
बैंकिङ खबर/ कोरोना कहरका बीच पनि अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले उत्साहजनक रुपमा व्यापार र मुनाफामा वृद्धि गरिरहँदा केही ठूला बैंकको प्रदर्शन भने सन्तोषजनक देखिएन । चालु आर्थिक वर्षको नौ महिनामा कुल २७ वाणिज्य बैंकमध्ये २१ वटाले गत आवको सोही अवधिको तुलनामा मुनाफा वृद्धि गरे भने ६ वटाको मुनाफामा गिरावट आयो । बैंकहरूको औसत मुनाफामा उल्लेख्य वृद्धि भइरहँदा यी बैंकले भने गत वर्षको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ५ प्रतिशतदेखि ६१ प्रतिशतसम्म मुनाफा घटेका यी बैंकको ह्रास प्रतिशतको औसत ३६.६८ प्रतिशत छ ।
मुनाफा घटेका वाणिज्य बैंकहरूमा सेन्चुरी कमर्सियल बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक छन् । तीमध्ये सेन्चुरी कमर्सियल बैंकले मुनाफामा सबैभन्दा बढी ६०.८९ प्रतिशतको गिरावट व्यहोरेको छ भने एनसिसी बैंकको मुनाफा सबैभन्दा कम ५.५५ प्रतिशतले घटेको छ । अधिकांश बैंकले उल्लेख्य रुपमा मुनाफा बढाएको अवधिमा गत वर्षको तुलनामा नाफा घटेका यी बैंकको समग्र वित्तीय अवस्थाबारे अध्ययन गरौँ ः
१. सेन्चुरी कमर्सियल बैंक
खुद नाफा – ३५ करोड ८१ लाख (६०.८९ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – २२ करोड २९ लाख
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सेन्चुरी कमर्सियल बैंकको खुद नाफा घटेको छ । यस अवधिमा ६०.८९% ले घटेर बैंकको खुद नाफा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १४.८२% ले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, सञ्चालन नाफा ६२.७४% ले घटेर ४७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन १३ करोडमा सीमित थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २२ पैसाले घटेर ५ रुपैयाँ २९ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा छ ।
२. हिमालयन बैंक
खुद नाफा – १ अर्ब २८ करोड (४४.४५ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ८४ करोड ७६ लाख
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.४५ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि घटेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.४५ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिसन आम्दानी ४.७४ प्रतिशत र सञ्चालन मुनाफा ३९.०८ प्रतिशत घटेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ९० पैसा घटेर १६ रुपैयाँ ६ पैसामा सीमित भएको छ । बैंकको मूल्य–आम्दानी अनुपात ३२.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्तापुँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ६.६२ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५७ प्रतिशत र कर्जा १९.५० प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.३० प्रतिशतविन्दु घटेर ०.८१ प्रतिशतमा झरेको छ ।
३. नेपाल एसबिआई बैंक
खुद नाफा – ८७ करोड ८६ लाख (३८.९१ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ४४ करोड ४६ लाख
चालु आवको नौ महिनामा नेपाल एसबिआई बैंकको नाफा ३८.९१ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ, जुन गत वर्ष सोही अवधिमा १ अर्ब ४३ करोड थियो । खद ब्याज आम्दानीसँगै सञ्चालन मुनामा घटेका कारण बैंकको मुनाफामा दबाब परेको हो ।
बैंकको खुद ब्याज आम्दानी ३८ प्रतिशत र सञ्चालन नामा ३८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ४४ करोड ४६ लाख पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १० करोड मात्र थियो । बैंकको निक्षेप संकलन ८ प्रतिशतले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ ।
बैंकको हालको चुक्तापुँजी ९ अर्ब ४९ करोड छ । बैंकको जगेडा कोषमा ४ अर्ब ८० करोड रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी झन्डै आधा घटेर १२ रुपैयाँमा झरेको छ, जुन २१ रुपैयाँ थियो । प्रतिशेयर नेटवर्थमा भने बैंक १६१ रुपैयाँका साथ राम्रै अवस्थामा छ ।
४. एभरेष्ट बैंक
