May 16th, 2021

‘अब सहकारीहरु मर्जरमा जानु आवश्यक छ’

केवी उप्रेती
अध्यक्ष, राष्ट्रिय सहकारी बैंक

सरकारले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूलाई मर्जरमा लैजाने लक्ष्यसहित बजेट समेत ल्याउने गरेको छ । सहकारीमा बचत तथा ऋणको कारोबार बढ्दै गएपछि सोही अनुसार सुशासन र अनुगमन हुन नसक्दा सहकारीको कारोबारमा जोखिमसमेत बढ्दै गएको छ । यसअघि सहकारी विभागले सहकारीको मर्जरका लागि मर्जर निर्देशिका समेत जारी गरेको थियो । यस बीचमा कति सहकारी संस्थाहरु मर्जरमा गएका छन् भने केहि जाने तरखरमा रहेका छन् । यसै विषयमा केन्द्रित रहेर बैंकिङ खबरले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीसँग कुराकानी गरेको छ ।

अहिलको अवस्थामा समग्र सहकारी क्षेत्रको अवस्था कस्तो देख्नुभएको छ ?

अहिले अन्यौल नै छ । कोरोनाको कारण जारी निषेधाज्ञा खुल्ने नखुल्ने, पास दिने कि नदिने ?, निषेधाज्ञा कहिलेसम्म चल्छ, त्यो पनि निश्चित छैन् । यस्तो अवस्थामा कोहि साथीहरुले थोरै कर्मचारी राखेर सहकारी खोल्नुभएको छ । कोहि आउँदा आउँदै फर्किनु भएको छ । कोहि एक, दुई घण्टा खोल्नुभएको छ ।
राष्ट्रिय सहकारी बैंकको बैंठकमा पनि हामीले निषेधाज्ञामा प्रदेश–प्रदेशमा समन्वय गर्ने भनेर बोर्ड संयोजकहरुलाई जिम्मा लगाएका छौं । हामीले त्यसमा सहकारीको वित्तिय अवस्था कस्तो हुन्छ ?, तरलताको अवस्था के छ ?, कोभिडको कारणले के हुन्छ ?, कसरी सुरक्षित गर्ने, सचेतना गराउने, उनीहरुको समस्याहरु संकलन गर्ने निर्णय गरेका छौं । प्रदेशभरिको संकलन गर्ने र के के समस्या आउँछ ? समस्या समाधान गर्नका लागि केन्द्रमा पठाउने भनेका छौं ।
कोरोनाका कारण निषेधाज्ञा हुँदा वित्तीय असर त पर्ने नै भयो । बन्द छ । कतिपय उत्पादनसँग, वितरणसँग, प्रशोधनसँग समाहित गर्न सकिँदैन । रोजगारीमा अन्योलता छदैछ । तर पनि कोभिडका कारणले देखिने समस्याहरुमा के के समस्या देखिन्छन् ? कसरी समाधान गर्ने भन्ने बारेमा हामिले हाम्रो नेटवर्कलाई सञ्चालन गरिरहेका छौं ।

निषेधाज्ञामा राष्ट्रिय सहकारी बैंकसँग आम्बद्ध संस्थाहरु सुचारु छन् ?
अधिकांश सुचारु छन् । केहि केहि स्टापलाई पोजेटिभ देखियो भने, कर्मचारीहरु टाढाबाट आउने भएभने बन्द भएका बाहेक अधिकांश खुल्ला छन् ।

राष्ट्रिय सहकारी बैंकका कति सहकारी आवद्ध छन् ?

हामी करिब १३ हजार प्लस छौं ।

राष्ट्रिय सहकारी बैंकमा नयाँ सहकारी आवद्ध हुन के गर्नुपर्छ ?

एक हजार रुपैयाँको सेयर खरिद गरे भने संस्था दर्ताको प्रमाणपत्र, शुरुमा त्यति भए हुन्छ । अरु सञ्चालक समितिको निर्णय, विनियमहरु पछि पेश गर्ने हो । मुख्य एक हजारको शेयर, पाँच सय प्रवेश शुल्क र संस्था दर्ता प्रमाणपत्र भयो भने सदस्य बन्न सकिन्छ ।

राष्ट्रिय सहकारी बैंकसँग आम्बद्ध भएपछि कस्ता किसिमका वित्तीय सेवा पाउँछन् ?

एउटा वित्तीय सेवा भयो । अर्को आवश्यकता भयो भने कर्जा प्रवाह गर्ने, डिपोजिट लिने, शेयरको लाभांश गोलाप्रथा गराउने, प्रविधिलाई जोड्ने, क्षमता विकासका कार्यक्रहरुसँग जोड्ने, अन्तर्राष्ट्रिय सम्बन्धमा बाहिर जानु पर्‍याे भने सिकाउने, विभिन्न लविङ एड्वोकेसीका कुरा, आवश्यक ऐन नियम परिमार्जनमा सहयोग गर्ने । सहकारीको विकासमा, सहकारीको प्रवद्र्धनमा सहयोग पुर्‍याउनका लागि र वित्तीय क्षति नहुने गरि हामीले लाभांश १५ प्रतिशत पुर्‍यायौँ । त्यसकारण कर्जा त्यहि हिसावले कम व्याजमा दिन्छौं । डिपाेजिटमा अरु ठाउँभन्दा व्याज अलि बढी दिन्छौं लाभान्वित भन्ने कुराहरु यिनै हुन् ।

तपाईहरुले कस्तो खालको डिजिटलाईजेश प्रयोग गरिरहनुभएको छ ?
हाम्रो नेपाल पेमेन्ट सोलुसन भन्नेसँग सहकार्य गरेर हामी टेस्टिङ फेजमा छौं । सहकारीहरु बैंकमा एटिएम हुँदैन । किनभने एकैचोटि १० लाख, २० लाख, ५० लाख निकाल्नुपर्छ । हाम्रोमा त्यति हुँदैन । हाम्रा सदस्यहरुले एटिएम राख्न चाहेभने हामिले सहजिकरण गर्दिन्छौं ।

सहकारी मर्जरको अवस्था कस्तो छ ?
सहकारी मर्जर आवश्यक छ । हामीले पनि उपसमिति निर्माण गरेका छौं । मर्जर गर्नेलाई केहि केहि छुट दिने कार्यक्रम थप गर्दैछौं । त्यसकारण यसलाई प्राथमिकताका साथ अगाडि बढाएका छौं । जो मर्जरबाट अगाडि बढेका छन् । त्यसको रिजल्ट सकारात्मक पाइएको छ । विशेष त उनीहरुको मन मिल्ने विषय मिल्ने, सहकार्य हुन सक्ने यस्तो संस्थासँग मर्जको अभियानहरु अघि बढेको छ ।
हामिले यसको समन्वय गर्छौ । त्यो ढंगले अगाडि बढेको छ । सकारात्मक परिणाम आइरहेको छ । सहजै छ । कार्यविधि अलि जटिल छ । मै अध्यक्ष भएको संस्थाले पनि यस वर्ष ६ वटा संस्था मर्ज गर्‍याैँ । २०७२ सालमा १६ वटा मर्ज गर्यौँ ।
कार्यविधिमा अलि जटिलता छ । कार्यविधिमा साधारण सभा गर्नुपर्ने, पटक पटक निर्णय गरिरहनुपर्ने । केहि केहि झन्झटिला कुराहरु छन् । ति कुराहरुलाई थप सहज गर्नुपर्छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]