बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ६५ वर्षको इतिहासमा पहिलोपटक महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रलाई रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेसँगै ढुंगाना राष्ट्रबैंकको यो तहसम्म पुग्ने पहिलो महिला बनेकी हुन् । दुवै झापाका स्थायी निवासी हुन् ।
चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ पाँचवर्षे कार्यकाल पूरा गरी १८ फागुनमा सेवानिवृत्त भएसँगै डेपुटी गभर्नन पद रिक्त थियो । नवनियुक्त डेपुटी गभर्नर ढुंगाना यसअघि सार्वजनिक ऋण व्यवस्थापन विभाग र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख कार्यकारी निर्देशक थिए ।