भविष्यमा आइपर्ने सम्भावित दुर्घटना वा असुरक्षाबाट जोगिने भरपर्दो माध्यमका रूपमा बीमालाई लिइन्छ । यसले मानिसको जीवनसँग जोडिएका सम्पूर्ण विषयलाई सुरक्षा प्रदान गर्छ । बीमाकै कारण धेरैजसो मुलुकका नागरिक ढुक्कले जिउन सकेका छन् । हाम्रो देशमा पनि बीमा व्यवसाय शुरू भएको आधा शताब्दीभन्दा बढी भइसक्यो । यत्ति लामो समय बितिसक्दा पनि निकै कम जनतासम्म मात्र यो सेवा विस्तार गर्न सकिएको छ ।
बीमा सेवा आमजनतासम्म पुर्याउनु सरकार तथा सम्बन्धित कम्पनीहरूको दायित्व हो । यो व्यवसायलाई नियमन गर्ने निकाय बीमा समिति हो । यी कम्पनीको व्यवसाय विस्तारमा सहज हुने किसिमले नियमनकारी निकायले काम गर्दै आएको छ । यति हुँदाहुँदै पनि बीमा दाबी गर्ने प्रक्रियालगायत पक्ष झन्झटिलो छ भन्ने गुनासो पनि आउने गरेका छन् । तर, त्यो बुझाइमा मात्र फरक परेको हो । कुनै पनि काम पूरा गर्न सम्बन्धित कानून वा रीत त पूरा गर्नु आवश्यक हुन्छ । बीमा दाबीका लागि पनि आवश्यक कागजात त संलग्न गर्नैपर्छ । होइन भने, त्यसले फेरि अर्को समस्या निम्त्याउँछ । कागजात र्पुयाउँदार्पुयाउँदै पनि कम्पनीले काम ढिला गर्छ भने त्यो कम्पनीको दोष हो । त्यस्तो अवस्था भेटिएमा त्यो कारबाहीमा पर्छ ।
बीमा एक व्यवसाय हो । व्यवसाय गर्न पहिले सम्बन्धित संस्था बाँच्ने आधार बन्नुपर्छ अनि मात्र व्यवसाय विस्तार गर्न सम्भव हुन्छ । नेपालका बीमा कम्पनीहरूसँग दुर्गम क्षेत्रमा पुगेर सेवा दिन सक्ने क्षमता कमै मात्र छ । सेवा प्रवाह गरे पनि त्यस्ता क्षेत्रबाट व्यावसायिक लाभ लिन सकिने सम्भावना एकदम न्यून हुन्छ । अर्को कुरा, बीमासँग सम्बन्धित वितरण प्रणालीमा केही कानूनी अप्ठ्यारा छन् । जस्तै, दुर्गम क्षेत्रमा कम्पनी स्वयम् पुग्न नसके पनि उक्त क्षेत्रमा रहेका विभिन्न वित्तीय संस्थामार्फत स्थानीय बासिन्दाको बीमा गराउन सकिन्छ । त्यसका लागि कानूनी बाटो खोलिदिनेबारे समितिले काम गरिरहेको छ ।
बीमाबारे जनचेतना जगाउनु तथा शिक्षा दिनु पनि उत्तिकै जरुरी छ । तर, अचम्म के भइरहेको छ भने जति मान्छेले बीमा गरेका छन्, तीमध्ये कतिले नबुझेर र कतिले बाध्य भएर गरेका छन् । तर, बुझेकाहरूले भने कमैले मात्र बीमा गरेको पाइन्छ । नबुझेका कारण धेरैले बीमा गर्न सकेका छैनन् भनेर जसले भन्छ, त्यो व्यक्तिले पक्कै पनि बीमाबारे बुझेर नै त्यत्ति कुरा भनेको हुनुपर्छ । के ती भन्नेहरू सबैले बीमा गरेका छन् त ? छैनन् । भनेपछि किन नगरेको त ? त्यसतर्फ ध्यान दिनु जरुरी छ ।
अर्को कुरा, हाम्रो प्रतिव्यक्ति आय निकै कम छ । हाम्रा अधिकांश नागरिकको आयस्तर कमजोर छ । त्यसकारण बीमा गरेर किस्ता तिर्न सक्ने गरी आर्थिक रूपमा सक्षम हुुनुपर्छ । यही कारण सुरक्षित भविष्यका लागि बीमा सबभन्दा राम्रो आधार हो भन्ने जान्दाजान्दै पनि धेरैले यसको योजना किन्न सकिरहेका छैनन् । केही पहिलेसम्म कृषिक्षेत्रमा बीमा भएन भनेर धेरैपटक मुद्दा उठेको थियो । त्यही भएर गतवर्ष सरकारले कृषिबीमा योजना ल्यायो । सरकारले ५० प्रतिशत प्रिमियम अनुदान दिएको छ । त्यसका लागि १ वर्षका लागि छुट्ट्याइएको १३ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँबराबरको मात्र अनुदान गएको छ । जनताले सरकारले दिएको सुविधा पनि किन उपयोग गर्न सकिरहेका छैनन् ? यसको कारण बीमा गर्ने क्षमता कम हुनु पनि हो ।
अर्को, यससम्बन्धी शिक्षा तथा चेतनाकोे पनि कमी हो । अहिले सरकारले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न विभिन्न माध्यम अपनाएको छ । बीमा समितिले अहिले कृषि बीमा व्यवसाय प्रवद्र्धनका लागि विभन्न प्रयासहरु गरिरहेको छ । ती प्रयासहरुले बीमा गराउन सकिने क्षेत्रको पहिचान गरी काम गर्न सहज बनाउनेछ । गोरखापत्रलगायत केही सञ्चारमाध्यममा पनि सूचना दिने गरिएको छ । यसका साथै विद्यालयको पाठ्यक्रममा बालबालिकाले बुझ्न सक्ने तहबाट कथा, चित्रकथालगायत बनाएर समावेश गरिँदै छ । एकैपटक आमूल परिवर्तन आउनेभन्दा पनि सहज किसिमले जनतालाई बीमातर्फ आकर्षित गर्नु हाम्रो अहिलेको दायित्व हो । साथै जनताको जीवनस्तर माथि उकास्ने गरी उनीहरूलाई उद्यमशील बनाउने कार्यलाई पनि गति दिनु उत्तिकै जरुरी छ ।
