
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएर अवकाश पाउने मिति नजिकिएसँगै अब यो पदमा को पुग्ने भन्ने दौड शुरु भएको छ । डेपुटी गभर्नरका लागि आकांक्षीहरु यतिबेला शत्तिः केन्द्रको नजिक हुन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको र पार्टीका महासचिव विष्णु पौडेल नै अर्थमन्त्री रहेका कारण अब बन्ने डेपुटी गभर्नर नेकपाका भक्तिगान गाउने नै बन्ने कन्फर्म छ । नेकपा निकट मानिने कार्यकारी निर्देशकहरु यतिबेला भित्री दौड दौडिरहेका छन् ।
विष्णु पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् । यसकारण पौडेललाई रिजाउन सक्ने व्यक्ति नै अबको डेपुटी गभर्नर बन्नेछन् । अहिले राष्ट्र बैंकमा १७ डेपुटी गभर्नर छन् । उनीहरु मध्ये २ जनालाई सरकारले डेपुटी गभर्नर नियुक्ति गर्ने हो । आउँदो फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नर पद रिक्त हुँदैछ । शिवाकोटी र शिवराज श्रेष्ठ पाँच बर्षे कार्यकाल पुरा गरेर अवकाश हुँदैछन् ।
अहिले डेपुटी गभर्नरका लागि शक्ति केन्द्र धाउनेहरुमा अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भएका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना, भुक्तानी प्रणाली विभागका भुवन कँडेल, कार्यकारी निर्देशक बमबहादुर मिश्र लगायतका छन् ।
डेपुटी गभर्नरका आकांक्षी अर्का डा. गुणाकर भट्ट समेत हुन् । राष्ट्र बैंकको प्रवक्ता समेतको जिम्बेवारीमा रहेका अनुसन्धान विभाग प्रमुख भट्ट आकांक्षी भए पनि उनले शक्ति केन्द्रमा दौडधुप भने गरेका छैनन् । बुवाको निधनको शोकमा रहेका उनी सरकारले बनाए स्वीकार गर्ने भनेर दौडधुप गरेका छैनन् ।
५ वर्ष अघि सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको थियो । लामो रस्साकस्सी र हानाथापपछि उनीहरु नियुक्त भएका थिए । त्यसबेला श्रेष्ठ मानव स्रोत व्यवस्थापन विभाग र चिन्तामणि शिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए ।