Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आक्रामक शैलीमा काठमाडौंमा विस्तार हुँदै शाइन रेसुंगा डेभलपमेन्ट बैंक

२०७७ चैत्र ८ गते

बैंकिङ खबर/  मोफसलमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले राजधानी काठमाडौंमा एकैपटक पाँचवटा नयाँ शाखाको उद्घाटन गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले आइतबार साँझ नयाँबानेश्वर, कलंकी, न्युरोड, गोंगबु र महाराजगन्जमा सञ्चालनमा ल्याएका शाखाहरूको एकैसाथ औपचारिक उद्घाटन गरेको हो । आक्रामक शैलीमा काठमाडौं प्रवेशसँगै बैंकको कुल शाखासंख्या ८० पुगेको छ ।

बैंकले गोंगबु र महारजगन्जका शाखा आइतबार (आज) देखि सञ्चालनमा ल्याएको हो । कलंकीको शाखा भने ५ फागुनदेखि नै सञ्चालनमा रहेको बैंकले जानकारी दिएको छ । त्यसैगरी, नयाँबानेश्वर र न्युरोडका शाखाले फागुन अन्तिम सातादेखि नै वित्तीय सेवा दिइरहेका छन् । यद्यपि, यी सबै शाखाको औपचारिक उद्घाटन भने एकैसाथ गर्न लागिएको बैंकले जनाएको छ । केही दिनअघि मात्र बैंक सुदूरपश्चिमको कैलालीमा समेत विस्तारित भएको थियो ।

बैंकले ८० शाखा कार्यालय र एक एक्स्टेन्सन काउन्टरमार्फत ४ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ र वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश पौडेलको भनाइ छ । प्रतिवर्ष लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको बैंकको हालको चुक्तापुँजी करिब ४ अर्ब छ ।

राष्ट्रियस्तरको मजबुत विकास बैंक बन्न शाइन रेसुंगाले लामो आरोह–अवरोह पार गरेको छ । ४ चैत २०६९ मा रूपन्देहीको शाइन विकास बैंक र गुल्मीको रेसुंगा विकास बैंकबीच मर्जर सम्पन्न भई शाइन रेसुंगा नामले यो बैंकले एकीकृत कारोबार सुरु गरेको हो । त्यसपछि २०७३ जेठमा प्युठानको गौमुखी विकास बैंकलाई आफूमा मर्ज गराएपछि बैंक थप मजबुत बन्यो । त्यसपछि राष्ट्रियस्तरमा सेवा विस्तार गर्ने क्रममा बैंकले एकैसाथ रूपन्देहीको पूर्णिमा विकास बैंक र नेपालगन्जको भार्गव विकास बैंकलाई आफूमा गाभ्यो ।

सिइओ पौडेलको नेतृत्वमा व्यवसायको गुणात्मक तथा परिमाणात्मक दुवै पक्षको विकासमा आक्रामक ढंगले फैलिरहेको शाइन रेसुंगा बैंकले यसपटक भने राजधानीका प्रमुख पाँच क्षेत्रमा एकैपटक सेवाविस्तार गरेको हो । पौडेलकै नेतृत्वमा बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको हो । राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा इजाजतप्राप्त यो बैंकले ११ फागुनमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा नवनिर्मित आफ्नै भवनमा केन्द्रीय कार्यालय सारेको छ ।

Ad