January 21st, 2021

बिगत १ दशकको रेमिट्यान्सको अवस्था

 

बैंकिङ खबर । रेमिट्यान्स नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रुपमा रहेको छ । शिक्षा, स्वास्थ्य, गरिबी न्युनीकरण र अर्थतन्त्रको दरीलो खम्बाका रुपमा रेमिट्यान्सलाई लिन सकिन्छ । निर्यात, पर्यटन क्षेत्र जस्ता बाह्रय क्षेत्रबाट आउन सक्ने सुधारको पनि अपेक्षा गरे अनुरुप विकास हुन नसक्दा विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स मात्र बन्न पुगेको छ । रेमिट्यान्स मार्फत भित्रिने रकम बढी मात्रामा उपभोग्य वस्तुमा खर्च भइरहेको देखिएतापनि यसले स्वास्थ्य, शिक्षा लगायत घर र देशको अर्थतन्त्र उकास्न समेत योगदान दिदै आएको छ । तर हालको विश्वव्यापी कोरोना माहामारीको कारणले गर्दा त्यसको प्रत्यक्ष असर रेमिट्यान्सबाटै अर्थतन्त्र धानीएकोे नेपालजस्तो कम विकशित मुलुकमा पर्ने देखिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा समेत असर पर्न गई आम्दानी कम हुने र नतिजास्वरुप रेमिट्यान्स आप्रवाहमा कमी आउने देखिन्छ । त्यसमाथि कोरोना भाइरसकै कारण वैदेशिक रोजगारिमा जानेको संख्या कम हुने हुँदा रेमिट्यान्स क्षेत्रमा ठुलै प्रभाव पर्ने देखिन्छ । यस बेला नेपाली परिवारको घर धान्ने सहारा रेमिट्यान्समा ठूलो धक्का लागेको छ, यसरी रेमिट्यान्स कम आउने हो भने नेपाली अर्थतन्त्रमा थप समस्या सिर्जना हुने देखिन्छ ।

नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुकमा सर्वप्रथम कतारको नाम आउँछ । सबैभन्दा बढी रेमिट्यान्स पठाउन दोस्रो देश भारत हो । यस्तै क्रमश : युएइ, साउदी अरेबिया, मलेसिया, अमेरीका, जापान, कुवेत, बहराइन, साउथ कोरीया, युके र अष्ट्रेलियाबाट बढी रेमिट्यान्स भित्रने गरेको छ ।

बिगत १० वर्षको अवधिमा रेमिट्यान्समा ठुलो उछाल आएको छ । २०६८ असार ३१ मा २५३ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएकोमा २०६९ असार ३१ मा आइपुग्दा ४१.८१ प्रतिशतले वृद्धि भई ३५९ अर्ब ५५ करोड रमिट्यान्स भित्रिएको तथ्याङ्कले देखाएको छ । यस्तै, २०७० असार ३१ मा पुग्दा २०.८७ प्रतिशतले वृद्धि भई ४३४ अर्ब ५८ करोड रेट्यिान्स भित्रिएको देखिन्छ । यता, २०७१ असार ३१ मा पुग्दा २५.०१ प्रतिशतले वृद्धि भई ५४३ अर्ब २९ करोड रकम भित्रिएको छ । २०७२ असार ३१ मा १३.६२ प्रतिशतले वृद्धि भई ६१७ अर्ब २८ करोड रकम भित्रिएको छ भने २०७३ असार ३१ मा पुग्दा ७.७४ प्रतिशतले मात्र वृद्धि भई ६६५ अर्ब ६ करोड रेमिट्यान्स भित्रिएको तथ्याङ्कले देखाउँछ । २०७४ असार ३१ मा ४.५७ प्रतिशतले वृद्धि भई ६९५ अर्ब ४५ करोड भित्रिएको छ भने २०७५ असार ३१ मा ८.५७ प्रतिशतले वृद्धि भई ७५५ अर्ब ६ करोड रकम भित्रिएको छ । २०७६ असार ३१ मा १६.४५ प्रतिशतको वृद्धिमा ८७९ अर्ब २७ करोड भित्रिएको छ भने २०७७ असार ३१ सम्म पुग्दा ­०.४८ करोडको गिरावट आउँदा ८७५ अर्ब ३ करोड रकम मात्र रेमिट्यान्स नेपाल भित्रिएको पाइन्छ ।

 

कोरोना संक्रमण, लकडाउनका कारण निरन्तर बढीरहेको रेमिट्यान्स आप्रवाह २०७७ मा घट्न पुगेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]