गत आर्थिक वर्षमा निजीस्तरका बैंकहरुले उल्लेख्य प्रगती गरेका छन् । खुद मुनाफामा उल्लेख्य वृद्धि गर्दै यस्ता बैंकहरुले आफूलाई सबल सावित गरेका छन् । तर, सरकारी स्वामित्वका रहेका बैंकहरुको भने नाफा घटेको पाइएको छ । राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पूर्णतयाः सरकारी स्वामित्वमा रहेका बैंकहरु हुन् । यी दुबै बैंकले सोमबार आफ्नो गत वर्षको प्रगती विवरण सार्वजनिक गरे । जसअनुसार, दुबैको नाफा घटेको छ । निक्षेप र कर्जा लगानी दुबैमा बढोत्तरी गरेका बैंकहरुको व्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ । तर, नियमित क्रियाकलापबाट हुने आम्दानी र बोनस तथा करअघिको नाफा घट्दा दुबै बैंकको नाफामा कमी आएको देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ६४ करोडमा झर्यो
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत वर्षको तुलनामा ४२ दशमलव ९७ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैकले निक्षेपमा १७ दशमलव ७४ प्रतिशतले बढाएर १ खर्ब ४६ अर्ब २० करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ १३ दशमलव ३३ प्रतिशतले बढाएर ८५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २० दशमलव ७६ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४० दशलमव ६२ प्रतिशतले बढेर २ अर्ब ७ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकको नियमित क्रियाकलापबाट हुने आम्दानी ३६ दशमलव ५१ प्रतिशतले घटेको छ भने बोनस तथा कर अघिको नाफा ३८ प्रतिशतले घटेको छ ।
८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ७३ करोड रुपैयाँ राखेको छ । एक वर्षको अवगधिमा १ अर्ब ९ करोड ६४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ राखेको छ । बैंकको निश्क्रिय कर्जा १ दशमलव ४ प्रतिशतले घटेर ३ दशमलव ९५ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १ दशमलव ०४ प्रतिशतले बढेर ११ दशमलव २० प्रतिशत रहेको छ ।
कृषि विकास बैंकको नाफा पनि घट्यो
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ मुनाफा कमाएको छ । बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा २८ दशमलव ४७ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
बैंकले निक्षेपमा १३ दशमलव २७ प्रतिशतले बढाएर ८७ अर्ब २६ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ १६ दशमलव १७ प्रतिशतले बढाएर ७९ अर्ब ७५ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ९ दशमलव ४९ प्रतिशतले बढेर ६ अर्ब १८ करोड ६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ सय ४० प्रतिशत बढेर २ अर्ब ६८ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकको नियमित कारोबारबाट हुने आम्दानी २० दशमलव ७४ प्रतिशतले घटेको छ । त्यस्तै, बोनश र कर अघिको नाफा २० दशमलव ३३ प्रतिशतले घटेको छ । यसले बैंकको खुद नाफालाई प्रभावित गरेको देखिन्छ ।
१० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ८ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ राखेको छ । एक वर्षमा ६२ करोड ३७ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५६ करोड १९ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १ दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ८४ प्रतिशतमा कायम भएको छ भने निश्कृय कर्जा १ दशमलव ५ प्रतिशतले घटेर ३ दशमलव ८५ प्रतिशतमा कायम भएको छ । बैंकको प्रति शेयर आम्दानी ५५ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ८० गुणा, प्रतिशेयर नेटवर्थ ३ सय ३ दशमलव १५ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ३३ प्रतिशत रहेको छ ।




