बैंकिङ खबर । नविल बैंक र चौधरी फाउन्डेसनले वीर अस्पतालमा कोभिड रोकथामका लागि लगानी गर्ने भएका छन् । चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। त्यसैगरी नविल बैंकले अक्सिजन प्लान्ट स्थापनाका लागि हस्ताक्षर गरेको छ । फाउन्डेसनकातर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र प्रतिष्ठानका उपकुलपति प्राडा देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ। वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो। अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ। चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा सन्तोष लागेको बताए। नबिल बैंकका सीइओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने बताए।
बैंक-वित्त
नविल बैंक र चौधरी फाउन्डेसनले वीर अस्पतालमा आईसीयू र अक्सिजन प्लान्ट राख्ने
२०७८ जेष्ठ ४ गते