रामहरि उप्रेती, इच्छुमती तरकारी बजार, काठमाडौं
मेरो घर काभ्रे हो । इच्छुमती तरकारी बजारमा पसल सञ्चालन गर्दै आएको २५ वर्ष भयो । कोड राखेको डेढ महिनाजति भयो । क्युआर कोडबाट पैसा भुक्तानी गर्न सबैलाई सहज हुन्थ्यो तर यहाँ वाइफाई छैन । मान्छेहरू डाटा खोलेर पैसा हाल्न भनेर झन्झट मान्छन् ।
वाइफाई भएको भए सबैले यही प्रयोग गर्थे होलान् तर यहाँ वाइफाई छैन । वाइफाई नभएपछि यो प्रणाली चल्दो रहेनछ । डाटा खोली खोली कसले हालोस् । वाइफाई भएको भए ग्राहकले धेरथोर पैसा यहीँबाट तिर्थे । विस्तारै बानी लाग्थ्यो । कसै–कसैले पैसा ल्याउन बिर्सिएछु भनेर डाटा खोलेर पनि यसैबाट तिर्दै आएका छन् । क्युआर कोडको प्रयोग एकदमै राम्रो हो । यसको प्रयोग बढेमा एकदमै सहज हुन्थ्यो ।
यहाँ साढे दुई सय स्टलमध्ये दुई सयवटामा क्युआर कोड राखिएको छ । तर, वाइफाईको सुविधा भने छैन । वाइफाई भए ग्राहकलाई विद्युतीय माध्यमबाट तिर्ने उत्साह बढ्छ र विस्तारै बानी पर्छ । मान्छेहरू पढेका छैनन्, तरकारी किन्न बुढाबुढी आउनुहुन्छ । उहाँहरू यसको प्रयोगमा अभ्यस्त हुनुहुन्न । वाइफाई भयो भने पढेलेखेका मान्छे आए भने यसको प्रयोग गर्छन् । हामीलाई पनि सजिलो हुन्थ्यो ।
अहिले क्युर कोडका प्रयोगकर्ता खासै छैनन् । दैनिक दुई–तीनजना मात्र क्युआर कोड छैन रु भन्नै आउँछन् । हामीले पनि खासै वास्ता गरेका छैनौँ । तैपनि दैनिक ६–७ जनाले यसमार्फत कारोबार गर्छन् । कोही–कोहीले डाटा खोलेर तिर्छन् । पैसा ल्याउन बिर्सिएको अवस्थामा पनि यो धेरै सहज छ तर मान्छेहरूले बुझेका छैनन् ।
कोरोना महामारीको अवस्था छ । यसलाई सदुपयोग गर्न सकेमा हामीलाई धेरै राम्रो हुन्छ । चानचुन पैसा दिनु पनि परेन, पैसाको कारोबार पनि भएन, झन्झट पनि हुँदैन ।
नेपालमा अहिले भर्खरै यो क्युआर कोड प्रयोगमा आउँदै छ । यसको प्रयोग व्यापक हुन समय लाग्छ । विस्तारै प्रयोगमा आउँछ किनकि अहिले सबैसँग राम्रो खालको मोबाइल पनि हुँदैन । धेरै मान्छेले पढेका पनि छैनन् । हामीलाई नै पहिले यसबारे थाहा थिएन । बैंकको मान्छे आएर सबै सिकाउनुभयो ।