बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अनुमति नै नलिई भुक्तानी सेवा प्रदायकका रूपमा कारोबार नगर्न नगराउन निर्देशन दिएको छ । केही सेवाप्रदायकले अनुमति नै नलिई कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले सोमबार एक सूचना प्रकाशित गरी अवैध काम नगर्न तथा नगराउन आग्रह गरेको हो ।
केन्द्रीय बैंकको सूचनामा भनिएको छ, ‘यस बैंकबाट अनुमतिपत्र नलिई भुक्तानीसम्बन्धी कार्य गर्नु/गराउनु गैरकानुनी र दण्डनीय हुने भएकाले अनुमतिप्राप्त संस्थामार्फत मात्र विद्युतीय भुक्तानीसम्बन्धी कार्य गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
अनुमति नै नलिई अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टपअप सेवा, अनलाइन पेमेन्टलगायतका भुक्तानीसम्बन्धी कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा उक्त सूचना जारी गरिएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जनाएको छ । केन्द्रीय बैंकले हालसम्म १० कम्पनीलाई भुक्तानी प्रणाली सञ्चालन र २३ कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनमुति दिएको छ ।
