
बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसमध्ये ९६ करोड रुपैयाँबराबरको ९ लाख ६० हजार कित्ता
ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरि बाँकी ६४ करोड रुपैयाँ बराबरको ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो। सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८।५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।