Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वैदेशिक व्यापारमा वृद्धिको गति : निर्यातमा सुस्त, आयातमा तीव्र

२०७७ चैत्र ३१ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षका ८ महिनामा व्यापार घाटा १.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको माघ मसान्तसम्मको तथ्यांकमा झिनो अंकले घटेको व्यापार घाटा फागुन महिनाको तथ्यांकअनुसार १.६ प्रतिशतले बढेको देखिएको छ । एक महिनाको अवधिमै व्यापार घाटामा २.३ प्रतिशत अंकले बढोत्तरी भएको हो । माघ मसान्तसम्म कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको थियो ।

फागुन मसान्तसम्म कुल वस्तु व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड छ जुन माघ मसान्तसम्म ७ खर्ब ३३ अर्ब ७३ करोड थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४.३ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष फागुन मसान्तमा कोभिड १९ का कारण प्रमुख सीमानाकाहरू बन्द भइसकेकाले आयात प्रभावित हुँदा व्यापार घाटामा कमी आएको थियो ।

व्यापार घाटा आयात र निर्यातबीचको अन्तर हो । देशबाट निर्यात गरिएको वस्तुबाट भएको आम्दानीको तुलनामा देशमा विदेशबाट भित्र्याइएको वस्तुबापतको खर्च बढी भएमा व्यापार घाटा हुन्छ । पछिल्लो समय निर्यात र आयात दुवै बढे पनि यी दुईको वृद्धिको गतिमा (वृद्धिदर) असमानताका कारण व्यापार घाटा बढ्दै छ । निर्यात सुस्त गतिले बढिरहँदा आयात वृद्धिको तीव्र गतिले व्यापार घाटा चुलिँदै गएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । माघ मसान्तमा यस्तो अनुपात ८.७ प्रतिशत थियो ।

देशमा आवश्यक अधिकांश वस्तुको आयात गर्नुपर्ने अवस्थाका कारण नेपालले बर्सेनि ठूलो व्यापार घाटा व्यहोर्दै आएको छ । व्यापार घाटा न्यूनीकरणको एक मात्र उपाय आयात प्रतिस्थापन र निर्यात प्रवर्धन नै हो, जुन देशमा तीव्र औद्योगिकीकरण, प्राविधिक विकास र व्यावसायिक कृषिबाट मात्र सम्भव छ ।

चीनतर्फको निर्यात सुधारोन्मुख, तर अझै ४३.७ प्रतिशतले कमी
चालु आवको आठौँ महिनासम्ममा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा कुल निर्यात रकम ८० अर्ब ७८ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो । माघ मसान्तसम्म यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड मूल्यबराबर थियो ।

गन्तव्यका आधारमा भारततर्फको निर्यात ११.३ प्रतिशत बढेको छ जुन माघ मसान्तसम्म १० प्रतिशतले बढेको अवस्था थियो । तर, चीनतर्फको निर्यातमा भने ४३.७ प्रतिशतले कमी आएको छ जुन माघ मसान्तसम्मको तथ्यांकमा ४७ प्रतिशतले कमी आएको देखिएको छ । यो कोभिड महामारीका कारण एक वर्षदेखि प्रभावित बनेको चीनसितको व्यापार सुस्त गतिमै भए पनि चलायमान हुन थालेको संकेत हो । अन्य मुलुकतर्पm भने यस्तो निर्यात २ प्रतिशतले वृद्धि भएको अवस्था छ जुन माघ मसान्तको तुलनामा वृद्धिमा ह्रास हो । माघ मसान्तसम्म अन्य मुलुकसितको निर्यात ४.९ प्रतिशतले वृद्धि भएको अवस्था थियो ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैँची, जुटका सामान, पस्मिना, धागो (पोलिस्टर तथा अन्य) लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोसाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैँचालगायत वस्तुको निर्यात घटेको छ ।

यस अवधिमा सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

चीन र अन्य मुलुकबाट घट्दा भारतबाट ह्वात्तै बढ्यो आयात, भारतमाथिको निर्भरता लगातार चुलिँदै
चालु आवको ८ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो । माघ मसान्तसम्म यस्तो आयात नगण्य मात्र वृद्धि देखिएको थियो । एक महिनाअघिको तथ्यांकले यस्तो आयातमा जम्मा ०.०१ प्रतिशतको वृद्धि देखाएको थियो । सातौँ महिनाको अन्तसम्म कुल आयात रकम ८ खर्ब ३ अर्ब ६४ करोड थियो ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकले नेपालको भारतमाथिको निर्भरता दिन प्रतिदिन चुलिँदै गएको देखाएको छ । फागुन मसान्तमा आइपुग्दा भारतबाट भएको आयात ९.८ प्रतिशतले वृद्धि भएको तथ्यांक छ जुन माघ मसान्तमा ७.१ प्रतिशतले वृद्धिको अवस्थामा थियो । चीन र अन्य मुलुकबाट हुने आयातमा समेत कमी आउँदा भारतबाट हुने आयातमा भने निरन्तर वृद्धि भइरहेको छ, जुन भातरमाथिको चुलिँदो निर्भरताको द्योतक हो । यसरी एउटा देशमाथिको अत्यधिक निर्भरता देशको आर्थिक स्वास्थ्यका लागि हितकर मानिँदैन ।

उत्तरी छिमेकी चीनबाट भएको आयातमा ७.१ प्रतिशतले कमी आएको छ, जुन माघ मसान्तमा १२.४ प्रतिशतले कमीको अवस्थामा थियो । चीनसित माघ मसान्तमा भन्दा फागुन मसान्तमा आयात र निर्यात दुवैमा एक वर्षदेखि आइरहेको कमीको मात्रा घट्नुले उत्तरतर्फको व्यापार विस्तारै लयमा फर्किन लागेको संकेत गर्दछ । अन्य मुलुकतर्फ भने आयातमा १२.१ प्रतिशतले कमी आएको छ, जुन माघ मसान्तमा १०.८ प्रतिशतले कमीको अवस्थामा थियो ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । त्यसविपरीत पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जालगायत वस्तुको आयात भने घटेको छ ।

समीक्षा अवधिमा भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

Ad