२५ प्रतिशत कर्मचारीले सम्भव छैन बैंकिङ शाखा चलाउन

बैंकिङ खबर/ उपत्यकामा निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । गत साताको बिहीबारदेखि निषेधाज्ञाका बीच बैंकवित्तले चार दिन सेवा दिइसकेका छन् । सार्वजनिक तथा निजी यातायातका साधनहरू, प्रायः व्यापार–व्यवसाय तथा सर्वसाधारण सेवाग्राहीको हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको र विद्युतीय कारोबार तुलनात्मक रूपमा बढ्दै गएका कारण बैंकवित्तहरू खुले पनि सेवाग्राहीको खासै चाप भने देखिएको छैन । बढी चाप हुने शाखाहरूमा ४०–५० प्रतिशतजति सेवाग्राही आइरहेका छन् भने कुनै कुनै शाखामा यो संख्या १० प्रतिशतमा सीमित छ । साविकमा औसत डेढ सयभन्दा बढी ट्रान्जेक्सन हुने गरेको शाखामा सोमबार ८६ वटा ट्रान्जेक्सन भएको एक बैंकरले बैंकिङ खबरलाई बताए ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको एक शाखाबाट भने सोमबार साविकको तुलनामा करिब १० प्रतिशत मात्र सेवाग्राहीले सेवा लिए । ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा सञ्चालन गरिएको उक्त शाखामा निषेधाज्ञापछि न्यून संख्यामा मात्र सेवाग्राही आउने गरेका छन् ।

‘सोमबार ६–७ वटा ट्रान्जेक्सन मात्र भएका छन्,’ शाखा प्रबन्धकले बैंकिङ खबरसित भने, ‘साविकमा औसत ७५ जनाले सेवा लिने गरेका थिए ।’ बैंकका कर्मचारीमा पनि कोभिडको संक्रमण बढिरहेकाले कर्मचारीहरु काम गर्न डराइरहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवाप्रवाह गर्न भनेको छ नि त ? भन्ने जिज्ञासामा ती शाखा प्रबन्धकले भने, ‘दुईजना मात्र ग्राहक आए पनि उहाँहरु कुन सेवाका लागि आउनुहुन्छ भन्ने निश्चित छैन । साविकका सबै सेवा सुचारु गर्नुपर्ने भएपछि साना शाखाहरुमा २५ प्रतिशत कर्मचारीले काम चलाउन सकिने अवस्था रहँदैन । जम्मा ७–८ जना कर्मचारी भएको शाखामा त्यसका लागि वैकल्पिक जनशक्ति उपलब्ध नै हुँदैन ।’

थोरै संख्यामै ग्राहकको उपस्थिति हुँदा पनि तोकिएका सबै सेवा दिनुपर्ने भएका कारण एकचौथाइभन्दा कम संख्यामा कर्मचारीको उपस्थितिमा सेवाप्रवाह गर्ने सरकारी नीति कार्यान्वयनमा ल्याउन भने बैंकवित्तलाई अप्ठ्यारो परिरहेको स्पष्ट देख्न सकिन्छ । धेरैजसो बैंकहरूले ५० प्रतिशतको संख्यामा कर्मचारी बोलाएर सेवा दिइरहेको पाइएको छ । कर्मचारीहरूलाई दुई समूहमा बाँडी एकदिन बिराएर पालो तोकिएको छ । कतिपय कर्मचारीलाई घरबाट काम गर्न लगाइएको छ, जुन प्रक्रियामा राष्ट्र बैंकले पनि जोड दिएको छ ।

लघुवित्तहरूले भने प्रायः सबै कर्मचारीलाई कार्यालयमा बोलाएको पाइएको छ, जबकि यस अवधिमा बैंकको तुलनामा लघुवित्तको बिजनेस ज्यादै न्यून छ । लघुवित्तको व्यवसायमा समूह बनाई नियमित मिटङ सञ्चालन गर्नुपर्ने तर निषेधाज्ञाले त्यसको सम्भावना नभएका कारण व्यवसाय प्रभावित भएको हो ।


सोसिअल मेडिया