बैंकिङ खबर/ नेपाली बैंकिङ क्षेत्रको फरकखाले संस्था नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) तेस्रो वर्षमा प्रवेश गरेको छ । पूर्वाधार विकासको क्षेत्रमा लगानी प्रवर्धन गर्ने उद्देश्यले स्थापित यो बैंक विधिवत् सेवा सञ्चालनको २ वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो । इतिहासमै सबैभन्दा ठूलो प्राथमिक सेयर निष्कासन गरेर चर्चामा रहेको बैंकले २२ फागुन ०७५ देखि औपचारिक रूपमा सेवा सुरु गरेको थियो ।
मुलुकको पूर्वाधारका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरूप यो बैंकको स्थापना भएको हो । हाल बैंकको चुक्ता पुँजी २० अर्ब रूपैयाँ गरेको छ । करिब दुई महिनाअघि मात्र बैंकले हालसम्मकै ठूलो प्राथमिक सेयर निष्कासन गरेको थियो । बैंकले प्रतिसेयर सय रूपैयाँका दरले ८ करोड कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो, जसमध्ये केही हजार कित्ता म्युच्युअल फन्ड र बैंकका कर्मचारीका लागि छुट्याइएको थियो । यो नै नेपालमा सर्वसाधारणका लागि निष्कासन गरिएको हालसम्मकै ठूलो परिमाणको प्राथमिक सेयर हो । बैंकको प्राथमिक सेयरमा करिब १५ लाख सर्वसाधारणले आवेदन दिएका थिए । यसमा ५० कित्तासम्म माग गर्ने सबैले मागेजति सेयर पाएका थिए भने त्यसभन्दा बढी माग गर्नेका लागि गोलाप्रथाबाट थप १० कित्ता सेयर उपलब्ध गराइएको थियो । प्राथमिक निष्कासनपछि धेरै व्यक्तिको हातमा सेयर पुगेकाले पनि यो बैंक जनसाधारणको समेत चासोको केन्द्र बनेको छ ।
सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेपश्चात् बैंकको चुक्तापुँजी २० अर्ब पुगेको छ, जसमा सर्वसाधारणको ८ अर्ब र संस्थापक सेयरधनीको १२ अर्ब रहेको छ । बैंकका संस्थापक सेयरधनीमध्ये नेपाल सरकारको पनि एक हो । बैंकमा सरकारको १० प्रतशत लगानी छ । निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरूको ५० प्रतिशत लगानी छ । बैंकमा सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरू र बिमा कम्पनीहरूले समेत लगानी गरेका छन् । आगामी ४ वर्षभित्र बैंकको चुक्ता पुँजी १ खर्ब पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बैंकका कार्यकारी निर्देशक डा. रामकृष्ण खतिवडाले बताउँदै आएका छन् ।
बैंकले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ/सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जालगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ । बैंकले सर्वसाधारणबाट समेत निक्षेप संकलन गर्छ, तर त्यसको प्रकृति अन्य बैंक तथा वित्तीय संस्थाको भन्दा केही फरक छ । लामो समयका लागि मुद्दती निक्षेप गर्न चाहनेले मात्र यस बैंकमा पैसा राख्न सक्छन् ।
नयाँ प्रकृतिको वित्तीय संस्था भएकै कारण बैंकबारे चासो र जिज्ञासा दुवै छ । जलविद्युत्मा लगानीका लागि यसअघि नै जलविद्युत् विकास कम्पनी (एचआइडिसिएल) को स्थापना गरिएको थियो । एचआइडिसिएल यस्तै प्रकृतिको संस्था भए पनि जलविद्युत्मा मात्र लगानी गर्न पाउने बाध्यताका कारण यसको सीमितता छ । तर, यो बैंकले जलविद्युत्सहित अन्य पूर्वाधार विकासमा समेत लगानी गर्न पाउँछ । बैंकको हालको प्रगतिको अवस्था भने सामान्य छ । भर्खरै मात्र लगानी सुरु गरेको र आइपिओबाट संकलित रकमसमेत मुद्दती खातामा जम्मा भइरहेकाले तत्कालका लागि प्रतिफल राम्रो आउने सम्भावना न्यून भए पनि कालान्तरमा बैंकले राम्रो मुनाफा कमाउने आकलन गरिएको छ ।