April 28th, 2021

राष्ट्र बैंकमा २२ हजारको आवेदन स्वीकृत, मागको १७५९ गुणासम्म आवेदन

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकमा रोजगारीका लागि आवेदन दिने २२ हजार २ सय ७० जना आवेदकको आवेदन स्वीकृत भएको छ । राष्ट्र बैंकले २ तहका विभिन्न ५ समूहमा गरी जम्मा ५० पदका लागि गरेको आवेदनमा अनलाइन आवेदन दिनेमध्ये रीत पु¥याई आवेदन दिने आवेदकको विवरण बुधबार सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले ३ पुस २०७७ मा अधिकृतस्तरका तीन समूह र सहायकस्तरका २ समूहमा कर्मचारी माग गरेको थियो । दरखास्तका लागि अन्तिम म्याद २३ पुससम्म दिइएको थियो । दोब्बर दस्तुर तिरेर भने १ माघसम्म आवेदन दिने व्यवस्था थियो । निर्धारित अवधिभित्र आवेदन दिएका उम्मेदवारहरुको अवेदन रुजु गरी आवेदकको नामावलीसहितको विवरण जारी गरिएको हो ।

मागको १७५९ गुणासम्म आवेदन
राष्ट्र बैंकको विज्ञापनमा मागको १ हजार ७ सय ५९ गुणासम्म आवेदन परेको छ । सहायक (सहायक द्वितीय) प्रशासन समूहका लागि जम्मा १० पदका लागि विज्ञापन भएकोमा १७ हजार ५ सय ८९ आवेदकको आवेदन स्वीकृत भएको छ । सो पदका लागि न्यूनतम शैक्षिक योग्ता १२ कक्षा (१०+२) पास कायम गरिएको थियो ।

सहायक द्वितीयकै कानुनतर्फको विज्ञापनमा भने २ पदका लागि १६६ जनाले आवेदन दिएका छन् ।

अधिकृततर्फ तीन समूहका लागि भएको विज्ञापनमा सबैभन्दा बढी आवेदन सहायक निर्देशक प्रशासनतर्फ ३१ पदका लागि ३ हजार ७ सय ७२ जनाको आवेदन स्वीकृत भएको छ । त्यस्तै, सहायक निर्देशक लेखा/लेखापरीक्षणतर्फ ५ पदका लागि ६ सय ७३ र सहायक निर्देशक वाणिज्य कानुनतर्फ २ पदका लागि ७० जनाको आवेदन स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

कुन पदमा कतिले दिए आवेदन ?

सहायक निर्देशक (अधिकृत तृतीय)
माग पद संख्या – ३१
स्वीकृत आवेदन संख्या – ३,७७२

सहायक निर्देशक (अधिकृत तृतीय), लेखा/लेखापरीक्षण
माग पद संख्या – ५
स्वीकृत आवेदन संख्या – ६७३

सहायक निर्देशक (अधिकृत तृतीय), वाणिज्य कानुन
माग पद संख्या – २
स्वीकृत आवेदन संख्या – ७०

सहायक (सहायक द्वितीय)
माग पद संख्या – १०
स्वीकृत आवेदन संख्या – १७,५८९

सहायक (सहायक द्वितीय), कानुन
माग पद संख्या – २
स्वीकृत आवेदन संख्या – १६६

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]