
बैंकिङ खबर/नेपाल बैंक लिमिटेड वीरेन्द्रनगर शाखाले कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम डिजिटल सुर्खेत महाअभियान अन्तर्गत डिजिटल प्रविधिमार्फत क्यू आर कोड स्टेण्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरीद गरी क्यू आर कोड प्रविधिमार्फत रकम भुक्तानी गरी क्यूआर कोड वितरणको समुद्घाटन गर्नुभएको हो । समयको परिवर्तनशिलतलाई आत्मसाथ गरी प्रविधिको अनुशरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बिषयमा सम्वोधन गर्दै उपस्थित ग्राहकहरुलाई प्रमुख अतिथिले उत्प्रेरित गर्नुभयो ।
उक्त समाहरोहका विशिष्ट अतिथि तथा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले पनि सोहि प्रविधिमार्फत कर्णालीको मह खरीद गर्नुभयो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक गणेश कुमार केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उध्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कडेलले समेत स्थापनाको हिसावले पुरानो बैंकले आधुनिक कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, प्रादेशिक कार्यालय सुर्खेतका का.मु.कार्यालय प्रमुख समिर सिंह तथा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिति रहेको थियो । वरिष्ठ सहायक प्रदिपराज शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सहायक प्रवन्धक धवेन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।