March 7th, 2021

महालक्ष्मी विकास बैंकको ९.२६ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

बैंकिङ खबर/  महालक्ष्मी विकास बैंक (एमएलबिएल) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश दर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि घोषणा गरिएको हो । बैंक सञ्चालक समितिको बिहीबार बसेको ४७८औँ बैठकले सेयरधनीलाई बोनस र नगद लाभांश गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णय बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले लाभांश पाउनेछन् ।

महालक्ष्मीका सेयरधनीले यसवर्ष ८.८० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकले बोनसबापतको कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांशसमेत दिने भएको छ । यसको अर्थ सेयरधनीले बोनस सेयरबापतको कर आफूले तिर्नुपर्ने छैन । बैंकले गत आर्थिक वर्षमा १७.८९ प्रतिशत लाभांश दिएको थियो, जसमा ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद लाभांश थियो । यस वर्ष बोनसमा झिनो वृद्धि गरिए पनि नगद लाभांश कर प्रयोजनका लागि मात्र दिइएकाले कुल लाभांश गत वर्षको तुलनामा झन्डै आधा देखिएको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले १६ मार्चमा बुकक्लोज गर्ने भएको छ । त्यसैले १५ मार्चसम्म कायम सेयरधनीले घोषित बोनस पाउनेछन् । बैंकले १३ चैतका लागि साधारणसभाको मिति तय गरेको छ । साधारणसभा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।

बैंकले देशका सहरी तथा ग्रामीण क्षेत्रमा गरी १ सय ३ वटा शाखा र ३४ वटा एटिएममार्फत वित्तीय सेवा दिइरहेको छ । हाल ५ लाखभन्दा बढी ग्राहक संख्या रहेको बैंकले जनाएको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]