
बैंकिङ खबर/ प्रभु बैंकले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको अस्पतालमा बैंकले एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । यो बैंकले सञ्चालनमा ल्याएको ५८औँ एक्स्टेन्सन काउन्टर हो । काउन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको समेत उपस्थिति थियो ।
बैंकले नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी तथा निजी संघसंस्थामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएर समेत बैंकिङ सेवा दिँदै आएको छ । यसै क्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि सेवाग्राहीलाई प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउन एक्स्टेन्सन काउन्टर स्थापना गरेको बैंकले जनाएको छ । काउन्टर स्थापनासँगै अस्पतालको काम गर्न तथा सेवाग्राहीलाई अस्पतालको सेवा लिन सहज र सरल हुने विश्वास बैंकले लिएको छ । यसबाट अस्पतालका सेवाग्राही मात्र नभई स्थानीयवासी पनि लाभान्वित हुनेछन् ।
एक्स्टेन्सन काउन्टर सञ्चालनपश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने हुँदा त्यसले प्रशासनिक सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ । व्यावसायिक दृष्टिले मात्र नभई समाजसेवी भावनाले समेत सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ । सामाजिक क्रियाकलापलाई निरन्तरता दिने क्रममा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका सेवाग्राहीको सहजताका लागि काउन्टर स्थापना गरेको बैंकको भनाइ छ ।
प्रभु बैंकले देशभर २ सय १३ वटा शाखा कार्यालय, १ सय ८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्पmत सेवा दिँदै आएको छ । सेवाग्राहीको हितलाई प्राथमिकतामा राखेर अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको बैंकको दाबी छ ।
