२०७३ भाद्र ३ गते

कसमस डेभलपमेन्टले कमायो डेढ करोड मुनाफा

cosmosकसमस डेभलपमेण्ट बैङ्कले गत आर्थिक वर्षमा १ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६१.२६ प्रतिशतले बढेको हो । सञ्चालन नाफा ५८ दशमलव ५६ प्रतिशत र खुद ब्याज आम्दानी ३२ प्रतिशत बढेपछि खुद मुनाफा बढेको हो । 

सो अवधिमा कसमसले ६३ करोड १४ लाख रुपैयाँ कुल निक्षेप सङ्कलन गरी ४९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ३१ प्रतिशत बढेर ६ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने ब्याज खर्च ३० प्रतिशतले बढेर ३ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्मचारी खर्च २१ दशमलव ७९ प्रतिशत र कुल सञ्चालन आम्दानी २९ दशमलव ३५ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च ६ दशमलव २१ प्रतिशत घटेको छ । 

बैंकले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा दुई गुणा बढाएर २ करोड ४२ लाख रुपैयाँ राखेको छ । एक वर्षको अवधिमा बैंकको स्थिर सम्पत्ति ८ दशमलव ६३ प्रतिशत घटेको छ भने अन्य सम्पत्ति करीब ४५ प्रतिशत बढेको छ । सो अवधिमा १५ लाख ९५ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ४७ प्रतिशत बढाएर २९ लाख ९७ हजार रुपैयाँ छुट्याएको छ । 

हाल, बैंकको पूँजीकोष लागत ५ दशमलव ९४ प्रतिशत र पूँजीकोष पर्याप्तता १३ प्रतिशत रहेको छ । सीडी रेशियो ७० दशमलव ७६ प्रतिशत रहेको छ भने तरलता अनुपात ३९ गुणा, प्रतिशेयर आम्दानी ३० दशमलव ४६ र मूल्य आम्दानी अनुपात २४ गुणा रहेको छ ।