January 13th, 2021

नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

 

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडका ६१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल (ZOOM)  मार्फत आयोजना गरिएको बैंकको ६१ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित भयो ।


सभाले हालको चुक्ता पूँजी रु.११,२८,२८,२०,२००/– को ४ (चार) प्रतिशतका दरले हुन आउने रु.४५,१३,१२,८०८/– (अक्षेरुपी पैतालिस करोड तेह्र लाख बाह्र हजार आठ सय आठ) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १२ (बाह्र) प्रतिशतका दरले हुन आउने रु.१,३५,३९,३८,४२४/– (अक्षेरुपी एक अर्ब पैंतिस करोड उन्चालिस लाख अड्तिस हजार चार सय चौविस) रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साथै, बोनश शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१२,६३,६७,५८,६२४/– (अक्षेरुपी बाह्र अर्ब त्रिसठ्ठी करोड सतसठ्ठी लाख अन्ठावन्न हजार छ सय चौविस) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।
साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित हुनु भएको छ ।
अन्तमा, सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको कामकारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]