हिमालयन बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९१ करोड रुपैंया खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा पनि १ अर्बमाथिको नाफा कमाएको थियो । अघिल्लो आवको सोहि अवधिमा बैंकले १ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो ।
४ अर्ब ४९ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने यस्तो रकम २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकले आफ्नो निक्षेप पनि बढाएको छ । गत आवमा बैंकले ८७ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जबकि, अघिल्लो आवमा बैंकले ७३ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले कर्जा लगानी पनि बढाएको छ । अघिल्लो आवमा १७ अर्ब ११ करोेड रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत आवमा १९ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको व्याज आम्दानी अघिल्लो आर्थिक वर्षको २ अर्ब ६७ करोड ३४ लाख ८८ हजारबाट बढाएर ३ अर्ब ४० करोड ३४ लाख ४३ हजार रुपैंया पुर्याएको छ । सञ्चालन मुनाफा पनि अघिल्लो आर्थिक वर्षको १ अर्ब ५७ करोड ४८ लाख ६१ हजार रुपैयाँबाट बढेर २ अर्ब ९९ करोड ६ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
पूँजी कोष पर्याप्तताका आधारमा १० दशमव ९१ प्रतिशत रहेको बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा निष्कृय कर्जा अनुपातको अवस्थामा व्यापक सुधार गरि ३ दशमलव २२ प्रतिशतबाट घटाएर १ दशमलव २३ प्रतिशतमा सिमित राख्न सकेको छ । मूल्य आम्दानीे अनुपात ३५ दशमलव २३ र प्रति शेयर नेटवर्थ १ सय ९७ रुपैयाँ रहेको बैंकको तरलता अनुपात २८ दशमलव ७४ प्रतिशत रहेको छ ।