खुद नाफा – १ अर्ब ५० करोड (३५.९३ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – १ अर्ब ६ करोड ५३ लाख
एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी र खुद नाफा घटेको विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशत कम हो ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत घटेको छ । त्यसैगरी, खुद फी तथा कमिसन आम्दानी २८.०६ प्रतिशत र सञ्चालन मुनाफा ३५.९३ प्रतिशत घटेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य–आम्दानी अनुपात ३६.०२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
५. स्ट्यान्डर्ड चार्टर्ड बैंक
खुद नाफा – १ अर्ब १८ करोड (३४.३३ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ९५ करोड ५९ लाख
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३४.३३ प्रतिशतले घटेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले नौ महिनामा जम्मा १ अर्ब १८ करोड रुपैयाँ मुनाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ८० करोड नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । चालु आवको नौ महिनामा बैंकको यस्तो आम्दानी १ अर्ब ८३ करोडमा सीमित भएको छ, जुन गत वर्ष २ अर्ब ७३ करोड रुपैयाँ थियो ।
त्यसैगरी, बैंकको सञ्चालन आम्दानी पनि घटेको छ । बैंकको यस्तो आम्दानी २ अर्ब ९४ करोडमा सीमित भएको छ, जुन बैंकको गत आवको समीक्षा अवधिमा ३ अर्ब ८७ करोड थियो । त्यसैगरी, सञ्चालन नाफा पनि घटेको छ । गत आवमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको सञ्चालन नाफा चालु आवमा १ अर्ब ६९ करोडमा सीमित भएको छ ।
बैंकले निक्षेप संकलन पनि घटाएको छ । गत आवको सोही अवधिमा ९५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा ७८ अर्ब ३८ करोडमा सीमित भएको छ ।
त्यसैगरी, कर्जा प्रवाहतर्फ गत आवको समीक्षा अवधिमा ५३ अर्ब ९२ करोड भएकोमा चालु आवमा बढेर ६१ अर्ब ९५ करोड पुगेको छ ।
बैंकको जगेडा कोषमा ५ अर्ब ७० करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा ९५ करोड ५९ लाख रुपैयाँ छ ।
बैंकको प्रतिशेयर आम्दानी १८.४१ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३३.०३, प्रतिसेयर नेटवर्थ १८६.९५ रुपैयाँ, खराब कर्जा ०.५० प्रतिशत, कस्ट अफ फन्ड ३.४५ प्रतिशत, सिसिडी रेसियो ७४.६५ प्रतिशत छ ।
६. नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक
खुद नाफा – १ अर्ब १० करोड (५.५५ प्रतिशत ह्रास)
वितरणयोग्य नाफा – ८७ करोड ९४ लाख
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको नाफा चालु आवको नौ महिनामा ५ दशमलव ५५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १ अर्ब १० करोड ११ लाख ८० हजार खुद नाफा गरेको छ । गत सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ५८ लाख ८५ हजार कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफामा यस वर्ष ५ दशमलव ६२ प्रतिशतले कमी आई १ अर्ब ५५ करोड १९ लाख ७८ हजार कायम भएको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ८७ करोड ९३ लाख ९४ हजार छ । गत वर्ष यस्तो मुनाफा ३० करोड ५३ लाख २९ हजार मात्र थियो ।
गत वर्षको मुनाफाबाट १० दशमलव २७ प्रतिशत बोनस शेयर दिएपछि बैंकको चुक्तापुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार पुगेको छ । बैंकको जगेडा कोषमा ३ दशमलव ६९ प्रतिशतले वृद्धि आएको छ । हाल बैंकको जगेडा कोषमा ३ अर्ब ९४ करोड ७७ लाख ४८ हजार रहेको छ ।
बैंकले निक्षेप संकलनमा ३९ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको छ । चालु आवको नौ महिनामा बैंकले १ खर्ब १ अर्ब ८१ करोड ९१ लाख १० हजार निक्षेप संकलन गरेको छ । कर्जातर्फ गत वर्षको तुलनामा ३६ दशमलव २५ प्रतिशत वृद्धि गर्दै बैंकले ८८ अर्ब ५९ करोड १५ लाख २ हजार रुपैयाँ लगानी गरेको छ ।
निष्क्रिय कर्जा २ दशमलव ७५ प्रतिशतबाट घटेर २ दशमलव शून्य ५ प्रतिशतमा झरेको एनसिसी बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव २३ रुपैयाँ रहेको छ ।