August 12th, 2016

आरएसडीसी लघुवित्तको ४ लाख कित्ता आईपीओ भदौ ५ गतेदेखि, यसरी दिनुस् आवेदन

ipoआरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ५ गतेबाट सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ भने २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने बताइएको छ । 

कम्पनीको शेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो शेयर निष्कासन पछि आरएसडीसीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्ने छ । शेयर आवेदन छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

शेयरको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । शेयर खरिद गर्न चाहनेले एनआईबिएल क्यापिटल मार्केट्स, आरएसडिसी लघुवित्त वित्तिय संस्था, नेपाल इन्भेष्टमेण्ट बैङ्कका विभिन्न शाखाहरु, भिबोर क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेडका शाखाहरु, गुहेश्वरी मर्चेण्ट बैङ्किङ् एण्ड फाइनान्स लिमिटेडका शाखाहरु, आईसीएफसी फाइनान्स लिमिटेडका शाखाहरु, नेपाल कम्युनिटी बैङ्कका शाखाहरु, सिनर्जी फाइनान्स लिमिटेडका शाखाहरु, साझा विकास बैङ्क लिमिटेडका शाखाहरु र सेवा विकास बैङ्क लिमिटेडका शाखाहरुबाट आवेदन दिन सक्ने छन् ।