
बैंकिङ खबर । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिका बीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझौता भएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट र बैंकका बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा उक्त समझौतामा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकले आवश्यक प्रकृया पुरा गरेका कृषकहरुलाई परियोजनाको विश्लेषण गरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ । कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई बैंक लिमिटेडले स्थानीय निकायहरुसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ ।
मुलुकको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत जनता आश्रित रहेका छन् । कृषि कर्जामा बैंकको सहजीकरणलले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।