Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कोरोना नयाँ लहरको प्रभाव : बैंकमा कर्जा माग घट्यो

२०७८ बैशाख ११ गते

बैंकिङ खबर/  नेपालमा कोरोना भाइरस(कोभिड–१९) को दोस्रो लहरसँगै त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा पनि देखिन थालेको छ । अहिले बैंक तथा वित्तीय संस्थाका कर्जा प्रवाह घटिनसके पनि नयाँ कर्जाको माग प्रभावित हुन थालेको बैंकरहरू बताउँछन् ।

लगानीकर्ताले दोस्रो लहरको कोरोना संक्रमणको प्रभाव आँकलन गरेर बसेकाले उत्साहित रूपमा नयाँ कर्जा माग नआएको उनीहरूको भनाइ छ । पछिल्लो समय अन्तर बैंक दर बढे पनि ५ प्रतिशतभन्दा कम नै रहेकाले तरलता स्थिर भएको रूपमा बुझ्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख एवं अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

यसअघि तरलता अधिक हुँदा लामो समयसम्म अल्पकालीन ब्याजदर (अन्तर बैंक दर) १ प्रतिशतभन्दा कम थियो । पहिलो लहरको कोरोना संक्रमणको असर कम हुँदै गएपछि कर्जा प्रवाह ह्वात्तै बढेको थियो । त्यसपछि अन्तर बैंक दर पनि बढेर ५ प्रतिशत नजिक पुगेको थियो । यसअघि वित्तीय प्रणालीमा सवा २ खर्ब रुपैयाँसम्म अधिक तरलता थुप्रिएको थियो । त्यतिबेला भारित औसत अन्तर बैंक दर ०.२ प्रतिशत थियो । तरलता घट्दै गएपछि अन्तर बैंक दर पनि बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख २ मा अन्तर बैंक दर यो वर्षकै उच्च ४.६० प्रतिशत पुगेको थियो । चैत मसान्तमा राजस्वबापत ठूलो रकम सरकारी खातामा गएकाले बैंकमा तरलता कमी भई अन्तर बैंक दर बढेको हो । सोमबार अन्तर बैंक दर घटेर ३.७८ प्रतिशत कायम भएको छ । गत आइतबार र सोमबार एक्कासि सरकारी खर्च बढेकाले अन्तर बैक दर घटेको हो । अघिल्ला दिनमा दैनिक १ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म सरकारी खर्च (चालु खर्च) हुँदै आएकामा आइतबार ६ अर्ब ७९ करोड र सोमबार ८ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।

यही साता मात्र राष्ट्र बैंकले बजारबाट ३ अर्ब ८० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा खरिद गरेको छ । उल्लिखित माध्यमबाट बजारमा मुद्रा आपूर्ति भएपछि तरलता सामान्य भएकाले अन्तर बैंक दर पनि घटेको जानकारहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा करिब ४४ अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकर्स संघका अध्यक्ष भुवन दाहाल कोरोना संक्रमणको जोखिम फेरि बढ्यो भने अर्थतन्त्र प्रभावित हुने बताउनुहुन्छ ।

नेपाल वित्तीय संस्था संघका अध्यक्षमा सरोजकाजी तुलाधर अहिले देखि ठ्याक्कै कर्जाको माग घटेको नदेखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाको दोस्रो लहरसँगै कलडाउन हुन्छ भन्ने छ । यसले गर्दा पनि कर्जाको माग घट्ने सम्भावना रहेको छ ।

 

Ad