Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ऊर्जा बचत गर्ने दुई कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान हस्तान्तरण

२०७७ चैत्र ११ गते

बैंकिङ खबर/  राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचतमा सहयोग गर्ने दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बैंकले करिब २० लाख हस्तान्तरण गरेको हो । सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैयाँ र गोल्डेन स्टार सोप इन्डस्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैयाँ हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कम्पनीहरूले ऊर्जाको मितव्ययी खपत तथा प्रभावकारी बचत हुने गरी यन्त्रउपकरण जडान गरेका थिए । स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान–प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्य उद्योगलाई पनि ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले हालसम्म १९ वटा उद्योगलाई ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताउनुभयो । अनुदान हस्तान्तरण समारोहमा बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, प्रबन्धक रामजी भण्डारी, उपप्रबन्धक होमराज भट्टराई, एडेल्फीका कन्सल्टैन्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका अधिकारीहरू हेमेन शाक्य, सरोज न्यौपानेलगायतकोे उपस्थिति थियो ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सी (पिइए) का रूपमा सहायतासम्बन्धी कार्य गर्दै आएको छ ।

एक करोडसम्म अनुदान पाइने, पाउन के गर्नुपर्छ ?
आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरूलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्रउपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइनेछ । आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्रउपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

Ad