March 3rd, 2021

सानो तर आफ्नै : लघुवित्त कर्जाबाटै निर्धक्क कमाई ! (गगन मायाको कथा)

बैंकिङ खबर । रत्ननगर नगरपालिका १ पसौनी गाउँकी ३९ वर्षिया गगन माया गुरुङ्ग एक सफल कृषक हुन् । उनले १६ कठ्ठा जग्गा भाडामा लिई ३२ वटा टनेलमा च्याउ खेती गरेकी छिन् । व्यवसायमा ५ जना महिला र १० जना पुरुष गरी १६ जना कामदारहरुलाई रोजगारी समेत दिएकी छिन् ।

वि.सं. २०३६ बैशाख १७ गते गोरखा जिल्लाको भुम्लीचोक ३ मा उनको जन्म भएको हो । सामान्य परिवारमा जन्मिएकोले उनको वाल्यकाल दुःखमा बितेको उनी बताउँछिन् । उनी घरकी जेठी छोरी भएकोले आमा बाबुलाई खेतीतातीको काममा सघाउने गर्थिन् । घरको आर्थिक अवस्थाको कारण उनले पढ्न लेख्न पनइनन् । उनको विवाह वि.सं. २०५४ मा गोरखा जिल्लाको ताङ्लीचोक गाउँपालिका ६ निवासी रामबहादुर गुरुङ्गसँग भएको थियो । विवाह पश्चात उनले २ वटा छोरीलाई जन्म दिईन् । ४ जनाको परिवारलाई पालन पोषण गर्न निकै धौ धौ परेको उनी बताउँछिन् । त्यसपछि घरखर्च टार्नको लागि उनले पतिलाई विदेश पठाएपछि घरको अवस्था राम्रो हुँदै गएको उनले बताइन् । पतिको विदेशको कमाइइले वि.सं. २०६२ मा उनले रत्ननगर १० टाँडीमा १० धुर जग्गा किनेर घर बनाइन् ।

वि.सं. २०७१ मा उनको पतिले दोस्रो विवाह गरे । पतिबाट अलग भएर बस्न थालेपछि आर्थिक समस्या परेको उनले सुनाइन् । त्यही समयमा उनलाई पसौनी महिला समाजकी सदस्य कोपिला खड्काले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय गर्न सल्लाह दिएको उनी सम्झन्छिन् । त्यसपछि उनी निर्धनको समूहमा आवद्ध भएर पहिलो पटक रु. ४० हजार त्यसपछि रु. ६० हजार, रु. १ लाख, रु. १ लाख ५० हजार, र रु. २ लाख कर्जा लिएर च्याऊ खेती गरीन् । अहिले पनि उनले समूहगत मर्जा रु. ३ लाख लिएर च्याऊ खेती व्यवसायलाई नै विस्तार गरेकी छिन् । टाँडी, भण्डारा, पर्सा, नारायणगढ, दमौली र काठमाडौंमा च्याऊ बेच्ने गरेको उनी बताउँछिन् । अहिले च्याऊ खेतीमा उनले ३२ लाखभन्दा बढी लगानी गरेकी छिन् । कर्जाको सहि सदुपयोग गरी हाल एक सिजनमा च्याऊ खेतीबाट रु. ५ देखि रु. ७ लाखसम्म नाफा गर्ने गरेको उनले बताईन् ।

व्यवसायको कमाईबाट उनले किस्ता तिरी घर खर्च राम्ररी चलाईरहेकी छिन् । उनले जेठी छोरीलाई होटल म्यानेज्मेन्ट र कान्छि छोरीलाई पनि कक्षा १० मा पढाउँदै गरेकि छिन् । पतिलाई पनि बेला बेलामा आर्थिक सहयोग गर्ने गरेको उनी बताउँछिन् । उनले मासिक रु. १ हजारको समृद्धि बचत खाता खोलेकि छिन् । भन्छिन् ‘प्रायः छोरीलाई दुःखको बेला आर्थिक सहयोग दिने भनेको माईती नै हो, निर्धन संस्थाले मलाई दुःखको बेलामा बिना धितो कर्जा दिएर सहयोग गरेकाले निर्धन माईती झै लाग्छ’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]