्न जाने सींगो अर्थतन्त्र नै मोबाइलमा अटाउँछ । अनलाइनबाट शिक्षा लिन सकिन्छ, स्वास्थ्य सम्बन्धी जानकारी लिन सकिन्छ । अनलाइन क्लासहरु उपलब्ध हुन्छन् । सरकारी जागीरका लागि अनलाइनबाटै एप्लाई गरी रकम भुक्तानी गर्न सकिने व्यवस्था छ ।

यद्यपि, आफूले चाहेजति रकमको कारोबार गर्न सकिन्छ भन्ने हुँदैन । कारोबारको सुरक्षाका निम्ति राष्ट्र बैंकले एटिएममा जस्तै यस्ता कारोबारहरुमा पनि अधिकतम र न्युनतम सीमा निर्धारण गरिदिएको हुन्छ ।

मोबाइल बैंकिङमा के छ मापदण्ड ?
मोबाइल बैंकिङबाट प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ भने मासिक दुइृ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा भने बढी कारोबार पनि गर्न पाइन्छ । क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यही व्यवस्था लागू हुन्छ ।

इन्टरनेटबाट १० लाखसम्म
इन्टरनेट बैंकिङबाट एक दिनमा १० लाख रुपैयाँसम्म र मासिक अधिकतम ३० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । यस माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ भने मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइँदैन । कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा भने जति पनि रकम रकमान्तर गर्न सकिन्छ ।

मोबाइल वालेटमा एक लाख
मोबाइल वालेटमा बैंक खाताबाट मासिक पाँच लाख र एक दिनमा एक लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइन्छ । वालेटबाट अन्य बैक वा अर्को वालेटमा प्रतिदिन २५ हजार र मासिक ५० हजार रुपैयाँसम्मा ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।

सरकारलाई तिर्ने रकम
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरूको हकमा सीमाले बाधा पुग्दैन । यस्ता शूल्कहरु बीलअनुसार मोबाइल बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरू, खानेपानी सेवा, शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता, बिमा प्रिमियम, धितोपत्रसम्बन्धी कारोबारलगायत सेवाको आवधिक रूपमा भुक्तानी गर्नुपर्ने शुल्कहरूमा पनि सीमा तोकिएको छैन । यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रविधिको विस्तारले कारोबार गर्न सहज र छिटो हुनुका साथै पारदर्शीता पनि बढेको छ । प्रयोग गर्न नजान्दा केही अप्ठ्याराहरु पनि छन् । तर, सदुपयोग गर्न जान्ने हो भने प्रविधिले मानव जीवनमा निकै सुविधा ल्याएको छ । घरमै बसीबसी सम्पूर्ण कारोबार गर्न सकिने वातावरण बनेको छ ।

वालेट र क्यूआर कोडको प्रयोग : 
पछिल्लो समय वालेट र क्युआर कोडको प्रयोग बढ्न थालेको छ भने यो धेरै सहज पनि बन्दै गएको छ । रकम भुक्तानीका लागि यो विधि उत्तम मानिन्छ ।

क्यूआर कोड के हो कसरी प्रयोग गर्ने ?
क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ । जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।
क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।

तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् । रकम भुक्तानीमा रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ । सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा अनिवार्य आवश्यकता बनिसकेको छ । क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ । दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।

क्युआर कोड प्रयोगका धेरै फाइदा छन्  :

यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ ।

यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ । यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ । कोभिडका कारण हामीले जुन समस्या भोग्नुप¥यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ । नगदमा हुने कारोबार धेरै खालका विकृतिको जड हो, चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् । नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरु हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ ।

मोवाइल वालेट : मोबाइल मनी भनेको मोबाइलबाटै कारोबार गर्न सकिने व्यवस्था हो । यो विद्युतीय वालेट सेवा हो । मोवाइल पेमेन्ट सिस्टम अन्तरगत मोवाइल वालेट डिजिटल फाइनान्सको सबैभन्दा लेटेस्ट, विकसीत र सरल प्रविधि हो । यस सेवामा प्रयोगकर्ताले आफ्नै मोबाइल प्रयोग गरी बैङ्क खातामा वा आफ्नै मोबाइल खातामा पैसा जम्मा गर्न, अरूलाई पैसा पठाउन र अरूबाट पैसा प्राप्त गर्नेलगायत कार्य गर्न सक्छन् । यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, टीभी, विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ । त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण हरेकजसो चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले प्रयोग गर्न सकिने प्रविधि हो । यसका लागि मोवाइल फोन भएपछि अरु केही आबश्यक पर्दैन । यो सेवा जुनसुकै फोनमा पनि प्रयोग गर्न सकिन्छ ।

Ad